२०८३ वैशाख १० , बिहीबार

महाबु गाउँपालिका अध्यक्षका लागि सात जनाले गराए मनोनयन दर्ता



दैलेख । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा सात दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा सात दलले मनोनयन दर्ता गरेका हुन्।मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेसबाट झलकबहादुर भण्डारी, एमालेबाट जंगबहादुर शाही, माओवादीबाट जंगबहादुर बराल, समाजवादीबाट जगत हमाल र रास्वपाबाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावत, नेमकिपाबाट दुर्गबहादुर मगर रहेका छन्। यस गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित लछुमन गुरुङको हृदयघातका कारण २०७९ माघ २७ गते निधन भएपछि अध्यक्ष पद खाली छ।

गुरुङले ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गरेका थिए। गुरुङले २ हजार ९ सय ७ मत प्राप्त गरेका थिए भने उपाध्यायले २ हजार ५ सय १९ मत प्राप्त गरेका थिए। नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठनबन्धनमा एकीकृत समाजवादीका जंगबहादुर शाही उम्मेदवार बनेका थिए। उनले २ हजार २ सय ६८ मत प्राप्त गरेका थिए। शाही मंगलबार मात्रै नेकपा एमालेमा फर्किएर उम्मेदवारी दर्ता गरेका छन्।

प्रकाशित मिति : २०८१ मंसिर २ गते आइतबार