२०८३ वैशाख १६ , बुधबार

प्रदेश राजधानीमै खानेपानी संकट : अब तीन दिनपछि एक घण्टा मात्रै पानी आउने



सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानी संकट चुलिँदै गएको छ। लामो समयदेखिको सुख्खा खडेरीका कारण अब उपभोक्ताले चार दिनमा एक दिन मात्रै पानी पाउने भएका छन्। त्यो पनि मात्र एक घण्टाका लागि। सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार पानीका स्रोतहरू सुक्दै गएपछि ९६ घण्टापछि मात्र धारामा पानी उपलब्ध गराउने अवस्था आएको हो।

संस्थाका कार्यालय प्रमुख डम्बरबहादुर गौतमले खडेरीका कारण पानीको मुहानहरूमा पानीको मात्रा अत्यन्तै घटेको बताए। उनका अनुसार उपत्यकामा दैनिक रूपमा करिब ३४७ लिटर प्रतिसेकेन्ड पानी आवश्यक पर्छ। तर, हाल उपलब्ध स्रोतहरूको कुल क्षमता घटेर ८३ लिटर प्रतिसेकेन्डमा सीमित भएको छ। पहिले झुप्रा खोला, खरिबोरी खोला, इत्राम खोला, खोरखे खोला र दुन्दुरे खोलाबाट गरी जम्मा १६३ लिटर प्रतिसेकेन्ड पानी उत्पादन हुने गरेको थियो।

‘मुहानहरू सुक्दै जाँदा पानी आपूर्ति घटाउन बाध्य भएका छौं,’ गौतमले भने, ‘वैकल्पिक स्रोतको व्यवस्था नभएसम्म समस्या दीर्घकालीन रूपमा रहिरहने देखिन्छ।,’ वीरेन्द्रनगरमा पछिल्ला वर्षहरूमा तीव्र सहरीकरण पनि पानी अभावको अर्को प्रमुख कारण बनेको छ। प्रत्येक वर्ष चैत महिनादेखि सुरु हुने खानेपानी संकट यसपटक अझ गम्भीर बनेको वीरेन्द्रनगरवासी बताउँछन्।

संस्थाले उपभोक्तामा परेको असुविधाप्रति क्षमायाचना गर्दै सीमित स्रोतका बीच पानी वितरण तालिका लागू गरिएको जनाएको छ। साथै पानी वितरण व्यवस्थापनका लागि सम्बन्धित कर्मचारीहरूको जिम्मेवारी र सम्पर्क विवरणसमेत सार्वजनिक गरिएको छ। यो समाचार आजको सिद्धदर्शन दैनिक पत्रिकामा प्रकाशित छ।

प्रकाशित मिति : २०८३ वैशाख १६ गते बुधबार