सुर्खेत । आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारविरुद्ध कसैको पनि उजुरी परेको छैन् । २ मंसिर (हिजो) भएको उम्मेदवारको मनोनयन दर्ताविरुद्ध उजुरीका लागि आज समय तोकिएको थियो । ३ बजेसम्मका लागि तोकिएको समयावधिमा कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मंसिर २ गते आइतबार यहाँ ६ जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गरे पनि उम्मेदवारको मनोनयप्रति कसैको पनि उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरे खबरदृष्टिलाई जानकारी दिए । अधिकृत घिमिरेले खबरदृष्टिलाई भने, ‘मनोनयन दर्ता भइसकेका उम्मेदवारहरूको मनोनयनप्रति कुनै उजुरी परेको छैन्। अब आगामी मंसिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ।’
यहाँ एमालेबाट सुनिता बोहरा, नेपाली काँग्रेसबाट उपप्रमुखमा इन्द्रा चन्द सिंह, माओवादीबाट देवका लामिछाने, राप्रपाबाट सुनिता पुन रावल, रास्वपाबाट पार्वती पुन र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीबाट पवित्रा जैसीको उम्मेदवारी दर्ता भएको छ । २०८० कार्तिक १७ गते जाजरकोट केन्द्र बिन्दु भएर आएको भूकम्पमा परेर नलगाडकी उपप्रमुख सरिता सिंहको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।