
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा ओखरका बिरुवा लगाउँदा अनियमितता भएको भन्ने बारेमा समाचारहरू झुटो भएको बृहत् फलफूल खेती उपभोक्ता समितिले जनाएको छ। सिम्ता गाउँपालिका–८ मा सञ्चालित बृहत् फलफूल खेती कार्यक्रम अन्तरगत ओखरका बिरुवा खरिदमा दररेट बढाएर खरिद गरेको बारेमा विभिन्न टीकाटिप्पणी भइरहेको भन्दै अनावश्यक रूपमा धारणा नबनाउन अनुरोध गरेको छ।
आर्थिक वर्ष २०८०/०८१ को स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तरगत लिप्स संस्थाको साझेदारीमा २०८० माघमा जुम्लाको पातावासीबाट उपभोक्ता समितिमार्फत बिरुवा खरिद गरिएको थियो । उपभोक्ता समितिले जुम्लाको एन्जल फलफूल नर्सरी उत्पादन केन्द्रबाट एउटा बिरुवा बापत ७ सय २५ रुपैयाँ तिरेको थियो। खरिद गरिएका बिरुवा स्थानीय दिपा मल्ल अध्यक्ष भएको उपभोक्ता समितिमार्फत सिम्ता ८ का किसानलाई वितरण गरिएको थियो।
बृहत् फलफूल खेती उपभोक्ता समिति गठन गरेरै ओखरका बिरुवा खरिद गरिएको उपभोक्ता समिति संयोजक मल्लले बताइन। पालिकाको २० लाख २५ हजार बजेटमा बिरुवा खरिदको सम्झौता गरेको मल्लले बताइन। खबरदृष्टिको प्रश्नमा मल्लले भनिन्, ‘मैले सुरुमा २० लाख २५ हजारमा सम्झौता गरेको थिए। पछि पालिकाले १७ लाख ३० हजार रकम मात्रै भुक्तानी दियो,’ उनले भनिन् ‘त्यही पनि बिरुवामा अनियमितता भन्ने सुन्नमा आयो ।’
उनले ओखरका बिरुवामा आफूहरूले अनियमितता नगरेको दाबी गरिन्। केही स्थानीय व्यक्तिहरूले लगाएको आरोप राजनीतिक र प्रतिशोधपूर्ण भएको उनको भनाइ छ। ‘कर्मचारीको मिलेमतोमा खरिद मूल्य बढी राखेर बिरुवा खरिद गरिएको आरोप लगाएको भन्ने सुनेकी छु, यो गलत हो । हामीले दुई तीन ठाउँमा बुझ्दा ओखरको बिरुवालाई प्रतिगोटा ७ सय माथि नै भनियो, ‘उनले भनिन।
उनले सुरुमा आफूहरूले किनेको कृषि फर्ममा पनि ७ सय ३५ दररेट भएको बताइन। पछि १० रुपैयाँ घटाएर ७ सय २५ मा लिएको संयोजक मल्लले दाबी गरिन। मल्लले पालिकाले कोटेसन खुलाएको बेलामा १ हजार २ सय मात्रै बिरुवा खरिद गर्ने भनिएपनि ठ्याक्कै दोब्बर बिरुवा नै अपुग भएपछि किसानहरूको माग अनुसार थप बिरुवा खरिद गरिएको खुलासा गरिन्।
संयोजक मल्लले किसानले खाल्डा खनेको रकम नमागेर थप बिरुवाको माग गरेपछि ज्याला बापत भुक्तानी गर्नुपर्ने रकमले थप बिरुवा खरिद गरेको बताइन। खरिद गरिएका बिरुवाहरू सिम्ता गाउँपालिका–८ को साबिक २,३,४,५ र ६ वडामा बिरुवाहरू लगाइएको मल्लले जानकारी दिइन। वडा नम्बर ८ का अध्यक्ष चेतबहादुर रेग्मीले पनि ओखरको बिरुवामा अनियमितता नभएको बताए।
‘पाँच वटा समूहको मान्छे, पालिकाका कृषि शाखा प्रमुख लगायतको टोली जुम्ला गएर सरकारी दररेटभन्दा माथि नगई बिरुवा खरिद गरेको हो,’ रेग्मीले भने, जुन बिरुवा खरिदमा अनियमितता भयो भनिएको छ, त्यो सत्य होइन ।’ वडाध्यक्ष रेग्मीले पालिकाले बिरुवाको मूल्य बढाएर हालेको भए अनियमितता गरेको शङ्का गर्ने ठाउँ हुने धारणा राखे।