
कुलेन्द्र शाही, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा खाने पानीको आपूर्ति सहज बनाउन भेरीको पानी लिफ्टमार्फत ल्याउने आयोजना ‘भेरी पम्पिङ खानेपानी आयोजना’को पहिलो चरणको कामको लागि चिनियाँ कम्पनीसँग हस्ताक्षर भएको छ ।
वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल, उपआयोजना कार्यान्वयन गर्ने खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाई प्रमुख संजीवकुमार साह र काम गर्ने चिनियाँ कम्पनी जि–ज्याङ टिम्स इन्टरनेसनल इक्नोमिक एण्ड टेक्निकल को–अप्रेशन कम्पनी लिमिटेडका प्रतिनिधि सुशीलकुमार श्रेष्ठबीच बुधबार एक कार्यक्रमबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
त्रिपक्षीय हस्ताक्षरपछि अब उपआयोजनाको पहिलो चरणको काम सुरु हुनेछ । भेरी नदीको पानीलाई पम्पिङ गरी लिफ्टको सहायताले वीरेन्द्रनगरमा ल्याइ उपभोक्ताहरुलाई वितरण गर्न विश्व बैंकको सहयोगमा उपआयोजना सुरु भएको हो । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाईका प्रमुख साहले गत वर्षको असोजमा कामका लागि ठेक्का आह्वान गरिएकोमा सात वटा कम्पनीले ठेक्का हालेको र त्यसमा दुइटा कम्पनी अयोग्य भएपछि पाँच वटा प्रतिस्पर्धामा रहेको जानकारी दिए ।
पाँच वटा कम्पनीमध्ये चिनियाँ कम्पनी जि–ज्याङ टिम्स इन्टरनेशनल २४.०८ प्रतिशत घटेर तीन अर्ब पाँच करोड आठ लाखमा सो कामको ठेक्का प्राप्त गर्न सफल भएको उनले बताए । वीरेन्द्रनगरको अमृतडाँडामा ९० लाख लिटरको ट्यांकी बनाएर पानी जम्मा गरिनेछ । यसका साथै २९ किमि पाइप विछ्याइनेछ । यसैगरी आयोजनाको परामर्शदाता एमएसडी कम्पनीका विज्ञ सुरेश महाजुले भेरी नदीबाट ५६० लिटर प्रतिसेकेण्ड पानी लिफ्ट गरिने बताए । उपआयोजनाको पहिलो चरणको कामको अवधि तीन वर्ष छ ।
उपआयोजना निर्माणको ठेक्का प्राप्त गरेको चिनियाँ कम्पनी जि–ज्याङ टिम्स इन्टरनेशनलका प्रतिनिधि श्रेष्ठले कुनै अवरोध नभए तोकिएको समयभित्रै सबै काम सम्पन्न गरिने बताए । अहिले ६ दिनमा एक पटक पानी आउने चर्को अभाव भोगिरहेको बेला यो आयोजना सम्पन्न भएमा खानेपानीको समस्या समाधान हुने सुर्खेत उपत्यका खानेपानी संस्थाका अध्यक्ष कूलमणि देवकोटाले बताए ।
उपआयोजना कार्यान्वयन गर्ने खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाईका संयोजक एवं वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले हस्ताक्षरपछि आफ्नो भनाई राख्दै भेरी लिफ्टिङ आयोजनाको पहिलो खुड्किलो पार भएको बताइन् । उनले तीनै तहका सरकारको स्वामित्वमा अगाडी बढेको यो परियोजनालाई सफलतामा पुर्याउनुपर्ने भन्दै यसले संघीयताको अभ्यासको पहिलो नमुना रुपमा सुरुवात गर्ने बताइन् ।
विश्व बैंकले नेपालमा लगानी गरेको लिफ्टिङ प्रविधिको देशकै ठुलो परियोजना भएकाले यो परियोजना समयमै सक्नुपर्ने जिम्मेवारी सबैको भएको उनको भनाइ छ । उनले सन् २०५० सम्म वीरेन्द्रनगरको जनसंख्यालाई लक्षित गरी भेरीको पानी लिफ्ट गरेर ल्याउन लागिएको बताइन् । पम्पिङ गरेर ल्याउन लागिएको नेपालकै सबैभन्दा ठूलो आयोजना भएको नगरप्रमुख ढकालको दाबी छ । उनले आयोजना निर्माणमा कुनै अवरोध आए समाधान गर्दै जाने र ढुक्क भएर समयमै काम सक्न निर्माण कम्पनीलाई आग्रह गरिन् ।
पहिलो चरणमा ३ अर्बको काम
आयोजना सम्पन्न गर्न सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले २० प्रतिशत लगानी जुटाउनुपर्ने छ । कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचअल फण्ड’अन्तर्गत प्रदेश सरकारले आर्थिक वर्ष २०७९-०८० मा पाँच करोड रूपैयाँ विनियोजन गरेको छ । विश्व बैंकको ऋण सहयोगमा सङ्घीय सरकारको खानेपानी मन्त्रालयले आयोजना निर्माणका लागि वीरेन्द्रनगरलाई ६ अर्ब अनुदान दिएको हो । जस अन्तरगत पहिलो चरणमा ३ अर्बको काम हुने छ । वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्याके आँकलन गरेर खानेपानी आयोजना बनाइएको हो ।
भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किमी दुरीमा पम्पिङ गरी वीरेन्द्रनगर–११ मा अवस्थित अमृतडाँडामा पानी ल्याइनेछ । त्यहाँ ९० लाख लिटरको ट्याङ्की निर्माण गरिने छ । भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृतडाँडामा रिजर्भ ट्याङ्की स्थापना गर्ने, अमृत डाडाँदेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारणलाइन विस्तार गर्ने पहिलो चरणअन्तर्गतका कार्य भएको नगरप्रमुख ढकालले बताइन् ।
यसका लागि तीन अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार गरिनेछ । दोस्रो चरणमा पनि तिन लाखको लागत लाग्ने छ । जनसंख्या बृद्धिलाई आधार मान्दा अबको ३० बर्षपछि ३ करोड १० लाख लिटरभन्दा धेरै खाने पानीको माग बढ्ने अनुमान गरिएको छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।