२०८३ वैशाख १३ , आइतबार

८० लाख तिरेर अमेरिका पुगेका युवाको ज्यान गयो

शोक र ऋणको भारीमा परिवार


मृतक सुरेश केसी

सुर्खेत । ८० लाख खर्च गरेर अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पश्चिमका सुरेश केसीको दुर्घटनामा ज्यान गएपछि ऋण तिर्न नसक्ने अवस्थामा परिवार पुगेको छ । ११ महिनाअघि अमेरिका पुगेका आठबिसकोट नगरपालिका–७ औली गाउँका २१ वर्षिया सुरेशको दुर्घटना ज्यान गएपछि परिवार शोक र तनावमा छ । सुरेशले ११ महिनासम्म पठाएको केही पैसाले घर खर्च चल्यो ।

ब्याज तिर्न पुग्यो । तीन बहिनी र भाइलाई पढाउन मद्दत गर्यो । तर, अब त्यो सबै सपना गुम्यो । अझ ठूलो बोझ अमेरिका जाँदा लागेको ऋणको सावाँ कसरी तिर्ने भन्ने छ । भर्जिनियास्थित च्यान्टिलीमा गत बिहीबार राति भएको कार दुर्घटनामा सुरेशसँगै बर्दियाका विवेक सुवेदीको पनि ज्यान गयो । मधुवनका २२ वर्षीय विवेक छात्रवृत्ति पाएर अमेरिका पढ्न गएका थिए ।

मदिरा खाएर कार चलाउने चालक ३० वर्षिय विजय तामाङलाई भने सामान्य चोट मात्र लागेको छ । उनलाई ज्यान मुद्दामा त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ । यी दुईको मृत्युले परिवार र साथीभाइ मात्र होइन, नेपालभरका आप्रवासी युवाका सपनालाई समेत झस्काइदिएको छ ।

मदिराको लापरबाही, परिवारलाई भार
भर्जिनियाको समयअनुसार बिहीबार राति तीनै जना एक रेष्टुरेन्टमा मदिरा खाएर रमाइलो गरेका थिए । विजय तामाङले कारको स्टेरिङ सम्हालिरहेका थिए । सीटमा थिए, सुरेश र विवेक । मदिराले मातिएका विजयको नियन्त्रण गुम्दा कार राति १२ः३० मा सडक छेउमा ठोक्कियो । कारको पछाडिको भाग कच्याककुचुक भएको छ ।

तर, चालक विजयलाई सामान्य चोट मात्र लाग्दा बाँच्न सफल भए । कारभित्रका सुरेश विवेकको भने ज्यान गयो । चालक विजयलाई अमेरिकी प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उनीविरुद्ध मदिरा सेवन गरेर लापरबाहीले सवारी चलाउँदा दुईजनाको ज्यान जाने अभियोगमा मुद्दा चलिरहेको छ । तर, यो घटनाको सबैभन्दा ठूलो भार मृतकका परिवारले बोकिरहेका छन् ।

दलाललाई बुझाएका थिए ८० लाख
अमेरिका पुग्नका लागि सुरेशले दलाललाई ८० लाख बुझाएका थिए । ऋण लिन घर, जग्गा र सम्पत्ति सबै धितो राखिएको छ । तर, उनी अवैध बाटोबाटै सफल रुपमा अमेरिका पुगे पनि त्यहाँको सुनौलो जीवन सुरु गर्दागर्दै अस्ताए । रुकुम पश्चिममा रहेका सुरेशको परिवारमा अहिले आँसुको कुनै सीमा छैन । सुरेशका बुबा हरिबहादुर भन्छन्, ‘ठूलो ऋण काढेर ठूलो सपना बोकेर पठाएको छोराको अन्त्य यस्तो होला भन्ने कहिल्यै सोचेनौँ ।’

८० लाख रुपैयाँको ऋण तिर्ने सपना बोकेर अमेरिका गएका सुरेशले ११ महिनामा १४ लाख रुपैयाँ पठाएका थिए । परिवारले सोचिरहेको थियो, ‘बिस्तारै ऋण तिर्ने छ, अनि सबै ठिक हुनेछ ।’ त्यो ऋणको ब्याजसहित करोड पुग्न लागिसकेको छ । सुरेशको परिवारले गाउँभरि हात पसारेर उठाएका पैसा अब कर्जाको भार बनेर थिचिरहेको छ ।

सुरेशका आमाबुबाको लागि यो ऋण तिर्ने कुनै उपाय छैन । ‘हामीजस्ता मध्य वर्गीय परिवारको लागि यो करोडको ऋण तिर्नु भनेको पहाड उठाएजस्तै हो । छोरो त गयो, अब यो ऋणले हाम्रो जीवन पनि खाइदिन्छ,’ हरिबहादुर भन्छन् ।

८ महिनामा पुगेका थिए अमेरिका
सुरेश २०७९ फागुन १८ मा अमेरिका पुग्ने सपना बोकेर घरबाट हिँडेका थिए । तर, त्यो सपना पूरा हुन उनलाई झन्डै ८ महिना लाग्यो । यसबीच उनले दुबई, ब्राजिललगायतका देशमा महिनौँसम्म कठिन परिस्थितिमा बस्नुप¥यो । लामो र जोखिमपूर्ण यात्रा पार गर्दै, उनी अन्ततः २०८० मंसिर अन्तमा अमेरिकाको भूमिमा टेक्न सफल भए ।

उनका बुबा हरिबहादुर खत्रीका अनुसार, अमेरिका पुगेर सुरेशले एक रेष्टुरेन्टमा काम गर्न थालेका थिए । काम सुरु गरेको धेरै समय नभएको भए पनि उनले परिवारको आर्थिक भार कम गर्न थोरै–थोरै रकम घर पठाउन थालिसकेका थिए । सुरेशको परिवारमा बुबा हरिबहादुर, आमा, तीन जना बहिनी, र तीन वर्षका कान्छा भाइ छन् । ती सबैको सपना थियो कि सुरेशले विदेशमा राम्रो कमाइ गरेर घरको आर्थिक अवस्था सुधार्नेछ । तर, ती सपना उनको आकस्मिक निधनसँगै बिचल्लीमा परेका छन् ।

प्रकाशित मिति : २०८१ मंसिर १३ गते बिहीबार