२०८३ वैशाख १० , बिहीबार

कांग्रेस–एमाले गठबन्धनले स्थिरता होइन, अस्थिरता बढाउँछ : नेता भीम रावल



काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले अहिलेको गठबन्धन सरकार मुलुकको राजनीतिक स्थिरताका लागि घातक भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले सिद्धान्त नै नमिल्ने दलहरू मिलेर सरकार बनाएको र आलोपालोको कुरा समेत गरेकाले अहिलेको सरकारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न नसक्ने बताए ।

उनले आफ्नो निश्चित घोषित नीतिअनुसार दलहरू चल्न नसक्दा अस्थिरता अन्त्य हुन नसकेको धारणा राखे । रावलले केन्द्रमा सरकार फेरबदलको असर प्रदेशमा परेका कारण प्रदेशले राम्रोसँग काम गर्न नसकेको जिकिर गरे ।

उनले सहकारी छानबिन समितिको प्रतिवेदन सरकारले पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने र सहकारी पीडितलाई ठगी गर्नेबाट असुलउपर गरेर उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । उनले अमेरिकामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँग राष्ट्रिय हितको विषयमा कुनै कुरा गर्न नसकेको टिप्पणी गरे ।

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमबार