कुलेन्द्र शाही, सुर्खेत । आज (आइतबार)स्थानीय तहका रिक्त ४१ पदका लागि निर्वाचन सुरु भएको छ । ४४ ठाउँमा चुनाव हुने भनिए दुई हप्ता अगाडि मनोनयन भएका तीन ठाउँमा सर्वसम्मत चयन भइसकेकाले ४१ पदमा मात्र चुनाव हुन लागेको हो । जसमा कर्णालीका ८ स्थानमा उपनिर्वाचनको हुँदै छ । कर्णालीमा दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।
आज हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।
मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बरको परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ । तर त्यस्ता मतदाताको आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्नेछ ।
निर्वाचन सुरक्षामा असर नपर्नेगरी मतदाताको सहजताका लागि मतदानस्थलको निश्चित क्षेत्रबाहेक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको आयोगको भनाइ छ । मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न, मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको आयोगले जनाएको छ ।
आयोगले मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने/गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ । आयोगले मतदानमा अवाञ्छनीय प्रभाव पार्ने वा पार्न प्रयत्न गर्ने कार्य भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाध रूपमा सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशनसमेत दिएको छ ।
नलगाडमा १६ हजार मतदाता
जाजरकोटको नलगाडमा उपप्रमुख पदमा हुन लागेको उपनिर्वाचनको लागि १६ हजार मतदाता मतदानमा सहभागि हुन लागेका छन् । मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेका अनुसार यहाँ १६ हजार ४ सय ४९ जना मतदाताले मतदान गर्ने बताइएको छ । यस्तै यहाँ १६ मतदान स्थल र २४ मतदान केन्द्र तोकिएको छ ।
उपचुनाव हुने स्थानमा सार्वजनिक बिदा
आज उपचुनाव हुने पालिका र वडाहरुमा सार्वजनिक बिदा हुने भएको छ । सम्बन्धित पालिका र वडाहरुले सूचना निकालेर बिदाबारे जानकारी दिएका छन् ।
पालिका र वडाभित्र निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, शैक्षिक वा अरु प्रतिष्ठानमा पनि बिदा दिन भनिएको छ । यसअघि निर्वाचन आयोगले पालिकाको उपचुनावका लागि सम्बन्धित पालिकाहरुमा सार्वजनिक बिदा दिन आग्रह गरेको थियो ।
मतपरिणाम वेबसाइटमै हेर्न सकिने
निर्वाचन आयोगले मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने जनाएको छ । आयोगले यसअघि एक सुचना जारी गर्दै आज हुने स्थानीय तह उपनिर्वाचनको मतपरिणाम आयोगको वेबसाइटबाटै हेर्न सकिने जानकारी दिएको हो ।
मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुने आयोगले जनाएको छ । मतगणना परिणामबारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको आयोगको भनाइ छ ।