
काठमाडौँ । काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाह (बालेन)का समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा ‘अनफलो’ गर्ने अभियान चलाएका छन्। बालेनका समर्थको अभियानको प्रभावस्वरुप एकदिनमै प्रधानमन्त्री ओलीलाई ६७ हजारले अनफलो गरेको पाइएको छ।
मंगलबारसम्म केपी शर्मा ओलीको फेसबुक पेजमा ६ लाख ६६ हजार फलोअर्स थिए। बुधबार बिहान साढे नौ बजेसम्म ओलीको पेजमा फलोअर्सको संख्या ५ लाख ९९ हजारमा झरेको छ। मंगलबार मेयर बालेनको एउटा स्टाटसलाई फेसबुकले हटाइदिएपछि बालेनका समर्थकले ओलीलाई अनफलो अभियान चलाएका थिए।
ओली समर्थकहरुले रिपोर्ट गरेका कारण बालेनको पोष्ट फेसबुकले डाउन गरेको दाबी बालेनका समर्थको छ। आफ्नो पोष्ट सामाजिक सञ्जालबाट हटेपछि बालेनले ‘पोष्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो’ भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए। त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्ने अभियान चलाएका हुन्।
मेयर बालेनले तीन दिनअघि नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माबारे फेसबुकमा स्टाटस लेखेका थिए। सांसद शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको आरोप लगाउँदै बालेनले शर्मालाई किन पक्राउ नगरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए। ती बालिकालाई शर्मा कुटपिटसमेत गर्दै आएको आरोप लगाउँदै बालेनले २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले शर्मालाई कारबाही नगरेको बताउँदै आएका छन्।
महासचिवले सेयर गरे ओलीको फेसबुक पेज
प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई फेसबुकमा अनफलो गर्ने ट्रेन्ड चलिरहँदा एमाले महासचिवले ओलीको फेसबुक पेज सेयर गरेका छन्। महासचिव शंकर पोरखेलले बुधबार विहान ओलीको फेसबुक पेजको लिंक सेयर गर्दै ‘नेकपा (एमाले) का अध्यक्ष तथा सम्माननीय केपी शर्मा ओलीको आधिकारिक फेसवुक पेज’ लेखेका हुन्।
ओलीको फेसबुक पेज अनफलोको ट्रेन्ड चलिरहेका बेला महासचिवले फेसबुक पेज सेयर गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
