काठमाडौं । निर्वाचन आयोगले मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने जनाएको छ। आयोगले आज एक विज्ञप्ति जारी गर्दै यही मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनको मतपरिणाम आयोगको वेबसाइटबाटै हेर्न सकिने जानकारी दिएको हो।
मतदान बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा हुने कार्यक्रम रहेको छ। ‘उक्त मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ, मतगणना परिणामबारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको छ,’विज्ञप्तिमा उल्लेख छ।
आयोगले उपनिर्वाचन हुने नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडाध्यक्ष ३३ गरी जम्मा ४१ पदको मतगणनाको परिणाम समय-समयमा आयोगको वेबसाइटमै अद्यावधिक गरिने जनाएको छ।