
सुर्खेत । आज (शनिबार) देखि कीर्तिपुरस्थित क्रिकेट मैदानमा घरेलु लिग नेपाल प्रिमियर लिग हुँदै छ । राष्ट्रिय तथा अन्ताराष्ट्रिय चर्चित खेलाडी रहने उक्त लिगमा विभिन्न विज्ञापनदाताको हानथाप रहेको छ । सर्वत्र चर्चा रहेको लिगलाई लिएर खेललाई प्रायोजन गर्ने विभिन्न क्लबलाई प्रायोजन गर्नेहरूको हानथाप भइरहेको छ ।
सिद्धार्थ बैंकले नेपाल प्रिमियर लिग (एनपिएल) को पाँच वर्ष मुख्य प्रायोजकका लागि नेपाल क्रिकेट संघ (क्यान) सँग सम्झौता गरिसकेको छ । केही हप्ताअघि नै क्यान र सिद्धार्थ बैंकबीच पाँच वर्षको एनपिएलको प्रायोजनका लागि सम्झौता भएको सार्वजनिक गरिएको थियो । त्यस्तै केही दिनपूर्व ओमोडा एन्ड जेइकु १५ मंसिरदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को सहप्रायोजक बनेको छ ।
एनपिएलको पहिलो संस्करणमा ओमोडा एन्ड जेइकु सहप्रायोजकको रूपमा रहने विषयमा नेपाल क्रिकेट संघ र ओमोडा एन्ड जेइकुबीच सम्झौता भएको थियो । खेलाडी वा खेलप्रेमीका लागि अर्को खुसीको कुरा पनि रहेको छ । देश तथा विदेशबाट आउने खेलाडीले गर्दा एनपिएलमा को उत्कृष्ट हुनेछन् भन्न सक्ने अवस्था छैन । तर नेपाली खेलाडीहरूमध्ये उत्कृष्ट हुनेले कार पुरस्कार पाउनेछन् । एनपिएलभर उत्कृष्ट प्रदर्शन गर्ने एक नेपाली खेलाडीले लिग सकिएपछि ओमोडा ई ५ कार प्राप्त गर्नेछन् ।
उक्त कारको मूल्य ६२ लाख रहेको छ । शारडा समूहले उक्त कार प्रदान गर्नेछ । लिगलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावरड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको छ। सम्पूर्ण खेलमा हानिने प्रत्येक चौकाबापत एनसेल फाउन्डेशनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई चारवटा शैक्षिक सामग्री प्रदान गर्ने जनाएको छ। यो पहलले विद्यार्थीको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ ।
त्यसैगरी डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै एनपिएलको पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । टिकट बिक्रीबाट प्राप्त हुने रकम क्यानको मुख्य आम्दानी हुनेछ । क्यानले आम्दानीको ५० प्रतिशत रकम भने आठवटा फ्रेञ्चाइज टोलीलाई बाँड्नेछ । त्यस्तै एक्सन स्पोर्ट्सको युट्युबमा एनपिएल लाइभ हुनेछ भने एनपिएलको पहिलो संस्करणको खेलहरू स्टार स्पोर्टमा देखाइनेछ ।
कर्णाली याक्सको प्रायोजकमा महिन्द्रा
एनपिएलसँग मात्र होइन विभिन्न ब्राण्ड विभिन्न क्लबसँग पनि जोडिएका छन् । तीमध्ये एक हो महिन्द्रा अग्नि गु्रप । उक्त गु्रप कर्णाली याक्सको मुख्य प्रायोजक रहेको छ । सोमपाल कामी मार्की खेलाडी रहेको उक्त क्लबमा शिखर धवन पनि रहेका छन् । जसका कारण कर्णालीको चर्चा व्यापक रहेको छ । यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको थियो । सिसन बानियाँ ‘युथ ब्रान्ड एम्बेस्डर’ नियुक्त भएका छन् ।
(एनपीएल) खेल्न भारतीय चर्चित क्रीकेटर शिखर धवन पनि नेपाल आइपुगेका छन् । कर्णाली याक्समा आबद्ध भएका धवन शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् । उनलाई स्वागत गर्न कर्णालीका अफिसियलहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । शिखरले कर्णालीबाट कम्तीमा ४ खेल खेल्नेछन् । उनले एक खेलको ३० हजार डलर पाउनेछन् । शिखर एनपीएलमा अनुबन्ध हुने सबैभन्दा ठूलो नाम हो ।
जनकपुरका खेलाडीलाई नगद १ लाख
यसैगरी जनकपुर बोल्ट्सका खेलाडीका लागि पनि खुशीको खबर छ । एनपिएलको उपाधि जितेमा मुख्य प्रायोजक एनडिए इन्टरनेशनलले जनकपुरका हरेक खेलाडीलाई नगद १ लाख प्रदान गर्ने घोषणा गरेको छ। यस्तै फाइनल पुगेका बोल्ट्सका खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन्। हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइसेन्सले नेपाल प्रिमियर लिग ९एनपिएल० टोली जनकपुर बोल्ट्सलाई प्रायोजन गरेको छ ।
आशिफ शेख मार्की खेलाडी रहेको क्लबले केही दिनअघि जनकपुरमा भएको जर्सी अनावरण कार्यक्रममार्फत पूजा महतोलाई ‘फेस अफ द बोल्ट्स’को रूपमा चिनाएको हो । सोही क्रममा उनलाई ५० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको थियो । पूजा महतो उनै हुन् जसको कप्तानी भर्खरै नेपाल यू(१९ विश्वकपमा छनोट भएको छ ।
सुदूरपश्चिमलाई सूर्य प्लाईको साथ
त्यस्तै सुदूरपश्चिम रोयल्सले स्ट्रेन्थ पार्टनरको रुपमा सूर्य प्लाईको साथ पाएको छ । दीपेन्द्रसिंह ऐरी मार्की रहेको क्बलको ओलम्पियन दीपक विष्ट ब्राण्ड एम्बेस्डर रहेका छन् । त्यसैगरी चितवन राइनोजको मुख्य प्रायोजकको रुपमा ब्लु स्टार जोडिएको छ । घरेलु सामग्री उत्पादक ब्लु स्टारका प्रतिनिधि प्रतीक पन्त र चितवन राइनोज टिमका अध्यक्ष आयुष न्यौपानेबीच सम्झौतामा हस्ताक्षर भइसकेको छ ।
कुशल मल्ल मार्की रहेको क्लबको चितवन राइनोजले समर्थकका लागि चितवन मेडिकल कलेजदेखि त्रिवि क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानदेखि चितवन मेडिकल कलेजसम्म दैनिक पाँचवटा निःशुल्क बसको व्यवस्था गरेको चितवन राइनोजले जनाएको छ । यो सेवा खेल हेर्नका लागि टिकट लिएका समर्थकहरूले लिन सक्ने र सबैलाई खाजाको व्यवस्था पनि गरिने चितवनले जनाएको छ ।
काठमाडौं गुर्खाजको प्रायोजकमा बिवाडी मोटर
त्यसैगरी काठमाडौं गुर्खाजको प्रमुख प्रायोजकमा बिवाडी मोटर रहेको छ। एनपिएलमा काठमाडौं गुर्खाजले आफ्नो जर्सीमा बिवाईडीको लोगो लगाएर खेल्नेछ। करण केसी मार्की खेलाडी रहेको क्बलको आफ्नो ब्राण्ड एम्बास्डरमा नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाई घोषणा गरेको छ ।
विराटनगरले जिते सरकारबाट ३० लाख उपहार
त्यस्तै विराटनगर किङ्सले उपाधि जिते ३० लाख पाउनेछ। कोशी प्रदेशले नगद ३० लाख दिने घोषणा गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किङ्सले एनपिएलको उपाधि जिते प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् । क्लबका मार्की खेलाडी हुन् सन्दीप लामिछाने भने नायक दयाहाङलाई ब्राण्ड एम्बास्डर हुन् ।
रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनी लायन्सले अभिनेता राजेश हमाललाई ब्राण्ड एम्बास्डर घोषणा गरेको छ भने कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्सले ब्राण्ड एम्बास्डरमा सन्दीप क्षेत्री अगाडि सारेको छ । खेल आज (मंसिर १५) गतेदेखि पुस ६ गतेसम्म चल्नेछ । ८ टोली रहेका लिगमा क्रिकेटप्रेमीका लागि मंसिर १५ गतेको प्रतीक्षा रहेको छ ।
राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली क्वालिफायरमा पुग्नेछन् । पहिलो क्वालिफायरमा पुग्ने दुवै टोलीबीच सीधै फाइनल प्रवेशका लागि पुस ३ गते प्रतिस्पर्धा हुनेछ । खेलको विजेता टोलीले सीधै फाइनलमा स्थान बनाउँदा पराजित टोलीले अंक तालिकाको तेस्रो र चौथौ स्थानमा रहने टोलीबीच हुने ‘एलिमिनेटर’ खेलको विजेतासँग खेल्नुपर्नेछ ।
अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीले पुस ३ गते नै ‘एलिमिनेटर’ खेल्नेछन् । ‘एलिमिनेटर’को विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित टोलीसँग खेल्नुपर्नेछ । करिब २१ दिन चल्ने खेलमा दर्शकले यसपालि अस्थायी प्यारापिटमा बस्ने सुविधा पाउनेछन् भने मैदानमा प्रवेश गर्नका लागि ६ वटा ‘जोन’ छुट्याइएको छ । त्यस्तै भीआईपी टिकट, भीभीआईपी लाउन्ज र ओनर्स लाउन्ज पनि निर्माण गरिएको छ ।