२०८३ वैशाख ९ , बुधबार

काम नगर्ने ठेकदारलाई मन्त्रालयमै बोलाएर दिइयो चेतावनी



सुर्खेत । कर्णालीमा ठेक्का लिएर काम अलपत्र पार्ने ठेकदारका कारण कर्णाली सरकारले हैरानी खेप्नु परेको छ । पटक–पटक काम गर्न ताकेदा गर्दा पनि ठेकदारले नटेरेपछि सरकार ठेकदार विरुद्ध एक्सनमा उत्रिएको छ । बुधबार काम नगर्ने ठेकदारलाई मन्त्रालयमै बोलाएर तत्काल काम नगरे कारबाही गरिने चेतावनी दिइएको हो ।

बर्षौदेखि ठेक्का लिएर काम नगर्ने अमर सिस्ने जेभी नेपालगञ्ज २ बाँके, पिएस निर्माण सेवा नौवस्ता ८ बाँके र बिरेन्द्र अमर निर्माण सेवा खरिचन्द्रपुर ३ बर्दियाका प्रोप्राईटर र प्रतिनिधिहरुलाई मन्त्रालयमै बोलाएर अन्तिम अवसर दिएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव इश्वर चन्द्र मरहट्टाले बताए । ‘काम गर्नका लागि निर्माण व्यावसायीलाई यो अन्तिम अवसर हो ।’ सचिव मरहट्टाले भने ‘यदि दिएको मितिमा काम थालनी नभए कानुनी रुपमा कारवाही हुन्छ ।’

भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाको संयोकत्वमा निर्माण व्यावसायी, मन्त्रालय र आयोजना रहेको जिल्ला जाजरकोटका कार्यालय प्रमुखबिच मन्त्रालयमा अन्तिम पटक छलफल भएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले बताए । ‘जनताको सेवाका लागि सरकारले विकास निर्माण गर्ने जिम्मा निर्माण व्यावसायीलाइ दिएको छ । मन्त्री बुढाले भने अनेक बहानामा निर्माण व्यवसायीले काम अलपत्र पार्दा जनताले दुःख पाइरहेका छन् ।’

उनले आयोजना अलपत्र पार्ने छुट नभएकोले काम नगर्ने निर्माण व्यावसायीलाई मन्त्रालयले कानुनी प्रकृयामा गएर कारवाही गर्ने बताए । मन्त्री बुढाले अब मन्त्रालयले हरेक जिल्लामा काम लिएर अलपत्र पार्ने निर्माण व्यावसायीसँग छलफल गरि अन्तिम निष्कर्ष निकाल्दै काम गराउने चेतावनी दिए । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पनि निर्माण व्यवसायीले काम गरे बजेटको कुनै समस्या नरहेको तर निर्माण व्यवसायीले नै काम ढिला गरेको बताइरहेका छन् ।

यता भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले पनि निर्माण व्यवसायीले काम गरे भुक्तानी दिन कुनै समस्या नरहेको दावी गरेको छ ।‘हालसम्म कुनै पनि निर्माण व्यवसायीको काम गरेर भुक्तानी रोकिएको रेकर्ड मन्त्रालयमा छैन ।’ मन्त्री बुढाले भने । अब मन्त्रालयले नियमित रुपमा निर्माण व्यवसायी र जिल्लाका कार्यालय प्रमुखसँग छलफल गरी समस्या र त्यसको समाधानको उपाय खोजेर विकास निर्माणको कामलाई तिव्रता दिने छ ।

प्रकाशित मिति : २०८१ मंसिर १२ गते बुधबार