दैलेख । मंसिर १६ गते दैलेखको महाबु गाउँपालिकामा हुने उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष पदका उम्मेदवार जगत हमालले नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाहीलाई समर्थन गरेका छन्। समाजवादी महाबु गाउँ कमिटीले समेत एक विज्ञप्ति जारी गर्दै एमालेका उम्मेदवार शाहीलाई समर्थन गरेको हो ।
एमालेका शाहीलाई समर्थन गर्दै हमालले महाबुको विकास र एमालेले अघि सारेको समृद्धिको नारालाई पूरा गर्न एमालेलाई मतदान गर्न आग्रह गरे। चुनावी अभियानमा केही दिनअघि महाबुमा रहेका एमाले दैलेखका अध्यक्ष सूर्यबहादुर शाहीले समाजवादी पार्टीबाट उम्मेदवार बनेका जगत हमालले एमालेका जंगबहादुर शाहीलाई समर्थन गरेसँगै महाबुमा एमाले विजयी हुने आधार बलियो बनेको दाबी गरे।
उपनिर्वाचनको मिति नजिकिँदै गर्दा समाजवादीका हमालले एमालेका शाहीलाई समर्थन गरेसँगै छ जना उम्मेदवार चुनावी मैदानमा छन्। छ जनामध्ये एमालेबाट जङ्गबहादुर शाही, नेपाली कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादी केन्द्रबाट जङ्गबहादुर बराल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा, नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर थापा मगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुजन कुमार रावत चुनावी मैदानमा होमिएका हुन्। उम्मेदवार उठाएका दलका केन्द्रीय नेताहरू चुनावी अभियानमा गाउँ–गाउँमा छन्।