२०८३ वैशाख ९ , बुधबार

स्थानीय तहले पहिचान गरेका योजना कार्यान्वयन गर्ने तर्फ लाग्छु : मुख्यमन्त्री कँडेल



जुम्ला । कर्णली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो कार्यकालमा स्थानीय तहले पहिचान गरेका योजना कार्यान्वयन गर्ने बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् । मुख्यमन्त्री कँडेलले कर्णालीको आगामी विकासको योजना निर्माणका लागि जिल्ला यात्रामा रहेको बताए ।

उनले आगामी विकास योजना निर्माणका लागि कर्णालीका सुर्खेत बाहिरका जिल्लाको भ्रमण गर्न थालिएको बताए । उनले कर्णाली सम्भावनाको क्षेत्र भएको बताउँदै आगामी योजना निर्माणका लागि जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीसँग सुझाव संकलन गरिरहेको जानकारी दिए । उनले कर्णालीको समग्र विकाका लागि राजनैतिक दलहरु समेत एकजुट भएर लाग्न आवश्यक रहेको बताए ।

उनले जुम्ला सम्भावनाको जिल्ला भएको बताउँदै यहाँको स्याउको बजारीकरणका विषयमा कृषकसँग पनि छलफल कार्यक्रम राखिएको बताए । सो अवसरमा सञ्चारकर्मीहरुले मुख्यमन्त्री कँडेललाई कर्णालीमा बजेट कम, जिल्लाको माग अनुसारको नभइ प्रदेशले योजना पठाउने, कानुन मन्त्रालयलाई शाखाको रुपमा किन राख्नुभयो ? कर्णाली प्रदेशले यातायात ऐन कहिले बनाउँछ ? आम्दानी वृद्धिमा कहिले सोच्ने ? लगायतका प्रश्न सोधेका थिए ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले कर्णालीमा आम सञ्चार विधेयक छिट्टै अगाडि बढाउनुपर्ने बताए । उनले कर्णालीका पत्रकारलाई क्षमता अभिवृद्धि तालिम र लोककल्याणकारी विज्ञापन वितरण निरन्तर हुनुपर्नेमा जोड दिए । मुख्यमन्त्री कँडेलले सञ्चारकर्मीहरुले सोधेको प्रश्नको उत्तर दिँदै सञ्चारकर्मीको सूझाव तथा प्रश्नले समेत आगामी विकास योजना बनाउन सहयोग पुग्ने बताए । उनले आफ्नो सरकारले अघिल्लो सरकारले ‍‍ल्याएका योजनासमेत नबदलेको बताए ।

प्रकाशित मिति : २०८१ मंसिर ७ गते शुक्रबार