
दैलेख । नेकपा एमालेले दैलेखको महाबु गाउँपालिका अध्यक्षको उम्मेदवारको चयन गरेको छ। आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि महाबु गाउँपालिकाको अध्यक्ष पदमा जंगबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय गरिएको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए ।
यद्यपि यसको औपचारिक घोषणा भने अझै बाँकी रहेको एमालेले जनाएको छ।शाही कात्तिक २७ गते मात्रै एमालेमा फर्किएका थिए। यसअघि उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा केन्द्रीय सदस्यका रुपमा संलग्न थिए। र शाहीलाई महाबु गाउँपालिकाको अध्यक्षको उम्मेदवार दिने शर्तमा पार्टीमा स्वागत गरिएको हो।
एकीकृत समाजवादीको केन्द्रीय सदस्य रहेका शाहीलाई गाउँपालिकाको अध्यक्षको टिकट दिने शर्तमा एमालेले पार्टीमा भित्र्याएको थियो । शाही २०७४ सालको चुनावमा महाबु गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए।
यसपटक पनि शाहीको उम्मेदवारीलाई बलियो समर्थन मिलेको र जिल्लाका नेतृत्वले सर्वसम्मत उम्मेदवारको रूपमा चयन गरेको बुझिएको छ। अब भने महाबु गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएपछि, एमालेको आन्तरिक तयारी र प्रचारप्रसार तीव्र बनाउने तयारी गरेको छ।