२०८३ वैशाख १० , बिहीबार

कर्णाली सरकारले निकाल्यो ठेकेदार राज्यमन्त्री हराएको सूचना

२० दिनभित्र काम सुरु नगरे कालो सूचीमा राख्ने चेतावनी


निर्माण व्यवसायी तथा ऊर्जा, जलस्रोत र सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ

कुलेन्द्र शाही, सुर्खेत । कर्णालीको राजधानी सुर्खेतका प्रमुख सडक निर्माण कार्यहरूमा ढिलाइ र अपूर्णता रहेका छन् । जसका कारण स्थानीय नागरिक र सार्वजनिक निकायहरू निराश बनेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कर्णाली प्रदेश सरकारसँग सम्झौता गरेका निर्माण व्यवसायी तथा ऊर्जा, जलस्रोत र सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङका निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनले १५ वटा सडकका कामलाई अलपत्र पारेको छ ।

मन्त्री तामाङको निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले यी सडकहरूको निर्माणका लागि १२ करोड ९४ लाखमा कालोपत्रे गर्ने ठेक्का पाएको थियो । तीमध्ये एउटाको कालोपत्रे गर्ने काम गरेको छ । खजुरा भित्री मोडेल कलेजदेखि उत्तरपश्चिम सडक–७३६ मिटरको उक्त सडकमा भने कालोपत्रे भएको छ । त्यसको रंगरोगन गर्ने काम बाँकी रहेको कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रजंग शाहीले बताए ।

६ वटा सडकको कामै सुरु भएन्
मन्त्री तामाङले पाएका १५ वटा सडकका ठेक्कामध्ये ६ वटाको त कामै नै सुरु भएको छैन् । निर्माण कम्पनीले १७ भदौ २०७८ मा पहिलो पटक सम्झौता गरेको थियो । तर ठेक्का सम्झौता गरेको लामो समय बितिसक्दा पनि ६ वटा सडकको कामै सुरु नहुनु दुःखद भएको निर्देशनालयका सूचना अधिकारी शाहीले जानकारी दिए ।

‘वीरेन्द्रनगर बजार क्षेत्रको सडक अपग्रडिङको ठेक्का पाएका थिए । उनले हालसम्म पनि ठेक्का पाएको काम निर्माण नगरेका कारणले उनको कम्पनीले पाएको निर्माणको काम २०८१ मंसिर २० पहिलो म्याद थपसहित सकिन लागेको उनले जानकारी दिए ।

निर्माण कम्पनीलाई चेतावनी
तामाङसँग प्रदेश सरकारले ठेक्का लिएका सडकको सम्झौता अनुसार काम गर्न निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तरगतको पूर्वाधार विकास निर्देशनालयले वीरेन्द्रनगरको गुरुयोजनाका सडक समयसिमामा नै काम सक्न निर्देशन दिएको हो ।

May be an image of blueprint and text

बिहीबार सूचना प्रकाशित गरेर निर्देशनालयले ठेक्कासँग सम्बन्धित निर्माण कम्पनीले सम्झौता अनुसारको निर्माण कार्य सम्पन्न नगरी सम्पर्क विहिन रहेको र लामो समयदेखि निर्माणस्थलमा कुनै पनि निर्माण कार्य गरिरहेको नपाइएको सन्दर्भमा निर्देशनालयद्वारा विभिन्न मितिमा म्यादभित्र कार्य सम्पन्न गर्न पटक–पटक मौखिक तथा लिखित रुपमा जानकारी गराउँदा समेत कार्य सम्पन्न गर्न अटेरी गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको निर्देशनालयको जनाएको छ ।

सम्झौता अनुसारको कार्य सम्पन्न गर्न निर्माण कम्पनीले आफैले पेश गरेको कार्यतालिका अनुसारको प्रगति हासिल नगरेको, निर्माण कार्य अलपत्र पारी चरम लापरवाही गरेको र कार्य सम्पन्न गर्न आवश्यक अग्रसरता र चासो नदेखाएको हुँदा सम्बन्धित निर्माण कम्पनीलाई तुरुन्त कार्य शुरु गरी म्यादभित्र कार्य सम्पन्न गर्न पटक पटक सूचना जारी गरेको पूर्वाधार विकास निर्देशनालयका सूचना अधिकारी शाहीले बताए ।

‘यसभन्दा पहिला पनि अन्य ठाउँका यो निर्माण कम्पनी कालोसूचीका परेको छ,’ उनले भने,‘अब उहाँ नेपाल सरकारको खरीद सम्झौता अनुसार काम गर्न आउनुहोला जस्तो मलाई लाग्दैन ।’ यो सूचनालाई बेवास्ता गरी कार्य सम्पन्न नगरेको अवस्थामा ठेक्का सम्झौताका शर्तहरु र प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने व्यहोरा यसै सूचनामार्फत जानकारी गराइएको छ ।

अलपत्र परेका सडकहरु
तामाङको निर्माण कम्पनीले अलपत्र पारेका सडकहरूको स्थिति गम्भीर छ । वीरेन्द्रनगर नगरपालिकाका १५ वटा सडक परियोजनामा काम सुरु नगरेका र केहीका काम असामान्य ढंगले रोकिएका छन् । कम्पनीले ठेक्का लिएका सडकमा नाला र ग्राभेल राखिएको छ । तर कालोपत्रे गर्ने कार्य पूरा भएको छैन ।

मन्त्री तामाङको निर्माण कम्पनीले सुर्खेतको वीरेन्द्रनगर डिभिजन वन कार्यालय अगाडिको १८१ मिटर सडक नाला र सब–बेसको काम मात्रै गरेर अलपत्र पारेको छ । खारखोली–टेलिकम चोक २२५ मिटरको सडक अहिलेसम्म नाला र सब–बेसको काम भए पनि बेस राखेर कालोपत्रे गर्ने काम अहिलेसम्म सुरु भएको छैन । यस्तै, खारखोली हटलाइन ३३४ मिटरको सडक पनि अलपत्र अवस्थामा छ ।

इत्रामखोलादेखि जिल्ला प्रहरी कार्यालय अगाडिको ४०० मिटरको सडकको दायाँतर्फ २०७ मिटर र बायाँतर्फ २९७ मिटर नालाको काम भएको छ । यस्तै, १५० मिटर जति सब–बेसको काम भएको छ भने बेस राखेर कालोपत्रे गर्न पूरै बाँकी छ । जिल्ला अदालत–मुख्यमन्त्री कार्यालय–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडिको ६३५ मिटर सडकको अहिलेसम्म नाला, २०० मिटर बेस राख्ने काम भएको छ भने ३५० मिटर ग्राभेल गरेर छाडिएको छ ।

यस्तै, प्रदेश प्रहरी कार्यालयदेखि खारखोली १११ मिटरको सडकमा नाला र सब–बेस निर्माणपछि अलपत्र पारिएको छ । कालिन्चोक–मिलनचोक ३८८ मिटरको सडकमा ३०० मिटर नाला, सब–बेस र बेस राखेर कालोपत्रे गर्न बाँकी छ । खजुरा भित्री मोडेल कलेजदेखि उत्तर पश्चिम ७३६ मिटरको सडक भने कालोपत्रे भएको छ । त्यसको रंगरोगन गर्ने काम बाँकी छ ।

गण्डकी लाइन सडक–मुख्य बजारभित्रको १२० मिटर सडकको अवस्था पनि उस्तै छ । यसमा १२० मिटर नाला, सब–बेसदेखि बेस राखेर कालोपत्रे गर्ने काम बाँकी छ । यस्तै, पूर्वाधार विकास निर्देशनालय अगाडिको सडक पनि अलपत्र अवस्थामा छ । २४० मिटरको उक्त सडकमा अहिलेसम्म नाला बनाउने र सब–बेसको कामबाहेक अरु भएको छैन ।

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अगाडिको २२० मिटरको सडकमा नाला र कालोपत्रे गर्न बाँकी छ । बस्नेत नर्सरीदेखि पुरानो वडा कार्यालयको ६३० मिटरको सडकको १८५ मिटर नाला दुवैतर्फ, १७६ मिटर सब–बेसको काम भएको छ भने त्यसबाहेक बेस राखेर कालोपत्रे गर्ने काम भएको छैन ।

यस्तै, महिला छात्रावासदेखि दैलेख रोड ४४० मिटरको सडकमा अहिलेसम्म ३६६ मिटर नालाको काम मात्रै भएको छ । बेस राखेर कालोपत्रे गर्न बाँकी छ । लालुपाते उत्तर २०० मिटर, कर्णाली राजमार्ग–सितलनगर १६० मिटरको सडक हालसम्म निर्माणको काम सुरु नै हुन नसकी अलपत्र परेका छन् ।

निर्माण कम्पनीलाई यदि काम पूरा गर्न मिति अनुसार असफल भएमा नेपाल सरकारको सार्वजनिक खरिद नियमावली अनुसार ०.५ प्रतिशत जति जरिवाना तिर्नुपर्ने छ । तर, कम्पनीका प्रतिनिधिहरूसँग सम्पर्क गर्ने प्रयास गर्दा उनीहरूले कुनै जवाफ दिन चाहेको छैनन् ।यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ । 

प्रकाशित मिति : २०८१ मंसिर २ गते आइतबार