
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको पत्रकारिता निर्लज्ज बनेको बताएका छन् । देशको पत्रकारिता जोगाउन उनले आग्रह गरेका छन् । ‘यो देशको पत्रकारिता जोगाउनुस्। मलाई नंग्याउने स्वार्थमा आफू ननांगिनुस्। पत्रकारिता यति निर्लज्ज हुनु हुँदैन,’ उनले भने । उनले रास्वपाको हस्तक्षेप नागरिकको अवस्था परिवर्तनका लागि भएको बताए ।
कसैलाई आक्षेप लगाउन नभएको तर, राजनीतिकको नाममा मौलाएका विकृति–विसंगतिको विरोध गर्दा कसैलाई आक्षेप लाग्छ भने आफूहरूको भन्नु केही नरहेको उनले बताए । ‘हाम्रो आगमन नै अरूका लागि टाउको दुखाइको विषय बन्यो। हामीले बहुमत नल्याउँदासम्म उहाँहरूको टाउको दुखिरहन्छ। रास्वपा सकियो भन्ने पनि छन्। तर, त्यो हामीविरुद्ध गरिएको कुप्रचार हो। सदनमा हेर्नुस्, छोटो समयको सरकारमा रहँदाको काम हेनुस् ।
दुई ठूला दल हाम्रै कारणले सरकार बनाउन मिल्नुपर्ने बाध्यतामा पुगे भने हामी कसरी सकियौं। हामी त फैलँदै छौं,’ उनले भने । उनले २०७९ को चुनावमा सहभागिता २०८४ मा चुनाव लड्न रास्वपाले दिएको निम्ता कार्ड भएको बताए। निम्ता दिँदा त राष्ट्रिय पार्टी बन्यौं भने चुनावै लड्दा त के होला? भन्दै उनले प्रश्न गरे । उनले कतिपयलाई सहकारी छानबिन समितिले दिएको प्रतिवेदन चित्त नबुझेको बताए ।
‘संसदीय समितिले दिएको निष्कर्षमा कतिपयलाई चित्त बुझेन। किन? किनकि, उनीहरुले चाहेअनुसार संसदीय समितिले प्रतिवेदन दिएन। सहकारीको पैसा ल्याउन मेरो भूमिका थिएन, समितिले पनि देखिएन भन्यो त किन स्वीकार्न गाह्रो भयो,’ उनले भने। सहकारीबाट अब सन्दर्भ गोरखा मिडियातिर कुरा मोडिएको उनले बताए। ‘गलत नगर्दा जता मोडियोस् के मतलब? केही साथीहरुले ‘प्रमाण छ–प्रमाण छ’ भन्दै थिए। त्यो होइन रहेछ, उनीहरूले त ‘प्रणाम छ–प्रणाम छ’ भनेका पो रै’छन्,’ उनले भने ।
रवि लामिछानेलाई लडाउन सके रास्वपा सकिन्छ भन्ने कतिपयलाई लागेको उनले बताए । उनले बाहिरको प्रहार जति पनि खेप्ने तर पार्टीभित्रबाट प्रहार नगर्न आग्रह गरे । ‘हामी लड्यौं भने आफ्नै खुट्टामा अल्झिएर लड्छौं,’ उनले भने । सिंहदरबारको सेटिङ बुझेर भत्काउन सरकारमा गएको पनि उनले बताए।