कुलेन्द्र शाही, सुर्खेत । कर्णाली प्रदेशअन्तर्गत आठ स्थानमा उपनिर्वाचन हुने भएको छ। यसमा नगरपालिका उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षका आठ पदमा चुनाव हुनेछन् । यी स्थानहरूमा जाजरकोट, दैलेख, हुम्ला, डोल्पा र रुकुम पश्चिमका विभिन्न पालिकाहरू समावेश छन् ।
उपनिर्वाचन जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष, दैलेखको दुल्लु नगरपालिका–१३, कालीकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुशे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि हुनेछन् ।
सरकारमा सँगै, मैदानमा प्रतिस्पर्धी
३० बैशाख २०७९ को स्थानीय तह, संघ र प्रदेशको निर्वाचनमा कर्णालीमा कांग्रेस, माओवादी र समाजवादी दलहरूको गठबन्धन थियो भने, एमाले एक्लै चुनाव लडेको थियो । यस उपनिर्वाचनमा कांग्रेस, माओवादी र एमाले प्रत्येक दलले आफ्नो उम्मेदवार चयन गरेको छ । नेपाली काँग्रेस र एमाले यी दुई दल गत चुनावमा पहिलो र दोस्रो दलको रुपमा रहेका थिए ।
हाल संघीय सरकार र प्रदेश सरकारमा पनि सँगै छन् । तथापि, कांग्रेस र एमाले स्थानीय तहको उपनिर्वाचनमा भने मुख्य प्रतिस्पर्धी भएका छन् । दुवै दलले पार्टीको सम्पूर्ण शक्ति लगाएर उपचुनावमा होमिने निर्णय लिएका छन् । र यो उपनिर्वाचनले दलहरूको स्पष्ट जनमत परीक्षण गर्ने मौका दिनेछ ।
उम्मेदवारको अन्तिम टुङ्गोमा दलहरु
एमालेले उपनिर्वाचनका लागि अधिकांश उम्मेदवारहरूको नाम घोषणा गरिसकेको छ । पार्टीले जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा सुनिता बोहोरा, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा जाना शाही, र विभिन्न वडाध्यक्षहरूको नाम टुङ्गो लगाएको छ । महाबु गाउँपालिकाको अध्यक्षका लागि पार्टीमा आन्तरिक बहस भइरहेको छ, र २०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित जंगबहादुर शाहीलाई उम्मेदवार बनाउने तयारी गरिएको छ ।
नेपाली कांग्रेसले महाबु गाउँपालिका अध्यक्ष, नलगाड नगरपालिका उपप्रमुख, कुशे गाउँपालिका–७, र दुल्लु नगरपालिका–१३, को वडाध्यक्ष पदका उम्मेदवारको टुङ्गो लगाएको छ । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिका प्रवक्ता दमनबहादुर शाहीका अनुसार दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा झलक भण्डारी, दुल्लु नगरपालिका–१३, को वडाध्यक्षमा शेरबहादुर शाहीको नाम टुङ्गो लागेको छ ।
यस्तै, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुखमा इन्द्रा चन्द सिंह र कुशे गाउँपालिका–७, को वडाध्यक्षमा खम्बबहादुर सिंहको नाम टुङ्गो लागेको छ । प्रवक्ता शाहीका अनुसार हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा सविता बुढालाई उम्मेदवार बनाइएको छ । यस्तै, कालिकोट, डोल्पा, रुकुमपश्चिममा उम्मेदवार नेपाली कांग्रेस जिल्ला समितिले आफ्नो अनुकुलमा चयन गर्ने प्रवक्ता शाहीको भनाइ छ।
उनले भने, ‘वडाको उम्मेदवार चयन गर्ने जिम्मा जिल्ला समितिलाई हुने व्यवस्था हाम्रो विद्यानमा छ। सोही विद्यान अनुसार जिल्ला समितिले आफ्नो अनुकुलमा उम्मेदवार चयन गर्नेछ ।’ माओवादी केन्द्रले पनि अधिकांश उम्मेदवारहरूको नाम टुङ्गो लगाइसकेको छ । माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पालिका र वडाका ८ वटा उम्मेदवार मध्ये ६ उम्मेदवारको टुंगो लागिसकेको जानकारी दिइन् । उनका अनुसार जिल्ला र पालिकास्तरबाट सिफारिस भएर आएका नामावलीका आधारमा उम्मेदवार तयार पारिएको छ ।
उनका अनुसार महाबु गाउँपालिका अध्यक्षको उम्मेदवारमा जंगबहादुर बराल, नलगाड नगरपालिका नगर उपप्रमुखमा देवका लामिछाने, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा कोपिला बुढा उम्मेदवार बनेका छन्। जाजरकोटको कुशे गाउँपालिका ७ नम्बर वडाध्यक्षमा गोरख नेपाली, दुल्लु नगरपालिका १३ को वडाध्यक्षमा ढकेन्द्रबहादुर शाही, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ को वडाअध्यक्षमा जसीराम बस्नेत उम्मेदवार बनेका छन् । यद्यपि, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ र कालिकोटको तिलागुफा नगरपालिका–४ का वडाध्यक्ष पदका उम्मेदवारको नाम भने अझै टुङ्गो लागेको छैन ।
कस्तो छ अन्य दलहरुको स्थिति
नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपनिर्वाचनका लागि तयारी नगरेको देखिन्छ । जबकि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाबु गाउँपालिका अध्यक्ष, नलगाड नगरपालिका उपप्रमुख र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि उम्मेदवार चयन गरेको छ ।
रास्वपाले दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदका लागि युवा नेता प्रकाश बुढा, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखको उम्मेदवारमा पार्वती पुन र हुम्लाको सर्केगाड गाउँपालिका अध्यक्ष पदमा सुजता फडेरा (थापा)लाई उम्मेदवार बनाएको छ ।
अन्य वडाध्यक्ष पदका उम्मेदवारहरुको टुंगो लगाउने काम प्रक्रियामै रहेको रास्वपाले जनाएको छ । कर्णाली प्रदेशका आठ स्थानमा हुने आगामी उपनिर्वाचनमा विभिन्न दलहरूको उम्मेदवार चयन र रणनीतिका आधारमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।