
सुर्खेत । चिसोको कारण उम्मेदवारका एजेण्टहरू ढिलो गरी मतदानस्थलमा आउँदा हिमाली जिल्ला हुम्लाका सबै स्थानमा मतदान कार्य निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको छ । निर्धारित समय आज आइतबार बिहान सात बजे भएपनि साढे सात बजेबाट केहीँ मतदान केन्द्रमा सुरु भएको र आठ बजेसम्म सबै मतदान केन्द्रमा मतदान कार्य सुरु भएको हो ।
सर्केगार्ड गाउँपालिका उपनिर्वाचनका लागि १३ मतदान केन्द्रबाट आइतबार बिहान साढे ७ र ८ बजेबाट मतदान कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रबिन्द्र खनालले जानकारी दिए।
उनका अनुसार एक दिन अगाडी नै मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेका थिए। जहाँ ७३ जना कर्मचारी र १७३ जना सुरक्षाकर्मी मतदान कार्यका लागि खटिएका छन्। यस्तै, उपाध्यक्षका लागि हुन लागेको उपनिर्वाचनमा ६ हजार ८१० मतदाता रहेका छन् भने ५ जना उम्मेदवार चुनावी मैदानमा छन्।