
कुलेन्द्र शाही, सुर्खेत ।
आगामी मङ्सिर १६ गते हुने कर्णाली प्रदेशका ८ स्थानमा उपनिर्वाचनको तयारी तीव्र बनिरहेको छ । आइतबार उम्मेदवार दर्ताको दिनले उपनिर्वाचन हुने जिल्लाहरू सहरदेखि गाउँसम्मको राजनीतिक माहौललाई तात्तातो बनाइदिएको छ । प्रमुख दलहरूसहित स्वतन्त्र उम्मेदवारहरूको भिडले निर्वाचन अधिकृतका कार्यालयहरूमा चहलपहल बढाएको थियो ।
नेपाली काँग्रेस, नेकपा एमाले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवार मनोनयन दर्ता गरे । यहाँ साना दलहरूले समेत मनोनयन दर्ता गराएका छन् । जसबाट उपनिर्वाचनको रौनक बढेको छ ।
कहाँ कसको उम्मेदवारी ?
दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदका लागि ७ वटा दलले मनोनयन दर्ता गराएका छन् । आइतबार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एस), राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नेपाल मजदुर किसान पार्टीले मनोनयन दर्ता गराएका हुन् । नेपाली काँग्रेसबाट झलकबहादुर भण्डारी, नेकपा एमालेबाट जङ्गबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट जङ्गबहादुर बराल, नेकपा एकीकृत समाजवादीबाट जगत हमाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश बुढा राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगरले उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि नेपाली काँग्रेसबाट निर्वाचित महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङको २०७९ माघ २७ गते मृत्यु भएको हो । यस्तै जाजरकोट नलगाड नगरपालिका उपप्रमुख पदका लागि पनि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । नलगाडमा एमालेबाट सुनिता बोहरा, नेपाली काँग्रेसबाट उपप्रमुखमा इन्द्रा चन्द सिंह, माओवादीबाट देवका लामिछाने, राप्रपाबाट सुनिता पुन रावल, रास्वपाबाट पार्वती पुन र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीबाट पवित्रा जैसीको उम्मेदवारी दर्ता भएको छ ।
यहाँ २०८० कार्तिक १७ गते जाजरकोट केन्द्र बिन्दु भएर आएको भूकम्पमा परेर सरिता सिंहको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । जाजरकोटको कुशे गाउँपालिका–७, को वडाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेबाट डम्बरबहादुर घर्ती, काँग्रेसबाट खम्बबहादुर सिंह, माओवादीबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्रीको उम्मेदवारी दर्ता भएको हो । दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
काँग्रेसबाट रेशम बहादुर शाही, एमालेबाट लालबहादुर शाही, माओवादीकाबाट ढकेन्द्र शाही, राप्रपाबाट रेशमकुमार मल्ल, रास्वपाका रामबहादुर शाही र नेमकिपाबाट पुराणप्रसाद उपाध्यायको उम्मेदवारी दर्ता भएको छ । यस्तै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
यहाँ एकीकृत समाजवादीबाट ज्योति घर्ती, एमालेबाट नरबहादुर रोका, माओवादीबाट नरबहादुर झाक्री र काँग्रेसबाट राजेन्द्र प्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । यसै गरी कालिकोटको तिलागुफा नगरपालिका ४ वडाध्यक्ष पदको उपनिर्वाचनका ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्ष पदका लागि विभिन्न राजनीतिक दलका ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
वडाध्यक्ष पदका नेकपा एमालेबाट ऐनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट खड्कबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गगन बम, राप्रपाबाट गोगनबहादुर शाही, माओवादी केन्द्रबाट नैसोभा शाही र नेपाली काँग्रेसतर्फबाट पैलबहादुर शाहीले उम्मेदवारी दर्ता गराएको हुन् । तिलागुफा नगरपालिका वडा नम्बर–४ मा वडाध्यक्ष परबहादुर शाहीको निधन भएपछि उनको ठाउँमा माओवादी केन्द्रले शाहीको धर्मपत्नी नौसोभालाई उम्मेदवार बनाएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र रास्वपाका पाँच जनाले उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । काँग्रेसबाट सबिता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमल्सेना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संगीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँचु बुढाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–५, को वडाध्यक्ष पदका लागि तीन दल र एक स्वतन्त्र गरी चार जनाको उम्मेदवारी दर्ता भएको छ ।
माओवादीबाट जसिराम बस्नेत, काँग्रेसबाट मोतीराम खत्री, एकीकृत समाजवादीबाट हंसराज पुरी र स्वतन्त्रबाट वीर बहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय तह उपनिर्वाचनमा राप्रपाले सबै स्थानमा उम्मेदवारी दिएको छ । राप्रपाले उपनिर्वाचन हुने सबै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यस्तै कर्णालीका सबै ठाउँमा शान्त रूपमा मनोनयन दर्ता भएको छ ।
पार्टी प्रवेशदेखि स्थानीय तहमा पराजितको उम्मेदवारी
आइतबार पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि पार्टी छोडेदेखि २०७९ को निर्वाचनमा पराजित भएकाले मनोनयन गरेका छन् । दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनका लागि नेकपा एमालेले जङ्गबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । शाही मङ्गलवार मात्रै एमालेमा प्रवेश गरेका हुन् ।
उनी यसअघि नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य समेत रहेका थिए । उम्मेदवार बनेका शाही पूर्व एमाले नै हुन् । ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट सोही गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर पाँच वर्ष चलाइसकेका हुन् । यद्यपि तत्कालीन एमाले विभाजन हुँदा अध्यक्ष भइरहेकै बेला उनी माधवकुमार नेपाल नेतृत्वको समाजवादीतिर लागेका थिए ।
यस्तै ०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा समाजवादीबाट उम्मेदवार पनि बने । यद्यपि उनी पराजित भए । यस्तै माओवादीबाट उम्मेदवार बनेका बराल भने यसअघि ०७४ मै सोही पदमा पराजित व्यक्ति हुन् ।
आज उजुरी दिन सकिने
निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचन कार्यसूची अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । आयोगका अनुसार उजुरीमाथि छानबिन मङ्सिर ४ गते गरिनेछ । उजुरीमाथिको छानबिनपछि उम्मेदवारको नामावली सोही दिन प्रकाशन गरिने तालिका छ । त्यसै गरी उम्मेदवारको नाम फिर्ता लिने मङ्सिर ५ गते र उम्मेदवारको अन्तिम नामावली सोही दिन प्रकाशन गरेर उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।