प्रकाश शाही, सुर्खेत । शुक्रवार सुर्खेत–दैलेखको सिमाना वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्गामा हाइस दुर्घटनामा प¥यो । शुक्रबार दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर चारजनाले अकालमै ज्यान गुमाउनु प¥यो । दुर्घटनामा परी दैलेखको भैरवी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, भैरवी गाउँपालिका–२ का ३६ वर्षीय कर्णबहादुर विष्ट, भैरवी गाउँपालिका–२ का १६ वर्षीय दीपिका महतारा र २१ वर्षीय संगीता विष्टको मृत्यु भयो । अन्य ३० जना घाइते भए ।
शनिवार मृतक र घाइतेका आफन्तले प्रहरीको लापर्बाहीका कारण गाडी दुर्घटना भएको भन्दै सुर्खेतमा आन्दोलन गरे । उनीहरुले १५ सिट क्षमता भएको गाडीमा ३४ जना यात्रु राख्दा दुर्घटना भएको भन्दै शनिवार आन्दोलन गरेका थिए । उनीहरुले दैलेखका प्रहरी चेक पोष्टका कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरुको शीघ्र स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका थिए ।
सुर्खेतमा यो घटना भएको केही समय नबित्दै आइतवार दिउँसो कालिकोटमा अर्काे बोलेरो गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परेर ७ जनाले ज्यान गुमाएका छन् भने १३ जना घाइते भएका छन् । कर्णालीसहित देशैभर यतिबेला ठुलो संख्यामा सवारी साधन दुर्घटना हुन थालेका छन् । दशै तिहारमा गाउँ गएका नागरीक चाडपर्व सकिएसँगै सहर आउन लागेकाले सवारी साधनमा यात्रु संख्या बढी हुन गरेकाले दैनिक रुपमा सवारी साधन दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।
शनिवार दुर्घटना भएको हाइसको सिट क्षमता १८ रहेको थियो । तर उक्त गाडीमा ३४ जना सवार रहेको पाइएको थियो । यस्तै आइतवार दुर्घटना भएको जिपको सिट क्षमता ५ हो भने जिपमा २० जना बढी यात्रु चढाईएको थियो । यसरी सवारी साधनको सिट क्षमताभन्दा बढी यात्रु राखेकाले दुर्घटना हुने गरेको प्रहरीको दाबी छ । त्यति मात्रै होइन कर्णालीका सडक पनि मृत्युमार्गका रुपमा चिनिन्छन् । कर्णालीका सडकहरुमा यात्रा गर्ने जोकोहीका लागि मृत्यु सामान्य जस्तै बन्न थालेको छ ।
३७ दिनमा १ सय ५ दुर्घटना
कर्णालीमा तीन ठूला पर्वहरूमा मात्र १ सय ५ वटा सडक दुर्घटना भएका छन् । असोज १७ गतेदेखि कार्तिक २३ गतेसम्म ३७ दिनमा ती दुर्घटनाहरू भएका हुन् ती दुर्घटनामा परी २३ जनाको मृत्यु भएको छ भने २ सय २५ जना घाइते भएका छन् । दसैँको अवधिमा मात्रै ४९ वटा सवारी दुर्घटना भएका थिए भने ६ जनाको मृत्यु भएको थियो । यस्तै ८६ जना घाइते भएका थिए । नेपाल प्रहरीका कर्णालीमा रहेका ६५ वटा चेकपोष्टबाट घटाएर हाल ३० वटा मात्र सञ्चालनमा ल्याएको छ ।
प्रहरीको ‘एक्सन’ : कडाइको सुरुवात
शुक्रबार दैलख र सुर्खेतको सिमानामा भएको घटनापछि प्रहरीमाथि व्यापक प्रश्न उठे । गाडी चालकहरूबाट शुल्क लिने र सिट क्षमताभन्दा बढी यात्रु राख्ने व्यवहारलाई प्रोत्साहन गरेको आरोप प्रहरीमाथि लगाइएको थियो । यसका परिणामस्वरूप, प्रहरी अहिले चेकजाँचमा कडाइ गर्दै घटनामा कमी ल्याउने प्रयासमा जुटेका छन् ।
शनिवार कर्णाली राजमार्ग, सुर्खेत–दैलेख सडक, भेरी कोरिडोरसडकमा चल्ने सवारी साधनहरूमा प्रहरीले विशेष निगरानी राख्दै चेकजाँचमा कडाइ गर्न थालेको हो । यस्तै शनिवार बेलुका सुर्खेतबाट काठमाडौँ जाने रात्रिकालीन बसमा क्षमताभन्दा बढी यात्रु राखेपछि १५ वटा बस प्रहरीले वीरेन्द्रनगरबाट बाहिरिने सुब्बाकुना नाकामा रोक्यो ।
त्यहाँ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्मा, जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक वकिल सुनारको टोली नै त्यहाँ खटिएको थियो । अन्ततः यातायात समितिले यात्रुहरूको सुरक्षाका लागि अर्काे बसको व्यवस्थापन गरेर यात्रुहरुलाई गन्तव्यतर्फ पठाएका थिए ।
किन हुन्छ सवारी दुर्घटना ?
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतकाअनुसार साना सडक र सवारी साधनको संख्या अधिक भएकाले दुर्घटनामा वृद्धि भएको हो । यस्तै अति तीव्र गति, लेन अनुशासनको पालना नगर्नु, मादक पदार्थ सेवन गरेर गाडी चलाउनु, पुराना र कन्डिसनमा नभएका गाडीहरू चल्नु, सवारी साधनमा यात्रुहरु धेरै चढाउने र अनुभवी चालक नहुनुजस्ता कारणले सवारी दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।