२०८३ वैशाख १२ , शनिबार

साउनमा पनि आयात खस्कियो, विदेश जाने बढे



फाइल तस्बिर

काठमाडौँ । यस आर्थिक वर्षको पहिलो महीनामा पनि विदेशबाट वस्तुको आयात घटेको छ। भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/०८२ को पहिलो महीना साउनमा नेपालले एक खर्ब २८ अर्ब ३७ करोड रुपैयाँका सामग्री आयात गरेको छ। यो गत वर्षको यही अवधिका तुलनामा ०.६७ प्रतिशत थोरै हो।

व्यवसायीले आयात कम हुनुले अर्थतन्त्रमा शिथिलता रहेको अर्थमा व्याख्या गर्दै आएका छन्। शेयर बजारमा पछिल्लो महीना देखिएको उत्साहजनक वृद्धिले अर्थतन्त्रमा सुधार आएको संकेत गरेको अर्थमन्त्री विष्णु पौडेलले बताउँदै आएका छन्। शेयर बजारमा उत्साहका बावजूद आयातमा भने सुधार देखिएको छैन। आयात वृद्धि नहुनुले बजारमा माग बढ्न नसकेको संकेत गर्छ।

बढी उपभोग गर्ने युवा जनशक्ति काम र अध्ययनका लागि विदेशिने क्रम बढेसँगै बजारमा माग शिथिल हुन पुगेको छ। गत साउनमा ५९ हजार ५५० नेपाली कामका लागि विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ। यो अघिल्लो वर्षको यही अवधिका तुलनामा ७.१ प्रतिशत धेरै हो। गत वर्षको साउन महीनामा ५५ हजार ५७५ नेपालीले वैदेशिक रोजगारीका लागि अनुमति लिएका थिए।

बितेका तीन आर्थिक वर्षमा मात्रै करीब २५ लाख नेपाली काम र अध्ययनका लागि विदेशिएको तथ्यांक छ। विभागका अनुसार साउनमा नेपालले २१ अर्ब ६५ करोड रुपैयाँको कृषिजन्य सामग्री आयात गरेको छ। अघिल्लो आवको यही अवधिमा २५ अर्ब ४८ करोड रुपैयाँको कृषिजन्य वस्तु आयात भएको थियो। साउनमा दुई अर्ब ९२ करोड रुपैयाँको खाद्यान्न आयात भएको छ। बितेको वर्ष साउनमा ६ अर्ब ९९ करोड रुपैयाँको खाद्यान्न आयात भएको थियो।

विभागका अनुसार गत वर्षको तुलनामा पेट्रोलियम पदार्थको आयात पनि सामान्य खस्किएको छ। गत वर्षको साउनमा २१ अर्ब ९८ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो भने यो वर्ष २१ अर्ब ६७ करोड रुपैयाँको मात्रै आयात भएको छ। मूल्यमा मात्रै होइन, परिमाणमा पनि पेट्रोलियम पदार्थको आयात घटेको छ। गत वर्षको साउनमा ७६ हजार ७१६ किलोलिटर डिजेल आयात भएकामा यस वर्षको साउनमा ७२ हजार ५२ किलोलिटर मात्रै आयात भएको छ।

विभागका अनुसार साउनमा नेपालले १२ अर्ब २२ करोड रुपैयाँको मात्रै सामान निर्यात गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ९।६३ प्रतिशत थोरै हो। आयातका तुलनामा निर्यात निकै थोरै भएका कारण साउनमा नेपालको व्यापार घाटा एक खर्ब १६ अर्ब रुपैयाँ नाघेको छ।

प्रकाशित मिति : २०८१ भदौ ७ गते शुक्रबार