२०८३ वैशाख १० , बिहीबार

रास्वपा सुर्खेतका नेताको घरमा अवैध सालको काठ फेला 



सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकामा अवैध रूपमा लुकाएर राखिएको सालको काठ बरामद गरिएको छ। बुधबार दिउँसो करिब ४:४६ बजेको समयमा बराहताल गाउँपालिका–८ धुलेचौरस्थित ४३ वर्षीय भुपेन्द्र बहादुर थापाको घरबाट ४२ थान (टुक्रासहित) करिब ३९.८३ क्युबिक फिट सालको चिरान काठ बरामद गरेको हो।

स्रोतका अनुसार विशेष सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय बाबियाचौर र डिभिजन वन कार्यालय भेरीको संयुक्त टोलीले उक्त काठ बरामद गरेको हो। यता, डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख राधाकृष्ण दासले उक्त घटनाबारे आफूलाई कुनै जानकारी नभएको खबरदृष्टिसँग बताए।

उनले यस विषयमा सबै विवरण डिभिजन वन कार्यालय भेरीसँग रहेको भन्दै थप टिप्पणी गर्न अस्वीकार गरे। स्रोतका अनुसार थापा रास्वपा सुर्खेत सह-सचिव तथा संगठन बिभाग प्रमुख समेत रहेका छन्। उनी लामो समयदेखि ठेक्कापट्टाको काममा संलग्न रहेको रास्वपा सुर्खेतका एक नेताले जानकारी दिए। यस विषयमा बुझ्न खोज्दा थापाले फोन उठाएनन्।

प्रकाशित मिति : २०८३ वैशाख १० गते बिहीबार