
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख र कुशे गाउँपालिका(७ को वडा अध्यक्ष पदका लागि मतदान जारी छ । उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि शान्तिपूर्ण रुपमा मतदान जारी छ । सो क्षेत्र अन्तर्गतका १८ ओटा मतदान केन्द्र छन् । मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेका अनुसार मतदान गर्न मतदाता बिहानैदेखि लामबद्ध छन् ।
शान्तिपूर्णरूपमा मतदान सुरु भएको उनले जानकारी दिए । मतदान साँझ ५ बजेसम्म जारी रहने छ । निर्वाचनका लागि सुरक्षा प्रबन्ध सुदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख निर्वाचन अधिकृत घिमिरेले आग्रह गरे । उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार सुनिता बोहराले सुर्योदय मावि नलगाड(३ कैनामा मतदान गरेकी छिन् ।
माओवादी केन्द्रको तर्फबाट उपप्रमुख पदका उम्मेदवार देवका लामीछानेले नलगाड ५ जुनि मावि सिर्के मतदान केन्द्रबाट मतदान गरेकी छिन् । नेपाली कांग्रेसकातर्फबाट उपप्रमुख पदका उम्मेदवार इन्द्राचन्द सिंहले नलगाड नगरपालिका–८ स्थित गणेश प्रावि मालुवा मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट उम्मेदवार पार्वती पुनले नलगाड(१ अनापानी मतदान गर्ने छिन् ।
मतदान सकिएपछि राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर मतपेटिका नलगाड नगरपालिका दल्ली ल्याइनेछ । कुशे गाउँपालिका केन्द्रमा मतगणना गरिने छ । जिल्लामा नलगडमा २४ मतदान केन्द्र र कुशेमा २ मतदान केन्द्र रहेका छन् । नलगाड नगरपालिका भित्र १६ हजार ४ सय ४८ मतदाताले मतदान गर्ने छन् । यता कुशे-७ मा १ हजार ३०२ मतदाता मतदाता रहेका छन् । नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको भूकम्पका कारण निधन भए पछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन गरिएको हो ।
उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखेर भेरी करिडोर नलगाड नगरपालिका खण्ड तथा स्थानीय सडकहरुमा सवारीसाधन पूर्णरूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ५ देखि साँझ ६ बजेसम्म सबै सडकमा यातायात सञ्चालनमा रोक लगाएको हो ।
एम्बुलेन्स, दूध बोक्ने सवारीसाधन, शववाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएका पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालन हुने जिल्ला प्रशासन जाजरकोटले जनाएको छ ।