२०८३ वैशाख १२ , शनिबार

सरकारी उपेक्षामा कर्णाली राजमार्ग, यात्रुहरूलाई सधैँ सास्ती नै सास्ती



कुलेन्द्र शाही, सुर्खेत

कर्णाली राजमार्ग सञ्चालन आएको १८ वर्ष बढी भयो । राजमार्ग सञ्चालन आएको १८ वर्ष बढी भइसक्दा पनि कर्णालीवासी ढुक्कले यात्रा गर्न सकिरहेका छैनन् । कर्णाली राजमार्ग मृत्यु मार्गको उपनामले पनि चिन्छन् । कर्णाली प्रदेशका पाँच हिमाली जिल्ला जुम्ला, हुम्ला,कालिकोट, डोल्पा र मुगुलाई प्रदेश राजधानीसँग जोड्ने एकमात्र राजमार्ग हो ।

राजमार्ग सञ्चालन भएको १८ वर्ष भइसक्दा पनि हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुने स्थिति अझै सुध्रिएको छ । यो वर्ष बर्खा सुरु हुन बित्तिकै कर्णाली राजमार्ग क्षतविक्षत छ । राजमार्गका विभिन्न स्थानमा खाल्डाखुल्डी छन्, भने कतै पहिरो थुप्रिएको छ । कतै सडक नै बगाएको अवस्था छ । गत एक हप्ता अगाडी मात्रै निरन्तर दुई दिन भन्दा बढी कर्णाली राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको थियो ।

साँघुरो एकलेनको सडक, साँघुरा मोड, खाल्डाखुल्डी जस्ता कारणले ठुलो सङ्ख्यामा दुर्घटना हुन थालेपछि कर्णाली राजमार्ग मृत्युमार्गका रूपमा समेत चिनिएको छ । यो राजमार्गमा यात्रा गर्ने यात्रुहरूको जिब्रोमा भगवानदेखि आफ्नो देवीदेवताको नाम झुन्डिएको हुन्छ । राजमार्ग साँघुरो, हिलाम्य र खाल्डाखुल्डीले सधैँ वर्षायाममा सास्ती खेप्दै आएका छन् ।

नागरिकले जति सास्ती खेपे पनि यो राजमार्ग भने राज्यको उपेक्षामा पर्ने गरेको स्थानीयवासी बताउँछन् । हिउँदमा धुलोले र बर्खामा हिलोले यात्रा गर्ने यात्रुहरूलाई निकै समस्या हुने गरेको छ । हिउँदमा धुवाँले र हिउँदमा हिलोले सामान मात्रै नभई मान्छे समेत नचिनिने अवस्था हुन्छ । बर्खामा पहिरो गएका बेला जोखिमपूर्ण यात्रा गर्नुपर्ने भए पनि राजमार्ग स्तरोन्नति तथा कालोपत्रेका लागि राज्यको ध्यान पुग्न नसकेको कर्णालीवासीको गुनासो छ ।

स्थानीयहरूले कालोपत्रे गरिएको भए पनि साँघुरो र खाल्डा खुल्डीले गर्दा दुर्घटनाको जोखिम उच्च रहेको भन्दै त्यसमा राज्यले छिट्टै ध्यान दिनुपर्ने बताउँदै आएका छन् । वर्षातमा दैलेख र कालिकोट क्षेत्रका दर्जनौँ स्थानमा सडक अवरुद्ध भई सवारी जाममा पर्ने गरेका छन् । कर्णाली राजमार्ग र कर्णाली कोरिडोरमा यात्रुहरू कष्टपूर्ण यात्रा गर्न बाध्य भएको कालिकोटका स्थानीय रविन परियारले बताए ।

उनले सडक गुणस्तरीय र दिगो रूपमा स्तरोन्नति गर्न आग्रह गरे । राजमार्गको स्तरोन्नतिका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि टालटुलमै सकिने गरेको छ । सरकारवाला निकायले सडक स्तरोन्नति गर्नतर्फ विभिन्न बहाना बनाउँदै आएका छन् । सडक डिभिजन कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित बाङ्गेसिमलदेखि दैलेखको दही खोलासम्मको १३२ किलोमिटर खण्डलाई हेर्छ भने त्यहाँभन्दा माथि जुम्ला सम्मको १०४ किलोमिटर खण्ड सडक डिभिजन जुम्लाले हेर्दै आएको छ ।

तर दुवै निकायले सडक स्तरोन्नति तथा कालोपत्रे गर्नतर्फ ध्यान दिन सकेका छैनन् । यता कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री शेरबहादुर बुढाले भने सडक स्तरोन्नतिको लागि बजेट विनियोजन गरिएको बारे कुनै पनि जानकारी नभएको बताए ।

यस्तै अर्थमन्त्री महेन्द्र केसीले आफू बैठकमा भएको भन्दै जवाफ दिनबाट पन्छिए । यसरी प्रदेश सरकार सडक स्तरोन्नति गर्नतर्फ अग्रसर नभएको प्रस्ट देखिन्छ । गत वर्ष पनि सडक स्तरोन्नति तथा कालोपत्रेको लागि कुनै पनि बजेट छुट्टाएको थिएन ।

११ वर्षमा २ सय ८८ जनाले गुमाए ज्यान 

कर्णाली राजमार्गमा ११ वर्षमा २ सय बढीले ज्यान गुमाएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०÷०७१ देखि गत आर्थिक वर्ष २०८०/०८१ सम्म २ सय ८८ जनाले ज्यान गुमाएका छन् । ७ सय ७८ सवारी दुर्घटनामा परेर उनीहरूले ज्यान गुमाउनु परेको हो । दुर्घटनाबाट १ हजार १ सय १२ जना घाइते भएका छन् ।

प्रत्येक वर्ष बढ्दै सवारी दुर्घटना 

राजमार्गमा दुर्घटना सवारी दुर्घटना हुनेको सङ्ख्या निरन्तर बढ्दै गएको छ । आर्थिक वर्ष २०७०/०७१ मा ११ सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु र ८ जना घाइते भएका थिए । यस्तै २०७१/०७२ मा २४ सवारी दुर्घटनामा परेर ४४ जनाको मृत्यु र १५ जना घाइते भएका थिए । त्यस्तै २०७२/०७३ मा सवारी दुर्घटनाको सङ्ख्या भने केही घटेको छ ।

जसमा १९ सवारी दुर्घटनामा परेर २० जनाको मृत्यु र १३ जना घाइते भएका छन् । २०७३/०७४ मा १३ सवारी दुर्घटनामा परेर १९ जनाको मृत्यु र ७ जना घाइते, २०७४/०७५ मा २० सवारी साधन दुर्घटनामा २६ को मृत्यु र ९ घाइते, २०७५/०७६ मा ४० सवारी दुर्घटना २७ को मृत्यु र ४८ घाइते, २०७६/०७७ मा ३८ सवारी दुर्घटना, १४ को मृत्यु र ५४ घाइते, २०७७/०७८ मा ११२ सवारी दुर्घटना, १९ को मृत्यु र ११८ घाइते २०७८/०७९ मा १३८ दुर्घटना, ५९ जनाको मृत्यु र २५३ घाइते, २०७९/०८० मा १२७ सवारी दुर्घटना, ३३ को मृत्यु र २२३ घाइते र २०८०/०८१ मा २३७ सवारी दुर्घटना, १४ को मृत्यु र २६४ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

वर्षौँदेखि यातायातबाट विमुख कर्णालीका जनताले कर्णाली राजमार्ग सञ्चालनमा आएपछि गौरव महसुस गरे पनि बर्सेनि हुने सडक दुर्घटनाले गर्दा त्रास र निराशा बढाएको छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ । 

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिबार