कुलेन्द्र शाही, सुर्खेत । आगामी मंसिर १६ गते स्थानीय तहका रिक्त ४१ पदका लागि निर्वाचन हुँदैछ । ४४ ठाउँमा चुनाव हुने भनिए पनि आइतबार मनोनयन भएका तीन ठाउँमा सर्वसम्मत चयन भइसकेकाले ४१ पदमा मात्र चुनाव हुने छ । जसमा कर्णालीका ८ स्थानमा उपनिर्वाचन हुँदै छ । कर्णालीमा दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।
यस्तै, कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५, जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७, दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ र रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । कर्णालीमा विशेष गरी सबै ठाउँमा रोचक भिडन्त हुने देखिएको छ ।
दैलेखको महाबु गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका र हुम्लाको सर्केगाड गाउँपालिकामा दलहरूबीच विरासत जोगाउने र तोड्ने प्रतिस्पर्धा निकै बेजोडले चलिरहेको छ । २०७९ मा दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित हासिल गरेको नेपाली कांग्रेसलाई उपनिर्वाचनमा विरासत जोगाउनै मुस्किल देखिन्छ ।
जाजरकोटमा विरासतको लडाइँ
जाजरकोटको नलगाड नगरपालिकामा पनि विरासतकै लडाइँ छ । नलगाडमा २०७९ मा कांग्रेस–माओवादीबीच गठबन्धन भएको थियो । उक्त गठबन्धनको भागवण्डाअनुसार नगर प्रमुख माओवादीले पाएको थियो भने उपप्रमुख कांग्रेसको भाग परेको थियो । कांग्रेसबाट उपप्रमुखमा निर्वाचित भएकी सरिता सिंहले ५ हजार ४ सय ६ मत प्राप्त गरी एमालेका सुनिता बोहोरालाई हराएकी थिइन् ।
बोहोराले ३ हजार ३ सय ९३ मत प्राप्त गरेकी थिइन् । १३ वटा वडामध्ये माओवादीले पाँच, कांग्रेसले चार, एमालेले तीन र एक स्वतन्त्रले जितेका थिए । कांग्रेस–माओवादीको गठबन्धनलाई चुनौती दिएको एमालेले यसपटक दुवै दललाई हराउने रणनीतिका साथ चुनावी मैदानमा होमिएको छ । तीन दल एक्लाएक्लै लड्दा कांग्रेस पुनः उपप्रमुख लिने दाउमा छ भने माओवादी प्रमुखसँगै उपप्रमुखमा जित निकाल्ने रणनीतिमा छ ।
एमाले दुवै दलको विरासत तोडेर पहिलोपटक जित निकाल्ने दाउमा लागेको छ । २०७४ को निर्वाचनमा माओवादीका टेकबहादुर रावलले ३ हजार ४ सय १८ मतका साथ कांग्रेसका छवि पन्तलाई नलगाडको प्रमुखमा हराएका थिए । पन्तले २ हजार ८ सय ८९ मत प्राप्त गरेका थिए । उतिबेला उपप्रमुख पनि माओवादीले जितेको थियो ।
१३ वडामध्ये सात माओवादी, चार एमाले र दुई वडामा कांग्रेसले जितेको थियो । २०७९ मा आइपुग्दा माओवादीले दुई, एमालेले एक वडा गुमाएको छ भने कांग्रेसले दुई वडा थपेको छ । यो परिणामलाई विश्लेषण गर्ने हो भने नलगाडमा माओवादी बलियो देखिए पनि तीनै दलबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । नलगाडको उपप्रमुखका लागि ६ जना चुनावी मैदानमा छन्, जसमा कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, माओवादीबाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, नेपाल समाजवादीबाट पवित्रा जैसी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन रहेका छन् ।
महाबुमा रोचक भिडन्त
महाबु गाउँपालिकाको अध्यक्ष पदमा एमालेले जंगबहादुर शाहीलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले झलककुमार भण्डारी र माओवादी केन्द्रले जंगबहादुर बराल मगरलाई मैदानमा उतारेको छ । एमाले विभाजन पछि एकीकृत समाजवादीमा लागेका शाहीलाई एमालेले पार्टीमा भित्राएर उम्मेदवार बनाउनुले काँग्रेसलाई यस पटक महाबु जोगाउन चुनौती देखिने आँकडा गरिएको छ ।
०७९ मंसिर २९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा महाबुमा राजनीतिक दलहरू एक्ला–एक्लै चुनावी मैदानमा होमिएका थिए । अध्यक्षमा काँग्रेसका लछुमन गुरुङ्गले २ हजार ९ सय ७९ मत प्राप्त गर्दै निर्वाचित हुँदा एमालेका हरिप्रसाद उपाध्याय २ हजार ५ सय १९ दोस्रो भएका थिए भने समाजवादीका जङ्गबहादुर शाही तेस्रो स्थानमा रहँदै २ हजार २ सय ६८ मत प्राप्त गरेका थिए ।
तत्कालीन स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका शाही र एमालेबाट उम्मेदवार बनेका उपाध्यायले प्राप्त गरेको मतलाई हेर्ने हो भने काँग्रेसलाई यस पटक महाबु जोगाउन चुनौती रहेको तथ्य सहजै केलाउन सकिन्छ । २९ मंसिर २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेका उपाध्याय र समाजवादीका शाहीले प्राप्त गरेको मत ४ हजार ७ सय ८७ हुन्छ ।
काँग्रेसका तर्फबाट महाबुको उपनिर्वाचनमा चुनावी मैदानमा होमिएका झलकबहादुर भण्डारीको जनमत समेत राम्रो रहेको काँग्रेस नेताहरूको भनाई छ । युवा माझ लोकप्रिय रहेका भण्डारीले उपनिर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्न मजवुद जनपरिचालन गर्दै आएका छन् । एमालेले समाजवादीका नेतालाई पार्टीमा भित्राएर उम्मेदवार बनाउनुले एमाले कार्यकर्तामा देखिएको निराशाको पाइदा काँग्रेसले लिन सक्ने देखिन्छ ।
यस पटकको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले समेत उम्मेदवारी दिएको छ । पुराना राजनीतिक दलले जनताको अवस्था बदल्न नसकेका भन्दै (रास्वपा)ले युवा माझ लोकप्रिय रहेका प्रकाश कुमार बुढालाई उम्मेदवार बनाएको हो । माओवादी (केन्द्र)ले जङ्गबहादुर बराल मगर, राष्टिय प्रजातन्त्र पार्टीले सुर्जे रावत, नेपाल मजदुर किसान पार्टीले दुर्गबहादुर मगर र नेकपा एकीकृत समाजवादीबाट जगतबहादुर हमाल उम्मेदवार छन् ।
सर्केगाडमा माओवादीलाई चुनौती
सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, र रास्वपाका उम्मेदवार प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा माओवादीका चन्द्रसिंह कार्की ३,२६९ मतसहित विजयी हुँदा एमालेकी जुनकुमारी फडेराले १,०६४ मत पाएकी थिइन् । यसपटक माओवादीको जनाधार जोगिने वा घट्ने भन्ने चासो छ । यहाँ माओवादीलाई कांग्रेस र एमालेका कारण चुनौती छ ।
कांग्रेस–माओवादी गठबन्धनबाट उपाध्यक्ष पदमा विजयी भएको माओवादीका लागि एक्लाएक्लै निर्वाचनमा जाँदा कांग्रेस–एमाले नै चुनौती बनेका छन् । २०७४ को निर्वाचनमा सर्केगाडमा एमाले–माओवादी गठबन्धन भएको थियो, जसमा एमालेले अध्यक्षमा माओवादीलाई र माओवादीले उपाध्यक्षमा एमालेलाई सघाएको थियो ।
२०७४ र २०७९ मा पालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धन भए पनि वडामा भने तीनै दलबीच प्रतिस्पर्धा भएको देखिन्छ । यद्यपि, २०७४ मा एमाले–माओवादीबीच गठबन्धन हुँदा माओवादी र कांग्रेसका उम्मेदवारले पाएको मतपरिणामलाई हेर्ने हो भने सर्केगाडमा कांग्रेस बलियो देखिन्छ । सर्केगाडको उपाध्यक्षका लागि दुई स्वतन्त्रसहित सात जना चुनावी मैदानमा छन् ।
तिलागुफामा र सानीभेरीमा माओवादीको सम्भावना
तिलागुफा नगरपालिका–४ मा माओवादी केन्द्रका परबहादुर शाही अघिल्लो पटक २३४ मतसहित विजयी भएका थिए । कांग्रेस र एमालेको कमजोर उपस्थिति देखिएको यस क्षेत्रमा यसपटक पनि माओवादीले अग्रता कायम गर्ने सम्भावना देखिन्छ । यस्तै रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ मा यसअघि कांग्रेसले अल बहादुर खत्रीलाई विजयी गराएको थियो ।
माओवादी केन्द्रले नजिकको चुनौती दिएको यस क्षेत्रमा यसपटक एमालेले पनि उम्मेदवारी दिएको छ । एमालेको सहभागिताले कांग्रेसलाई चुनौती थपिएको छ । यहाँ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को बिचमा प्रतिश्पर्धा हुने भएको छ । वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका नेकपा (एकिकृत समाजवादी) का हंशराज पुरी र स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका वीरबहादुर बस्नेतले उम्मेवारी फिर्ता लिएपछि कांग्रेस र माओवादी केन्द्रकै उम्मेदवार बिच प्रतिश्पर्धा हुने भएको हो ।
नेपाली कांग्रेसका उम्मेदवारलाई नेकपा (एमाले) र जनता समाजवादी पार्टीको समर्थन रहेको बताईएको छ । त्यसैगरी माओवादी केन्द्रका उम्मेदवारलाई नेकपा (एकिकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले समर्थन गर्ने जनाईएको छ । यी तीन दल बिच समाजवादी मोर्चा समेत गठन भएर क्रियाशिल रहेको छ ।
उम्मेदवारहरु मतदातासँग सघन भेटघाटमा
दिनहुँ जसो चुनावी घोषणापत्र बोकेर उम्मेदवारहरू मतदातालाई आफ्नो पक्षमा पार्नमा व्यस्त छन् । अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिन्हसमेत पाएपछि कर्णालीका उपनिवार्चन हुने स्थानका उम्मेदवार मतदातासँग सघन भेटघाटमा छन् । यहाँ घरघरमा उम्मेदवार र समर्थकहरू पुग्न थालेका हुन् । सबै उम्मेदवार एकपछि अर्को गर्दै घरघरमा मतदातासँग भेट्ने क्रम बढेसँगै कर्णालीमा अहिले चुनावी वातावरण तातेको छ । मङ्सिर १६ गते हुने मतदान तालिकाको निर्वाचनमा दल र स्वतन्त्र उम्मेदवारी दिएका सबै आ–आफ्नो जितको दाबी गर्दै छन् । उम्मेदवार लगायत पार्टीमा आवद्ध नेताहरु उपनिर्वाचन केन्द्रित छन् । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।