कुलेन्द्र शाही, सुर्खेत
आज विश्व आत्महत्या रोकथाम दिवस । यो दिवस विश्वभर हरेक वर्ष सेप्टेम्बर १० तारिखमा मनाउने गरिन्छ । यस वर्ष ‘आत्महत्या दिवसबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नारासहित विश्व आत्महत्या रोकथाम दिवस आज कर्णाली प्रदेशसहित देशैभर जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । आत्महत्या रोकथाम दिवस मनाइरहँदा नेपालमा भने आत्महत्याको घटनाले विकराल रूप लिँदै गएको छ ।
नेपालमा वर्षेनी आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ । आत्महत्या रोकथाम विश्वभर नै चुनौतीको रूपमा रहेको छ । नेपालमा प्रजनन उमेरका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या रहेको बताइन्छ । आत्महत्या गर्नेहरूको सङ्ख्या बढ्दै गर्दा रोकथामका लागि उपायको खोजी अव अति आवश्यक भइसकेको छ । आत्महत्या मानिसले आफैले चाहेर गर्दैन । आत्महत्या सामाजिक कारणबाट उत्पन्न हुने विभिन्न पक्षसँग सम्बन्धित हुने कर्णाली प्रदेश अस्पतालका मनोविद् पूर्ण रावत बताउँछन् ।
आत्महत्याको सामाजिक कारण खोज्न ढिलाइ भइरहेको उनी बताउँछन्। ‘हामीले यो विषयलाई सामान्य सोचेका छौँ,’ उनी भन्छन्, ‘आफैले आफैलाई मार्ने कुरा सामान्य अवस्थामा आउँदैन । यसमा गम्भीर हुन आवश्यक छ । यहाँ साना बालबालिका पनि समावेश छन् । यसबारे सोच्न ढिलाइ भइरहेको अवस्था छ ।’ आत्महत्यालाई निरुत्साहित गर्न परिवार नै पहिलो जिम्मेवारीमा हुनुपर्ने सुझाउँछन् मनोविद् रावत ।
कर्णालीमा सात वर्षमा मात्रै २ हजार बढीले आत्महत्या गरेका छन् । कर्णाली प्रदेशका १० जिल्लामा गरी २ हजार ५५ जनाले आत्महत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जसमा आर्थिक वर्ष २०७४/०७५ मा २ सय ५५, २०७५/०७६ मा २ सय ५०, २०७६/०७७ मा २ सय ८८ जनाको मृत्यु भएको हो । यस्तै २०७७र०७८ ३ सय ३९, २०७८/०७९ मा २ सय ८९, २०७९/०८० मा २ सय ७३, २०८०/०८१ मा ३ सय २५ र चालु आव २०८१/०८२ को हालसम्म ३६ जनाको आत्महत्याबाट मृत्यु भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
आत्महत्यामा विष खाएर, झुण्डिएर, हाम फालेर, पानीमा हाम फालेर, हातहतियार औजारबाट, आगोबाट, एसिड सेवन गरेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् सूचना अधिकारी बिनोद शर्माले जानकारी दिए । प्रत्येक वर्ष आत्महत्या गर्नेहरूको सङ्ख्या निरन्तर बढ्दै गएको छ ।
मानसिक समस्या नै प्रमुख कारण
प्रवक्ता शर्माले आत्महत्या बढ्नुको कारणमा मानसिक समस्यालाई प्रमुख कारण मानिएको बताए । त्यसमा पनि गरिबी, पारिवारिक कलह, लामो समय परिवारबाट अलग हुनु, तनाव, कामको बोझ आदि प्रमुख कारण रहेका प्रवक्ता शर्माको भनाइ छ । शर्माले तनाव नियन्त्रण गर्न विभिन्न उपायहरू अवलम्बन गर्न सकेमा आत्महत्या रोकथाम गर्न सकिने बताए ।
तनावपूर्ण अवस्थामा मनोपरामर्शदाता, मनोविमर्शकर्ता र मनोचिकित्सकको सल्लाह लिनुपर्ने उनको भनाइ छ । सामान्यतः धेरै दिक्दारी लाग्नु, मुडमा आवश्यकता भन्दा बढी उतार–चढाव आउनु, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्नु, जीवनप्रति रुचि नहुनु, भविष्यप्रति कुनै आशा नलाग्नु आदि उदासीनताका कारणहरू हुन् । उदासीनताले आत्महत्यालाई बढावा दिने गरेको विज्ञहरू बताउँछन् । त्यसै गरी रक्सी र अन्य लागूऔषधको दुरुपयोग आत्महत्याको अर्को कारण पनि मानिएको छ ।
केही मानिसहरू नयाँ अनुभव लिन, उदासीनता, निराशापन, नकारात्मक भावनालाई हटाउनका लागि भन्दै मद्यपान वा अन्य लागूऔषधको प्रयोग गर्दछन् । यसले कार्य शिथिलता ल्याउने तथा उदासीनता बढाउने गर्छ । साथै यसको प्रयोगले धेरै प्रकारका शारीरिक समस्या निम्त्याउनुको साथै आर्थिक रूपमा कमजोर बनाउँछ र बिस्तारै बाँच्ने रहरमा कमी हुँदै जाँदा आत्महत्या बढ्ने गरेको पाइन्छ । त्यसै गरी दीर्घ रोग पनि आत्महत्याको एउटा कारण हो ।
कुनै पनि शारीरिक रोगबाट लामो समयसम्म ग्रसित भइरहेर बाँच्नुको अर्थ नदेखेर कतिपय मानिसले आत्महत्या गरेको समेत पाइन्छ । यस्तै आफैँमा विश्वास नहुनु, जीवनदेखि हार खानु, भावी जीवनका लागि असमर्थ हुनेले आत्महत्याको बाटो रोज्ने गरेको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डा।सुशील समदर्शीले बताए । बालविवाह, बढ्दो सहरीकरण, बेरोजगारी र गरिबी तथा समयमै औषधी उपचार नपाउनुका कारणले आत्महत्या गर्ने गरेको उनको भनाइ छ । उनले शिक्षा, स्वास्थ्यको अभाव, आर्थिक समस्या र बेरोजगारी, प्रेम सम्बन्धका कारणले आत्महत्याका घटना बढी भएको समेत जिकिर गरे ।
एकै वर्षमा ७ हजारले गरे आत्महत्या
नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २२३ जनाले आत्महत्या गरेका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेको तथ्याङ्क आइतबार मात्रै सार्वजनिक गरिएको थियो । नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गर्ने गरेको पाइएको छ । एसडीजीको लक्ष्य ४.७ मा झार्ने भएपनि आत्महत्याको दर झनै बढ्दै गएकोप्रति इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले चिन्ता व्यक्त गरे ।
नेपालमा वयस्कमा ६.५ प्रतिशत र ३.९ प्रतिशत किशोर किशोरीले आत्महत्या गर्ने सोच राख्ने गरेको र १५ देखि ४५ वर्षका प्रजनन उमेर समूहका महिलाहरूको मृत्युको पहिलो कारण आत्महत्या रहेको बताए । उनका अनुसार आत्महत्याका धेरै कारणहरूमध्ये बायोलोजिकल कुरा, मानसिक रोग, फिजिकल, साइकोसोसियल, साइकोलोजिकल कारण रहेका छन् । त्यस्तै सामाजिक, सांस्कृतिक र आर्थिक कारणले पनि आत्महत्या गर्ने गरेको उनको भनाई छ ।
विश्वमा मात्रै वार्षिक ७ लाख मानिसहरू आत्महत्याको कारणले मृत्युवरण गर्ने तथ्याङ्क रहेको छ ।विश्वमा हरेक ४० सेकेन्डमा एक मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ्क रहेको उनले बताए । विश्वमा ७७ प्रतिशत आत्महत्याका घटनाहरू अति कम र मध्यम आर्थिक अवस्था भएका देशमा हुने गरेका छन् । त्यसमध्ये पनि साउथ इस्ट एसियामा मात्रै ३९ प्रतिशत रहेको छ ।
जोखिममा परेका व्यक्तिले देखाउँछन् यस्तो सङ्केत
आत्महत्याको जोखिममा परेका मानिसले विभिन्न लक्षण देखाउने गर्दछन् । आत्महत्याको जोखिममा परेका कुनै पनि मानिसले जुनसुकै कुरामा पनि प्रतिक्रिया नदिने, आफ्नो सरसफाइमा वास्ता नगर्ने, संवेगात्मक रूपमा शून्य हुने लगायतका सङ्केत गर्ने कुनै कुरामा पनि रुचि नदेखाउने, आफूलाई मूल्यहीन महसुस गर्ने, एक्कासि धेरै खुसी हुने अनि एक्कासि शान्त हुने लक्षण देखाउने गरेको सामाजिक विकास मन्त्रालयमा कार्यरत सामुदायिक नर्सिङ अधिकृत कविता खत्रीले बताउँछिन् ।
यस्तै आफूले आफैँलाई हानी नोक्सानी तथा शारीरिक असर पार्ने व्यवहार गर्ने र आफू मर्नेबारे कुराहरू गरिरहने, आत्महत्या गर्ने योजना बनाई त्यसको तयारी गर्ने दुःखी, निराश देखिने, आफ्नो बारेमा लापरबाही गर्दै जाने, पहिले खुसीले गर्ने कामप्रति रुचि कम हुँदै जाने, धूम्रपान, मद्यपान गर्ने गरेको छ भने अझै बढी प्रयोग गर्न थाल्ने, अरूबाट अलग्गिने, एक्लै बस्न रुचाउने, आफूप्रति घृणाको भाव देखाउन थाल्ने, अचानक खुसी र शान्त देखिन थाले लगायतका लक्षण देखाउने गरेको जानकारहरू बताउँछन् ।
कसरी गर्न सकिन्छ न्यूनीकरण ?
अधिकृत खत्रीले आत्महत्या सम्बन्धी मनोपरामर्श र सचेतना फैलाउन सकेमा केही न्यूनीकरण गर्न सक्ने विश्वास लिएको बताइन् । साथै उनीहरूका कुरा सुन्ने, प्रश्न सोध्ने, उपचारका लागि सहयोग गर्ने, आत्महत्यालाई अत्यन्त महत्त्वपूर्ण कुरा मान्ने लगायतका कुराहरूमा ध्यान दिन सकेमा आत्महत्या न्यूनीकरण हुने उनको भनाई छ ।
आत्महत्या न्यूनीकरणका लागि मिडियाहरूको भूमिका महत्त्वपूर्ण रहेको उनले बताइन् । साथै उनले आत्महत्या पनि एक प्रकारको नसर्ने रोग भएको बताइन् । आत्महत्या एउटा औषधिविहीन सामाजिक रोग भएको चिकित्सक अधिकृत खत्रीको भनाइ छ । आत्महत्या नियन्त्रण गर्नका पत्रकारको पनि विशेष भूमिका रहने बताउँदै सञ्चारमाध्यमबाट पनि रोकथाम तथा न्यूनीकरणका लागि सन्देशमूलक र सावधानी अपनाउने गरी समाचार सम्प्रेषण गर्न सके न्यूनीकरणमा सहयोग पुग्ने उनले बताइन् ।
अधिकृत खत्रीले आत्महत्या रोकथाम र नियन्त्रणका लागि मनोसामाजिक नियन्त्रण सम्बन्धी गत वर्ष कार्यविधि नै ल्याएको कर्णाली जानकारी दिइन् । उनले आत्महत्या रोकथाम गर्न विभिन्न संघसस्थालाई तालिम, विभिन्न संस्थासँग छलफल तथा परामर्श दिएर विशेष कार्यक्रम नै सञ्चालन गरेको बताइन् । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।
