
कुलेन्द्र शाही, सुर्खेत । नेपालको शिक्षा प्रणालीमा व्यापक सुधारको प्रयास भइरहेका छन् । तर जुम्लाको एउटा यस्तो गाउँ छ, जहाँ गाउँमै एक जना पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) पास भएको नागरिक छैन । जुम्लाको तातोपानी गाउँपालिकास्थित गोप्थाडा गाउँ, जहाँ अहिले पनि एसइई पास गरेका कुनै नागरिक छैनन् । यो गाउँका विद्यार्थीहरूका लागि शिक्षा हासिल गर्ने बाटो अझै कठिन छ र गाउँलेहरूको भविष्य चिन्ताजनक बनेको छ ।
गोप्थाडा गाउँ, जो तातोपानी गाउँपालिकाको वडा नम्बर २ मा अवस्थित छ । २७ घरधुरीको बसोबास रहेको यो गाउँमा एक जना पनि माध्यमिक शिक्षा एसइई पास भएको नागरिक छैनन् । यहाँ डाँगी, बुढा रावल थरका करिब १ सय २० जना मानिस बसोबास गर्दै आएका छन् । एसइई पास गरेकी तीन जना महिला मात्रै बिहे गरेर उक्त गाउँमा गएकी छिन् ।
तातोपानी गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रमान बुढाले बाहिरदेखि बिहे गरेर आएकी तीन जना महिला शितली बुढा, साधना महत र कोपिला कठायतले मात्रै एसइई पास गरेको बताए । यहाँका विद्यार्थीहरू कक्षा ३ सम्मको अध्ययन मात्र स्थानीय विद्यालयमा पुरा गर्छन् । त्यसपछि, तातोपानीको हिमशिखर माविमा अध्ययन गर्नका लागि विद्यार्थीहरू जानुपर्ने भएता पनि यहाँका विद्यार्थीहरूको संख्या सीमित छ र सबैले अध्ययनको सिलसिला जारी राख्न सकिरहेका छैनन् ।
विद्यालय छन्, विद्यार्थी पढ्न चाहँदैनन्
स्मरण रहोस् गोप्थाडा गाउँमा विद्यालय नभएर यहाँका मानिस पढ्न नआएका होइनन् । यहाँ आधारभूत विद्यालयसहित गाउँ नजिकै माध्यमिक विद्यालय पनि छन् । तर विद्यालय भए पनि यहाँका नागरिक विद्यालयमा गएर पढ्नमा जागरूक देखिँदैनन् । वडाध्यक्ष बुढाले गाउँमा विद्यालय भए पनि यहाँका विद्यार्थीहरू आफै पढ्न नचाहेको बताए । उनले गाउँमै आधारभूत र मावि विद्यालय हुँदा पनि कसैले पढ्नमा चासो नदेखाएको गुनासो गरे ।
अधिकांश परिवारका सदस्यहरू भारत जाने र पैसा कमाउने प्रक्रियामा व्यस्त छन् । जसले गर्दा पढाइप्रति चासो घट्दै गएको छ । ‘विद्यालय पनि छन् पढौँ भने विद्यार्थी पनि छन्, तर यहाँका मानिस भारत जाने पैसा कमाउने तर पढ्नमा चासो नदिने गर्छन् ।’ उनले भने, ‘यहाँका अभिभावकहरू पनि बच्चाहरूलाई पढ्नको लागि प्रेरित गर्दैनन् ।’ उनकाअनुसार यहाँका विद्यार्थी कक्षा १० मा पढ्ने तर परीक्षामा फेल भएपछि पढाइलाई बिचैमै छाड्ने गरेकाले गाउँमा एक जना पनि १० कक्षा पास गरेको मानिस नभेटिएका हुन् ।
वडाध्यक्ष बुढाका अनुसार धेरै प्रयासका बाबजुद पनि यहाँबाट एसइई पास गरेको एक जना पनि छैन । ‘विद्यार्थीहरू अध्ययनका लागि तातोपानी जान्छन्, तर धेरैजसो ८ र ९ कक्षामा पढ्न छोडेर फर्किन्छन् । यहाँको अवस्था यस्तो छ कि हाम्रो गाउँ एसइई पास नगर्ने गाउँका रूपमा चिनिनु परेको छ,’ उनले भने । वडाध्यक्ष बुढाले आगामी दिनहरूमा एसइई परीक्षा दिने विद्यार्थीहरूको लागि निःशुल्क ट्युसनको व्यवस्था गर्ने योजना बनाएको बताए । त्यसका लागि गाउँपालिकाबाट ५ लाख बढी रकम बजेट छुट्टाएको उनले जानकारी दिए ।
वडा सदस्य नै छैनन् एसइई पास
यो गाउँका लागि यो समस्या केवल विद्यार्थीहरूको मात्र होइन, बरु गाउँको प्रतिनिधि पनि यसै समस्याबाट अछुतो छैनन् । गोप्थडा गाउँबाट प्रत्येक निर्वाचनमा एक जना प्रतिनिधि निर्वाचित हुने परम्परा रहेको छ । २०७९ को निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा बखत बहादुर डाँगी निर्वाचित भएका थिए ।
वडा सदस्य डाँगीले समेत एसइई पास गरेका छैनन् । स्थानीयका अनुसार डाँगीले कक्षा ७ सम्म अध्ययन गरेका थिए र त्यसपछि पढाइ छोडेर अन्य काममा संलग्न भएका थिए । डाँगीले भने आफ्नो पढाइको बारेमा सिद्धदर्शन दैनिकलाई जानकारी दिन चाहेनन् । तर, उनले गाउँका अन्य बालबालिकाहरूलाई राम्रो शिक्षा प्राप्त होस् भन्ने चाहना व्यक्त गरे ।
“गाउँमा पढ्नको लागि प्रेरणा दिने कुनै चेतना छैन । आर्थिक अभाव पनि छैन, तर कक्षा १० सम्म पढेर पनि विद्यार्थीहरू परीक्षामा फेल भए पनि फेरि पढ्न चाहँदैनन् । तिनीहरू भारत वा अन्य देशमा जान चाहन्छन्,’ वडा सदस्य डाँगीले भने । गोप्थडा गाउँमा शिक्षा र जागरूकता अभावका कारण स्थानीय सरकारका प्रतिनिधिहरूको समेत शैक्षिक स्तर कमजोर भएको देखिन्छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।