२०८३ वैशाख १७ , बिहीबार

जाजरकोटमा माटोको ढिस्कोले पुरिएर चार जना घाइते



फाइल तस्बिर

सुर्खेत । जाजरकोटमा सडक स्तरोन्नतिको काम गरिरहेका चार जना कामदार माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् । मध्यपहाडी लोकमार्गबाट जुनीचाँदे गाउँपालिका जोड्ने सडक स्तरोन्नति गर्ने क्रममा वडा नम्बर २ को देसीपाटा खण्डमा काम गरिरहेका कामदार माटोको ढिस्कोमा पुरिएका हुन् ।

शनिबार बिहान सडकको नाली बनाउनका लागि बालुवा निकाल्न लाग्दा माथिबाट माटोको ढिस्को खसेर चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाले पुष्टि गरे ।

ढिस्कोमा पुरिएर जुनीचाँदे गाउँपालिका–२ का ३२ वर्षीय रामबहादुर वड, सोही ठाउँकी २५ वर्षकी निर्मला शाही, २२ वर्षकी फूलमाया लुहार, ३५ वर्षका नरबहादुर वड रहेका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट पठाउने तयारी भइरहेको जुनीचाँदे–२ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ मंसिर १५ गते शनिबार