
सुर्खेत । छिन्चु उपत्यका खानेपानी संस्थाको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार फेरिगंगा नगरपालिका-१२ छिन्चुमा संस्थाका अध्यक्ष धर्मराज खड्काको अध्यक्षता तथा राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि वलीले सभाबाट उठाइएका विषयहरू समाधानतर्फ पहल गर्ने प्रतिबद्धता जनाए।उनले नगरको खानेपानी ऐनलाई अङ्गीकार गर्दै सबै खानेपानी संस्थाहरू अघि बढ्नुपर्ने बताए। आगामी आर्थिक वर्षको बजेटमा खानेपानी क्षेत्रलाई उच्च प्राथमिकता दिन भेरीगंगा नगरपालिकालाई सुझाव दिँदै उनले पानीको महत्त्वलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने बताए।
नगरपालिकाले बनाएको कार्यविधि र खानेपानी आयोजनाका विधानबीच बाझिने अवस्था रहेकाले सहमतिका आधारमा सुधार गरी नीति निर्माण गर्नुपर्ने उनको भनाइ थियो। खानेपानी संस्था मुनाफामुखी नभई सेवामूलक संस्था भएकाले सरकारले २५ प्रतिशत आयकर लगाउनु दुःखद भएको उनले बताए। उपभोक्ताले मर्मतका लागि संकलन गरेको रकममै आयकर लगाइएकोप्रति महासंघको आपत्ति रहेको उनले जनाए।
त्यस्तै, विद्युत महसुलमा सिँचाइ क्षेत्रलाई ५० प्रतिशत छुट दिइए पनि खानेपानी संस्थालाई छुट नदिएको भन्दै उनले गुनासो गरे। दुई हजारभन्दा कम धारा भएका आयोजनालाई नगरपालिका मार्फत सञ्चालन गर्न सकिने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै सोहीअनुसार कार्यान्वयन गर्न नगरपालिकालाई सुझाव दिए।
सरसफाइ संस्थाका रूपमा अघि बढ्न सुझाव
कार्यक्रममा भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालले छिन्चु उपत्यका खानेपानी संस्थालाई पहिलो लिफ्ट खानेपानी योजनाका रूपमा अघि बढाइएको बताए। संस्थाले सरकारका नियम कानुनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै उनले आफ्नो कार्यकालमा ५५ भन्दा बढी कानुन निर्माण गरिएको र नगरपालिकाको खानेपानी ऐन समेत बनाइएको दाबी गरे।
नगर प्रमुख ढकालले खानेपानी, सरसफाइ तथा स्वच्छता एकाइ गठन गरिएको जानकारी दिँदै अब संस्था केवल खानेपानीमा सीमित नभई सरसफाइ संस्थाका रूपमा समेत अघि बढ्नुपर्ने सुझाव दिए। सेवा क्षेत्र दोहोरिएका योजनाहरूलाई मर्ज गरी वृहत आयोजना बनाउनुपर्ने र त्यसका लागि नगरपालिका सहयोग गर्न तयार रहेको उनले बताए। आर्थिक पारदर्शिताका लागि लेखा प्रणाली व्यवस्थित बनाउनुपर्नेमा पनि उनले जोड दिए।
ठूलो संख्यामा धारा विस्तार
सभाध्यक्ष तथा संस्थाका अध्यक्ष धर्मराज खड्काले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै आगामी कार्य योजनाहरू सार्वजनिक गरेका थिए। उनले आर्थिक वर्ष २०८२/०८३ का लागि १ करोड ५२ लाख ५ हजार ६ सय २२ रुपैयाँको आय–व्यय प्रस्ताव पारित गर्दै खानेपानी व्यवस्थापनलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने रणनीति सार्वजनिक गरे। वि.सं. २०५६ सालमा १ सय धारा मार्फत सेवा सुरु गरेको संस्था अहिले १ हजार ४ सय २ धारासम्म विस्तार भएको उनको भनाइ छ।
२५ संस्थागत उपभोक्तासहित भेरीगंगा नगरपालिकाको वडा नं. १० र १२ का मुख्य बजार क्षेत्रमा संस्थाले दैनिक पानी वितरण गर्दै आएको छ। अध्यक्ष खड्काले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामा सबैभन्दा ठूलो चुनौती स्रोत अभाव र बढ्दो खानेपानीको माग रहेको उल्लेख गर्दै समस्या समाधानका लागि नयाँ पानीका स्रोत पहिचान गरी स्थानीय, प्रदेश र संघीय सरकारसँग योजना माग गरिने बताए।
उनले उपभोक्तालाई शुद्ध पानी उपलब्ध गराउन शुद्धीकरण प्रणाली विकास गर्ने, लिफ्ट पानिकालागी आवश्यक जेनेरेटर, मोटर, पाइप, मिटर खरिद गर्ने तथा वितरण प्रणाली सुधार गर्ने योजना रहेको जानकारी दिए। आवश्यकता अनुसार मुख्य लाइन, शाखा लाइन र वितरण पाइप परिवर्तन गरिने समेत उनले बताए। संस्थाले महसुल संकलनलाई पनि कडाइ गर्ने नीति लिएको छ।
समयमै महसुल बुझाउनेलाई छुट दिने, नबुझाउनेलाई जरिवाना गर्ने र आवश्यक परे सेवा बन्द गर्ने नीति साधारणसभाले अनुमोदन गरेको छ । लामो समयदेखि बन्द रहेका वा सञ्चालनमा नरहेका धाराहरूको लगत कट्टा गरिने बताईएको छ। वर्षौंदेखि प्रयोगमा रहेका इन्टेकदेखि रिजर्भ ट्यांकीसम्मका जीर्ण जीआई पाइप परिवर्तन गर्न तिनैतहका सरकारी निकायसँग बजेट मागिने भएको छ।
भवन, पम्प हाउस, इन्टेकलगायत संरचनाको संरक्षणका लागि अस्थायी काम सम्पन्न भइसकेको र अब व्यवस्थित घेराबारका लागि सरकारी तथा गैरसरकारी सहयोग खोजिने संस्थाले जनाएको छ। प्रशासनिक सुधारतर्फ संस्थाले विद्युतीय बैंकिङ कारोबारलाई प्राथमिकता दिने, फेसबुक पेजमार्फत दैनिक गतिविधि सार्वजनिक गर्ने र आफ्नै मोबाइल एप्सको प्रयोग बढाउने योजना बनाएको छ।
कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, दुर्घटना बीमा गर्ने तथा तालिम र अध्ययन भ्रमणमार्फत क्षमता विकास गरिने भएको छ। उनले उपभोक्तामैत्री सेवा, स्रोत संरक्षण र दीर्घकालीन योजना कार्यान्वयनमा संस्था प्रतिबद्ध रहेको बताए। साधारण सभामा अन्य वक्ताहरूले सुरक्षित र दिगो खानेपानी व्यवस्थापनको आवश्यकता औंल्याउँदै संस्थाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।



