२०८३ वैशाख ११ , शुक्रबार

काठमाडौं बसाइलाई बिट मार्दै भुपेन्द्राले लेखेकी थिइन्- बालेन र हर्क दाजुले मलाई भोट मागिदिनुपर्‍यो



रुकुम पूर्व। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगर वृद्धा आमालाई साता लामो उपचारपछि बिहीबार काठमाडौंबाट फर्किँदै थिइन् । तर बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान पिकअप भ्यान दुर्घटना हुँदा उपाध्यक्ष बुढा, ६१ वर्षीया आमा गोपीमायाले एकसाथ ज्यान गुमाए ।

साता लामो काठमाडौं बसाइलाई बिट मार्दै गाउँपालिकातिर फर्किनुअघि उनले सामाजिक सञ्जालमा फेसबुकमा एउटा भनाइ राखेकी थिइन् । जसमा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग सहयोगको आशा राखेकी थिइन् ।

‘मलाई भोट मागिदिनु पर्‍यो भनेर बालेन साह दाजु र हर्क साम्पाङ दाजुलाई दाइजोस्वरुप माग्ने भनेको‘’, उनले लेखेकी थिइन् । उनले आफुलाई भोट माग्न यी दुई चर्चित अनुहारसँग किन सहयोग माग्नु परेको थियो त ? अहिले कुनै चुनाव पनि छैन, उपनिर्वाचन पनि मंसिरमा मात्रै हुँदैछ ।

पुथा उत्तरगंगामा उपनिर्वाचन हुने गरी कुनै घटना पनि भएको थिएन । बालेन र हर्कसँग सहयोग माग्ने भन्दै फेसबुकमा लेखेर काठमाडौं छाडेकी उनी घर पुग्न नपाउँदै दुर्घटनामा परिन् । जुन दुर्घटनाले दुस्खद संयोग कस्तो बनायो भने अब उनको पदमा आगामी मंसिरमा उपनिर्वाचन हुनेछ ।

प्रकाशित मिति : २०८१ भदौ २८ गते शुक्रबार