२०८३ वैशाख १२ , शनिबार

वीरेन्द्रनगरकाे समौजीघाटमा सुविधासहितको विश्रामस्थल निर्माण



सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–११ स्थित समौजीघाटमा क्रियापुत्री बस्ने सुविधासहितको विश्रामस्थल निर्माण गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन सुर्खेतले सहिद मनोज−झपेन्द्र−सुरेन्द्र स्मृति विश्रामस्थल ८ लाख १७ हजारमा निर्माण गरेको हो ।

गत वैशाख ७ गते स्थापना दिवसको अवसरमा शिलान्यास गरिएको विश्रामस्थलको आइतबार सङ्गठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै कोइरालाले विश्रामस्थल निर्माण गरेको कार्य नागरिकका लागि उदाहरण काम भएको बताए ।

अध्यक्ष कोइरालाले पेसागत हकहित संरक्षणका साथै नेपाल निजामती कर्मचारी सङ्गठनले विभिन्न सेवामूलक कार्य गर्दै आएको बताए । उनले भेरीको किनारमा निर्माण गरिएको विश्रामस्थल बहु उपयोगी हुने विश्वास कोइरालाको छ । विपन्न बालबालिकाको पढाइका लागि अभिभावकत्व लिने, विभिन्न ठाउँमा सहिद पार्क निर्माण, रक्तदान लगायत सामाजिक सेवाका कामहरू गर्दै उनको भनाइ छ ।

नवनिर्मित विश्रामस्थलको आइतबार उद्घाटन गरी सञ्चालनको लागि प्रशान्ति धार्मिक वनलाई हस्तान्तरण गरिएको छ । प्रदेश राजधानीमा डेरा गरी बस्ने तथा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेका आफन्तलाई काजक्रिया गर्न वीरेन्द्रनगरमा यसअघि सार्वजनिक स्थान नहुँदा समस्या हुँदै आएको थियो ।

क्रियापुत्री हलसहितको प्रतीक्षालय निर्माणले प्रदेश राजधानीमा बस्दै आएका र घर नभएका व्यक्तिका परिवारलाई सहयोग पुग्ने विश्वास लिइएको छ । समौजीघाट नजिकै निर्माण गरिएको प्रतीक्षालयले प्रदेश राजधानीमा घर नभएका मानिसहरूलाई राहत पुग्ने वीरेन्द्रनगर नगरपालिका–११ का वडा अध्यक्ष खिमलाल देवकोटाले बताए ।

उनले प्रदेश राजधानी बनेसँगै वीरेन्द्रनगरमा मानिसहरूको चाप बढेकाले सेवामूलक सार्वजनिक स्थलहरूको खाँचो रहेको उल्लेख गरे । सङ्गठन सुर्खेतका अध्यक्ष हेमन्त चुनाराले सदस्य एवं शुभचिन्तकहरूको व्यक्तिगत सहयोगबाट प्रतीक्षालय निर्माण गरिएको बताए ।

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतबार