विनोद घिमिरे, (भेरीगंगा) सुर्खेतका चार पालिकामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइने भएको छ । ५ देखि ११ वर्षसम्मका सबै बालबालिकालाई कोभिड १९ विरुद्धको पेडियाट्रिक फाइजर खोप लगाउन लागिएको हो । वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, लेकबेशी नगरपालिका र गुर्भाकोट नगरपालिका गरी २४ हजार डोज खोप लगाइने भएको हो ।
स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा इपिक नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कोभिड १९ विरुद्धको पेडियाट्रिक फाईजर खोप अभियान जिल्लाका चार पालिकामा सञ्चालन हुन लागेको छ ।
यही मंसिर १६ देखी १८ गतेसम्म कोभिड-१९ विरुद्धको पेडियाट्रिक फाइजर खोप अभियान कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेश भक्त गौतमले जानकारी दिए ।
जसअन्तरगत वीरेन्द्रनगर नगरपालिकामा दश हजार डोज, भेरीगंगा र गुर्भाकोट नगरपालिका पाँच/पाँच हजार डोज लेकबेशी नगरपालिका चार हजार डोज खोप लगाइने भएको छ । त्यस्तै वीरेन्द्रनगरमा २४, भेरीगंगामा १८, गुर्भाकोटमा २० र लेकवेशीमा १३ वटा खोप केन्द्र पनि निधारण गरिएको छ । पहिलो मात्रा खोप लगाएका बालबालिकाले पनि यो खोप लगाउन सकिने इपिक नेपालका प्राविधिक तथा कार्यक्रम व्यवस्थापन विशेषज्ञ प्रदीप कुमार श्रेष्ठ जानकारी दिए ।
यस खोप अभियानमा जिल्ला खोप समन्वय समिति लगायत जनप्रतिनिधीहरु तथा शिक्षा क्षेत्रको पनि मुख्य भुमिका रहने बताइएको छ । कोभिड १९ को नयाँ भेरिएन्ट जे. एन. १ नेपालमा समेत देखा परिसकेको र यस अघि खोप कभरेज कम भएका जिल्ला तथा पालिकामा खोप अभियान संचालन गर्न परिवार कल्याण महाशाखाको समन्वयमा ब्यबस्थापन महाशाखाले फाईजर खोप पठाइसकेको छ ।