२०८३ वैशाख १० , बिहीबार

दैलेखका भीम महतम : सुरक्षित ड्राइभिङका लागि प्रेरणादायक उदाहरण

२२ वर्षको दुर्घटनाविहीन यात्रा


कुलेन्द्र शाही, सुर्खेत

सवारी दुर्घटनाहरूको संख्या निरन्तर बढ्दै जाँदा दैलेख गुराँस गाउँपालिका–१ का भीम महतम एक अद्वितीय उदाहरण बनेका छन् । ४२ वर्षीय महतमले २२ वर्षसम्म गाडी चलाइरहँदा एउटा पनि दुर्घटना गराएका छैनन् । महतमको यात्रा सह–चालकको रूपमा सुरु भएको थियो । उनको धैर्य र जिम्मेवारीले उनलाई विभिन्न गाडीहरूमा अनुभव प्राप्त गरायो । उनी मुगु, हुम्ला, दैलेखदेखि जाजरकोट डोल्पा लगायतका दुर्गम ‘रुट’ मा सवारी चलाउँछन् ।

गाडी चलाउने क्रममा, उनी सधैँ सतर्क र जिम्मेवार रहेको बताउँछन् । ‘सुरुमा म केवल सह–चालक थिएँ । त्यसबाट मैले गाडी चलाउने र सडकको नियमहरूको महत्त्व बुझ्न सुरु गरे, उनले भने ‘सुरुमा जसरी गाडी चलाउँथे, आज पनि त्यही जिम्मेवारीका साथ गाडी चलाउँछु,’ । महतमले सधैँ ड्राइभिङलाई जिम्मेवारीको रूपमा लिएका छन् । यसले ले नै उनलाई २२ वर्षसम्म सुरक्षित राख्नमा मद्दत ग¥यो । महतम गाडी चलाउन थालेपछि आफूले सधैँ सावधानी अपनाएको बताउँछन् ।

उनी भन्छन्, ‘मलाई थाहा थियो कि सडकमा कुनै पनि क्षणमा अप्रत्याशित कुरा हुनसक्छ । त्यसैले, म सधैँ ध्यानपूर्वक गाडी चलाउँथेँ र चलाउँछु ।“ उनले कालिकोट र जुम्लाबाहेक अन्य सबै स्थानमा यात्रा गरिसकेका छन् । उनको लामो अनुभव र विभिन्न गाडीहरूको चलाउने सीपले उनलाई सडकमा सुरक्षाका महत्त्वपूर्ण उपायहरू बुझ्नमा मद्दत गरेको छ । महतमले गाडी चलाउँदा सधैँ आफ्नो ध्यान एकै ठाउँमा हुने बताउँछन् ।

उनी भन्छन् ‘सडकमा ड्राइभिङ कुरा केवल गाडी चलाउने मात्रै होइन, हाम्रो र अरूको जीवनको सुरक्षा पनि हो ।’ चालक महतमको यो अद्वितीय उपलब्धिलाई थुप्रै मानिसहरूले प्रशंसा गरेका छन् । उनका साथी र परिवारका सदस्यहरू पनि उनको सुरक्षित ड्राइभिङको गुणस्तर र जिम्मेवारीलाई उच्च मान्छन् । “यति लामो समयसम्म दुर्घटना नगराएको सुन्दा धेरैलाई विश्वास लाग्दैन,’ महतमले भने,‘ तर म सधैँ आफ्नो कर्तव्यप्रति जिम्मेवार छु र रहन्छु ।’

‘मेरो यो अनुभव उपलब्धि मात्र होइन, यो समाजका लागि एक प्रेरणाको स्रोत पनि हो।’ उनी भन्छन् ‘ मेरो अनुभव र अनुशासनले हामी सबैलाई सम्झाउँछ कि सुरक्षित ड्राइभिङ केवल व्यक्तिगत फाइदा होइन, यो सधैँ अरूको जीवन र स्वास्थ्यको लागि पनि महत्त्वपूर्ण छ ।’ उनी सडकमा ड्राइभिङ गर्दा थुप्रै चुनौतीहरू र जोखिमहरूको सामना गर्नुपरेको बताउँछन् ।

‘सडकमा सधैँ आफ्नै कारणले होइन कतिपय घटना अरूको कारणले पनि हुन्छ ।’ उनले भने, ‘कुनै पनि समयमा, अचानक जङ्गली जनावर, खराब मौसम, वा अन्य गाडीहरूको कारणले जोखिम उत्पन्न हुन सक्छ । त्यसैले सकेसम्म एउटै कुरामा फोकस हुनुपर्छ ।’ यतिका वर्ष काम गर्दा उनले न त आफ्नो कम्पनीले सम्मान ग¥यो न त कुनै सङ्घ संस्थाले नै । तर मङ्गलवार भने उनलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।

उनले सम्मान पाइरहँदा उनको आँखाबाट हर्षका आँसु झर्नै थालेका थिए । जीवन भरी चालक भएर सबैले हेपेर गाली मात्र खाएका उनले सबैका अगाडी सम्मान पाउँदा उनको मुहारमा खुसीको सीमा थिएन । राम्रो काम गर्दा चालकलाई पनि सम्मान हुने रहेछ भन्दै उनले सबैभन्दा ठुलो सफलता हात परेको महसुस गरेका थिए । उनले यसभन्दा पहिले कुनै पनि सम्मान नपाएको दुखेसो पोखेका थिए ।

महतमलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालय सुर्खेतका उपरीक्षक रुपेश खड्का लगायतले खादा  र माला लगाएर सम्मान गरेका थिए ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुर्घटना नगराई चालक पेसालाई सफलता पूर्वक पुरा गरेको भन्दै सम्मान गरेको हो । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार सबैभन्दा दुर्घटना सवारी चालकको लापरबाहीका कारण सवारी दुर्घटना हुने गरेको छ । समाजमा सवारी दुर्घटनाको समस्या बढ्दै गर्दा, भीम महतमको जस्तो उदाहरणले अन्य चालकहरूलाई पनि सही मार्गदर्शन दिएको छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २०८१ असोज १० गते बिहीबार