२०८३ वैशाख २२ , मंगलबार

प्रादेशिक बृहत यौनिकता शिक्षा सम्मेलन सम्पन्न



सुर्खेत । कर्णाली प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत ‘हामी सवैको प्रतिवद्धता, लैंगिक हिंसा अन्त्यमा ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ कर्णाली प्रदेशमा विभिन्न सचेतनामुलक कार्यक्रमहरूको आयोजना भइरहेका छन् । यसै अभियानको एक भागका रूपमा वीरेन्द्रनगर, सुर्खेतमा ‘प्रादेशिक बृहत यौनिकता शिक्षा सम्मेलन २०८१’ सम्पन्न भएको छ ।

वीरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशसंगको समन्वय आवाज, राइट हिअर राइट नाउ, पन्चकोशी ज्वाला युवा प्रतिष्ठानसंगको सहकार्य, बाल विवाह विरुद्ध साझा अभियान सञ्जाल कर्णाली र सिडियस पार्कको संयुक्त आयोजनामा प्रादेशिक बृहत यौनिकता शिक्षा सम्मेलन २०८१ सम्पन्न गरिएको हो ।

कार्यक्रममा बृहत यौनिकता शिक्षा र यसको वर्तमान अवस्था, यसमा कर्णाली प्रदेशमा भएको अभाव, र यस अभावका कारण भएका नकारात्मक प्रभावहरूमा छलफल गरिएको थियो । सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका १६ देखि ३० वर्ष उमेर समुहका महिलाहरू, पुरुष, यौनिक र लैंगिक अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

बृहत यौनिकता शिक्षा र यसको अभावले कर्णालीमा ल्याएका परिणामहरू, मनोसामाजिक समस्याहरू, प्रदेश सरकारका प्रयास र आगामी कार्यगत रणनीतिहरूका विषयमा विस्तृत छलफल गरिएको बताइएको छ । साथै, प्रदेश सरकार, स्थानीय सरकार, नागरिक समाज र किशोर किशोरीहरूको भूमिकामा पनि ध्यान केन्द्रित गरिएको थियो ।

आवाजको कार्यकारी निर्देशक पवित्रा शाहीले कर्णालीमा यो विषयको व्यापकता कम भएको बताउँदै यस कार्यक्रमले यसलाई बढावा दिनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको बताइन् । सिडियस पार्कका कार्यकारी निर्देशक अज बहादुर शाहीले पनि बृहत यौनिकता शिक्षालाई प्रदेश र स्थानीय सरकारका नीति तथा कार्यक्रममा समेटेर युवा साझेदारीको रूपमा कार्य गर्नुपर्ने धारणा व्यक्त गरे ।

सम्मेलनमा सहभागीहरूसँगको छलफल पछि ९ बुंदे घोषणा पत्र निर्माण गरी सार्वजनिक गरिएको छ । उक्त ९ बुँदे घोषणा पत्र कर्णाली प्रदेश बाल संजालका संयोजक समिक्षा चौधरी र कर्णाली इन्द्रेणी आवाजको अध्यक्ष अन्जली विसीलेसामाजिक विकास मन्त्री घनश्याम भण्डारी र योजना आयोगका सदस्य सदस्य अशोकनाथ योगीलाई हस्तान्तरण गरेका थिए ।

यस अवसरमा बालिका र यौनिक तथा लैंगिक अल्पसंख्यकको समस्यामा पनि ध्यानाकर्षण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सामाजिक विकास मन्त्रालयले यो विषयलाई थप चासोका साथ ग्रहण गरेको बताए । उनले यो विषयमा नीति नै बनाएर काम गर्ने आश्वासन दिए ।

यस कार्यक्रमले कर्णाली प्रदेशमा बृहत यौनिकता शिक्षा प्रवर्द्धनका लागि नयाँ कदम चालेको छ । यसले कर्णालीका विभिन्न गाउँ र बस्तीहरूमा यौनिकता शिक्षा पुर्याउन र समाजमा लैंगिक हिंसा तथा भेदभावको अन्त्यमा मद्दत पुर्याउने अपेक्षाका साथ ६० जना युवा अभियन्ता जन्माएको छ । यो कर्णाली प्रदेशको पहिलो कार्यक्रमको रूपमा चिनिएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर १९ गते बुधबार