२०८३ वैशाख ११ , शुक्रबार

प्रतिकूल मौसमले हवाई सेवा प्रभावित, चारवटा माउन्टेन फ्लाइट रद्द



काठमाडौं । काठमाडौंसहित देशका अधिकांश स्थानमा रातिदेखि निरन्तर पानी परिरहेको छ । निरन्तरको वर्षाले सडकमार्ग मात्रै होइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका उडान पनि प्रभावित भएका छन् ।

शुक्रबार बिहानलाई तय भएका धेरैजसो उडान प्रतिकूल मौसमका कारण प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आज बिहानलाई तय भएका चारवटा माउन्टेन फ्लाइट रद्द भएका छन् । यसैगरी बिहान उड्ने तय भएका ६ वटा उडान डिले भएका छन् ।

विमानस्थल कार्यालयका अनुसार सिमरा, विराटनगर र रेसुङगा उड्ने उडान प्रतिकूल मौसमका कारण डिले भएका हुन् । यस्तै, लुक्लाका लागि तय भएका तीनवटा उडान पनि डिले भएका छन् । आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान र अवतरण भने नियमित रहेको कार्यालयले जनाएको छ ।

नियमित उडान डिले भएपछि यात्रुहरू विमानस्थलमै रोकिएका छन् । मौसमका कारण राति र हिजोका केही उडान पनि प्रभावित भएका थिए ।

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रबार