
चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष नै रहेको बताएका छन् । आइतबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
सहकारी छानबिन प्रतिवेदनले नै लामिछानेलाई दोषी नदेखाएको उल्लेख गर्दै उनले भने, “उहाँ दोषी हुनुहुन्न भन्ने कुरा प्रतिवदेनले नै भनेको हो, मैले भनेको होइन । यसभन्दा बढी मैले केही भन्दिनँ ।” यद्यपि, गोर्खा मिडिया प्रालि जोडिएको कतिपय सन्दर्भमा लामिछानेमाथि छानबिन गर्न सकिने उनले बताए ।
त्यो प्रतिवदेनले नै बोलेको उल्लेख गर्दै आफूले धेरै नबोल्ने बताए । फरक प्रसङ्गमा प्रचण्डले सरकारको तयारी राम्रो नभएकाले प्राकृतिक प्रकोपबाट धेरै धनजनको क्षति भएको आरोप लगाए । आफूहरू बाढी, पहिरो तथा डुबान पीडितको समस्या बुझ्न जाँदा सरकार नै नभएको अनुभूति जनताले गरेको उनले सुनाए ।