कुलेन्द्र शाही, सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक पशुहरूको वीर्य भण्डारण र कृत्रिम गर्भाधान कार्यलाई प्रभावकारी बनाउन ‘तरल नाइट्रोजन प्लान्ट’ निर्माण गर्न लागिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यसहित यस प्लान्टको निर्माणमा पहल गरेको हो ।
गाई र भैँसीको नस्ल सुधार र उच्च गुणस्तरको पाडा र बाच्छा उत्पादनका लागि मन्त्रालयले यस परियोजना अघि बढाएको हो । नस्ल सुधारका लागि पशुको वीर्य बाहिरबाट ल्याउनु पर्ने बाध्यता रहेको र चाहेको समयमा सहज उपलब्धता नहुने समस्या देखिएपछि पशुपन्छी विकास निर्देशनालय सुर्खेत परिसरमा प्लान्ट निर्माण गरिँदै छ ।
मन्त्रालयले यस परियोजनाका लागि चार करोड ९८ लाख रकम बजेट विनियोजन गरिसकेको छ । तरल नाईट्रोजन चौथो चिसो पदार्थको रुपमा चिनिन्छ भने बाहिरी वातावरणमा आउने बित्तिकै यसको आयतनमा ७०० गुणा वृद्धि हुन्छ । यो रंगविहिन, गन्धविहिन ग्याँस हो । यसको उम्लने तापक्रम –१९६ डिग्री सेन्टीग्रेट र जम्ने तापक्रम –२१२ डिग्री सेन्टीग्रेट हो ।
तरल भएको कारणले जमेको वीर्यसँग राम्रो सँग सम्पर्क हुने र मानव स्वास्थ्यमा पनि हानिकारक नहुने हुनाले विश्वभरी नै यसको उपयोग र प्रयोग भइरहेको छ । नाईट्रोजन ग्यास हावामा ७८ प्रतिशत जति हुन्छ र हावामा भएको यही नाईट्रोजनलाई चिसो पारेर तरल बनाई प्रयोगमा ल्याइन्छ ।
‘जमेको वीर्यलाई सुरक्षित राख्न मद्दत पुर्याउने’
यसका माध्यमबाट बाहिरबाट ल्याइने उच्च जातका राँगो र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न मद्दत पुर्याउने लक्ष्य राखिएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव टिकाराम थापाले बताए । कर्णाली प्रदेशमा हालसम्म बाहिरबाट वीर्य आपूर्ति गरिँदै आएको छ ।
तर कर्णालीमै यो प्रक्रिया सञ्चालन गर्नका लागि नाइट्रोजन उत्पादनका लागि प्लान्ट निर्माण आवश्यक रहेको उनको भनाइ छ । उनले यस परियोजनालाई कृषि गर्भाधान कार्यक्रमलाई सुदृढ बनाउन र दूध उत्पादनमा वृद्धि ल्याउन महत्वपूर्ण कदम भएको बताए ।
‘प्रशोधित जमेको वीर्यका स्ट्रहरु संरक्षण तथा भण्डारणका लागि नभई नहुने अति आवश्यक वस्तु तरल पदार्थ नाइट्रोजन बाहिरबाट आपूर्ति गर्नुभन्दा यहीँदेखि कृत्रिम गर्भाधान केन्द्रहरूमा वितरण गर्ने लक्ष्य छ,’ सचिव थापाले भने, ‘कर्णालीमा प्लान्टले तरल नाइट्रोजन उत्पादनपछि पशुहरूमा गरिने कृत्रिम गर्भाधान कार्यलाई विस्तारले दूध उत्पादनमा वृद्धि र कृषकको आय स्तर बढ्नेमा विश्वास लिएको छु ।’
कृषि मन्त्रालयले कर्णालीका विभिन्न जिल्लामा करिब दुई सय कृषकहरूलाई कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउँदै आएको छ । विशेषगरी, दूध र मासु उत्पादनका लागि कृत्रिम गर्भाधानमार्फत नस्ल सुधार अत्यन्त प्रभावकारी मानिन्छ । वायुमण्डलमा रहेको नाइट्रोजनलाई प्लान्टमार्फत उत्पादन गरिने भएकाले कम ध्वनि र प्रदूषण नहुने वरदान नेपाल प्रा.लि.का मेकानिकल इन्जिनियर श्वेता खाँ गौतमले जानकारी दिइन् ।
प्लान्ट स्थापना गर्नु पूर्व मन्त्रालयले प्रभावित क्षेत्रका स्थानीयसँग शनिवार सार्वजनिक सुनुवाइ गरेको छ । स्थानीयले प्लान्टबाट दीर्घकालीन असर नपर्ने भन्दै निर्माणसँगै सञ्चालनमा कुनै अवरोध नगर्ने सहमति गरेका छन् । प्लान्ट निर्माणको क्षेत्रफलमा खानेपानीको भूमिगत स्रोत नभएका कारण कुनै पनि दीर्घकालीन असर समेत नपर्ने पशुपन्छी विकास निर्देशनालयका निर्देशक कृष्ण प्रसाद पंगेनीले बताए ।
चालु आवको अन्त्यसम्म निर्माण कार्य सम्पन्न हुने
चालु आर्थिक वर्षको अन्त्यसम्म प्लान्ट निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए । आगामी आर्थिक वर्षबाट कर्णाली प्रदेशमा तरल नाइट्रोजन उत्पादन गर्न थालिने छ । यस परियोजना सफल भएमा कर्णाली प्रदेशमा कृषि र पशुपालन क्षेत्रमा उल्लेखनीय प्रगति हुने विश्वास व्यक्त गरिएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा मन्त्रालयका प्रवक्ता धनबहादुर कठायत, पशु स्वास्थ्य प्राविधिक कमलबहादुर विश्वकर्मा, पशुपन्छी विकास निर्देशनालयका प्रमुख कृष्ण प्रसाद पंगेनी, वीरेन्द्रनगर नगरपालिका पशु सेवा शाखाका यज्ञ पाण्डे लगायत स्थानीयवासीको सहभागिता थियो ।