हुम्ला । स्थानीय तह उपनिर्वाचनअन्तर्रगत मतदान कार्य ढिलो गरी सुरु भएको हिमाली जिल्ला हुम्लामा मत गणना कार्यमा पनि ढलाइ भएको छ। मतदान कार्य आइतबार साँझ ५ बजे नै सक्किएको भएपनि राति ११ बजे मात्र सर्केगाड गाउँपालिका केन्द्रमा मतपेटिका आइपुग्दा गणनामा समस्या भएको हो।
मुख्य निर्वाचन अधिकृत सम्भुप्रसाद बरालका अनुसार चिसो र भौगोलिक विकटताका कारण मतपेटिका समयमै आउन नसक्दा र उम्मेदवारका प्रतिनिधिहरूले पनि थकानले गर्दा हिजो मतगणना सुरु नगर्ने भनेका कारण मत गणना सुरु नभएको हो।
आइतबार दिउँसो करिब तीन बजेबाट हुम्लामा इन्टरनेट पनि छैन। इन्टरनेट नभएका कारण पनि मतगणना कार्य झनै प्रभावित बनेको छ। यतिबेला सर्वदलीय बैठक चलिरहेको छ। बैठकमा आज बिहान नौ बजेपछि मतगणना कार्य सुरु गर्ने विषयमा छलफल भइरहेको छ। हिजो मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा हुम्लामा जम्मा ४ हजार ५ सय २३ मत खसेको थियो।