काठमाडौं । सिधाकुरा अनलाइनविरुद्ध अदालतको अवहेलनामा सर्वोच्च अदालतले फैसला सुनाउने मिति फेरि सारिएको छ । सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर शृंखला प्रकाशनरप्रसारण गरेको थियो । त्यससम्बन्धी मुद्दाको फैसला बिहीबार (आज) सुनाउने तय थियो । अब यही असोज १३ गते फैसला सुनाउने मिति तय गरिएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
उक्त मुद्दाको फैसला सुनाउने मिति यसअघि गएको भदौ २० गतेलाई तोकिएको थियो । त्यस दिन पनि फैसला सुनाउने मिति सारिएको थियो । सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर पहिलोपटक ०८१ वैशाख १४ गते अडियो क्लिपसहितको भिडियो रिपोर्ट र समाचार सामग्री अनलाइन पोर्टल, युट्युब च्यानल र सामाजिक सञ्जालबाट सार्वजनिक गरेको थियो ।
उक्त सामग्रीमा ४३ वर्ष लामो करिअरमा विवादमै नआएका न्यायाधीश डा। आनन्दमोहन भट्टराईको नाम जोडिएको थियो । यस्तै, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण पोस्ट दैनिकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीसहितको नाम मुछिएको थियो ।
‘४०० बढी भ्रष्टाचार डिसमिस गराउने सर्वोच्चका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ भन्दै सामग्रीमा फैसला र बहसमा सहभागी नभएका अधिवक्तासहित मिडिया मालिकलाई मुछिएको थियो ।अन्नपूर्ण पोस्टको केन्द्रीय कार्यालय तीनकुनेमा भएको संवाद भन्दै सार्वजनिक अडियोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैँले पैसा दिएर गर्ने स्टिङ अपरेसनलाई अवैध भनेर सर्वोच्चले गरेको फैसलालाई आधार बनाइएको थियो ।
स्टिङ अपरेसनकर्ता भनिएका राजकुमार तिमिल्सिना अख्तियारले आफ्नै पैसा दिएर घुस खुवाउने र सरकारी अधिकारीलाई रंगेहात पक्राउ गराउने व्यक्ति भएको खुलेको छ । सिधाकुराले सार्वजनिक गरेको उक्त अडियो नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट ‘फेक’ प्रमाणित भइसकेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘द डार्क फाइल’ अनुसन्धानका निम्ति समिति नै गठन गरेको छ ।
त्यही समितिले अडियो फाइल फेक भएको प्रतिवेदन समेत महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्चमा पेस गरिसकेको छ । प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट रिपोर्ट आइसकेपछि गएको जेठ ३० गते न्यायाधीशहरू डा. कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले अवहेलना मुद्दाको गाम्भीर्यताका आधारमा बृहत् पूर्ण इजलासबाट सुनुवाइ हुने आदेश गरेको थियो ।