२०८३ वैशाख २२ , मंगलबार

चौरजहारी विमानस्थल कालोपत्रेपछि बन्द

सर्वसाधारणहरु हवाई सेवाबाट बिमुख


कुलेन्द्र शाही, सुर्खेत । कच्ची हुँदा नियमित उडान भइरहेको चौरजहारी विमानस्थल स्तरोन्नतिपश्चात् लामो समयदेखि कामविहीन बनेको छ । तत्कालिन रुकुम, जाजरकोट, सल्यान र डोल्पा लगायतका जिल्लालाई लक्षित गरेर वि.सं. २०२८ सालबाट सञ्चालनामा आएको चौरजहारी विमानस्थल अहिले बन्द अवस्थामा रहेको हो । धावनमार्ग कच्ची हुँदा सञ्चालनमा रहेको विमानस्थल कालोपत्रे गरिएपछि बन्द भएको हो । सामान्य पूर्वाधारबाहेक विमानस्थल सञ्चालनका लागि रनवे (धावनमार्ग), टर्मिनल भवन र टावर अत्यावश्यक हुन्छ । निर्माण खर्च पनि यिनमै बढी लाग्छ ।

जग्गाबाहेक पूर्वाधारसँगै पाँच सय मिटर रनवे भएको विमानस्थल बनाउन ५० करोड रूपैयाँ हाराहारी लाग्छ । त्यस्तै एक हजार दुई सय मिटर रनवे भएको बनाउन एक अर्ब र एक हजार पाँच मिटरको रनवे भएको दुई अर्ब रूपैयाँ लाग्छ । हाल बन्द रहेको चौरजहारी विमानस्थलको रनवे पनि पाँच सय मिटर आसपास छ । चौरजहारी नगरपालिका–१ मा रहेको यो विमानस्थलमा २०७० फागुनदेखि २०७२ भदौसम्म धावनमार्गमा कालोपत्रको काम भएको थियो ।

पाँच करोड ५९ लाख ४९ हजार ९ सय ५२ रुपैयाँ लागतमा धावनमार्ग कालोपत्रे भएपछि यहाँ जहाज आउनै छोडेका छन् । कालोपत्रे भएपछि २०७६ सम्म आंशिक रूपमा विमानस्थल सञ्चालनमा आएपनि त्यस यता भने चौरजहारी विमानस्थलमा जहाज अवतरण नै भएका छैनन् । स्थापनाकालदेखि नै बेला–बेला खुल्ने र बन्द हुने गरेको विमानस्थल अब कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने टुँगो छैन ।

जहाज आउने आशमै छैनन् मेयर
चौरजहारी नगरपालिका नगर प्रमुख पुष्प वादीले चार दशकसम्म कच्ची धावनमार्गमा जहाज सञ्चालन भएको तर कालोपत्रेपछि बन्द हुनु दुर्भाग्य भएको बताए । राज्यको करोडौको लगानीको सदुपयोग नभएको र सर्वसाधारणहरु हवाई सेवाबाट बिमुख हुनुपरेको उनको भनाइ छ । उनले नेपाल वायु सेवा निगम र नागरिक उड्डयन प्राधिकरणको बारम्बार ध्यानाकर्षण गराएको भएपनि उनीको वेबास्ता भएको बताए ।

नीजि क्षेत्रका जहाज भएपनि सञ्चालन भएमा यहाँका सर्वसाधारण तथा बिरामीहरुलाई सहज हुने उनले बताए । प्रमुख वादीले आफुले यहाँ जहाज आउने आशासमेत नगरेको दाबी गरे । ‘जहाज आउँछ भन्ने आश पनि छैन्, कार्यालयमा एकजना कर्मचारी छन्, भएका अन्य कर्मचारी पनि मुसिकोटतिर अन्य ठाउँमा गए’ उनले भने, ‘ प्राधिकरणसँग बारम्बार खबर गरेपनि कुनै स्पष्ट जवाफ आएन् ।’

स्थानीयदेखि पर्यटनमा समस्या
जहाजको अभाव भन्दै उडान तालिका नै नराखेपछि विमानस्थल बन्द अवस्थामा पुगेको हो । नेपाल वायु सेवा निगम चौरजहारीका तत्कालिन निमित्त प्रमुख सुरेन्द्र नेपालीका अनुसार कालोपत्रेपछि छिटफुट उडान भएतापनि कोरोना महामारी सुरु हुँदा माथिल्लो निकायबाटै उडान बन्द गरिएको हो ।
उडानको तालिका नै कटौती गरेर नेपाल वायु सेवा निगमको पश्चिमाञ्चल केन्द्र नेपालगञ्जबाट आएको टोलीले कार्यालय समेत उठाएको उनले जानकारी दिए ।

धावनमार्ग कच्ची हुँदा चौरजहारीबाट नेपालगञ्ज र काठमाडौं हप्तामा एकएक दिन जडान हुँदै आएको थियो । जहाज आउन छोडेपछि विमानस्थल अहिले झाडीले घेरिएको छ । कालोपत्रे गरिएको धावनमार्ग बाहेक विमानस्थलको अधिकांश भाग अहिले झाडीले छोपिएको छ । विमानस्थल विस्तारै जंगल बन्न थालेको स्थानीयको दुःखेसो छ । जहाज नआउँदा कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको त्यहाँका स्थानीयबासीको भनाइ छ ।

यसका साथै बिरामीहरुलाई सुविधासम्पन्न अस्पतालमा समयमै लिन असहज समेत भइरहेको छ । नगरप्रमुख वादीले पनि विमानस्थल बन्द हुँदा यहाँका बिरामीहरुलाई टाढा रिफर गर्नमा समस्या भएको बताए । जहाज नआउँदा यहाँ भएका विभिन्न पर्यटक ठाउँ तथा गुफाहरु समेत ओझेलमा परेको गुनासो गरे । उनकाअनुसार मालिका गढी, चमेरो गुफा र वायु घट्ट जस्ता प्रमुख पर्यटक स्थलहरू अहिले ओझेलमा परेका छन् ।

प्रकाशित मिति : २०८१ मंसिर १९ गते बुधबार