२०८३ वैशाख १० , बिहीबार
अपराधले आक्रान्त कर्णाली

सामान्य विवादलाई ठूलो ‘इस्यु’ बनाएर जघन्य हत्या

अधिकांश हत्या आफन्तबाटै !


कुलेन्द्र शाही, सुर्खेत । गत मंसिर ४ गते रुकुमपश्चिमको चौरजहारी नगरपालिका–२ मा एक महिलाले आफ्नै श्रीमानको हत्या गरिन् । ३२ वर्षीया दिपा कुमालले ४० वर्षीय मधु कुमालको टाउकोमा चिर्पटले हानेर हत्या गरेकी हुन् । घरायसी विवादको कारण दिपाले चिर्पटले हानेर मधुको हत्या गरेकी थिइन् । मृतकका १६ वर्षीय छोरा खिम कुमालले घटनाको जानकारी प्रहरीलाई दिएका थिए ।

उनीले दिएको जानकारीको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको थियो । उक्त प्रहरी टोलीले दिपा कुमाललाई पक्राउ गरेको थियो । गरेर अनुसन्धान गरेको थियो ।

घटना २
गत बैसाख ३० गते सल्यानमा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरे । वनगाड कुपिण्डे नगरपालिका–४ देउलीका अन्दाजी ३४ वर्षका मनोज वुढाले ३२ वर्षकी कमला वुढाको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्यापछि श्रीमानले पनि घर पछाडी दलिनमा झुन्डिएर आत्महत्या समेत गरेका थिए ।

घटना ३ 
गत  संसिर १० गते रुकुम पश्चिमकै आठबिसकबोटमा धारिलो हतियार चक्कु प्रहार गरेर छोराले आफ्नै बुबाको हत्या गरेका छन् । रुकुम पश्चिम प्रहरीका अनुसार आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् । बाबुछोराको सामान्य विवादमा वीरबहादुरले चक्कु प्रहार गरेर बुबाको हत्या गरेका थिए ।

घटना ४
२३ साउन २०८० मा सल्यानको शारदा नगरपालिका–१३ सल्यानचौरका २३ वर्षीय छोरा नवीन भण्डारीले ४८ वर्षीया आमा शारदाको लाठी प्रहार गरी हत्या गरे । आफ्नै घरको दोस्रो तलामा सुतिरहेकी आमा शारदालाई नवीनले लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । बुवाआमा सुतिरहेको समयमा छोराले आमालाई मात्रै लाठी प्रहार गरी हत्या गरेका थिए ।

माथि उल्लेखित हत्याका घटना उदाहरण मात्रै हुन् । कर्णालीमा यस्ता घटना दैनिक जसो भइरहने गर्छन् । कतिपय घटनाहरु प्रहरी सायु आएपनि केही घटनाहरु भने प्रहरीहरु सामु पुग्दैनन् । चालु आर्थिक वर्षको ५ महिनामा मात्रै कर्तव्य ज्यान मुद्धामा १० जना विरुद्ध उजुरी परेको छ । प्रहरीको अभिलेखअनुसार आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीका १० जिल्लामा ५१ घटना घटेका छन् ।

अधिकांश हत्या आफन्तबाटै !
कर्णालीमा हुने अधिकांश घटना आफन्तबाटै हुने गरेका छन् । माथि उल्लेखित घटना पनि आफ्नै परिवारबाट भएको पाइएको छ । घरपरिवार र नजिकका आफन्तबाट हत्या हुनुमा अनैतिक सम्बन्ध, आर्थिक लेनदेन र घरायसी कुरामा वादविवाद मुख्य कारण देखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पछिल्लो समय श्रीमान–श्रीमतीले एकअर्काको हत्या गर्ने क्रम पनि बढेको छ ।

श्रीमान् र श्रीमतीबीच आपसमा विश्वास गुम्दै जाँदा, परपुरुष या परस्त्री सम्बन्ध देखिँदा हत्याको घटना हुने गरेको पनि पाइएको छ । नेपालमा पछिल्लो समय अभिभावकीय निगरानीको कमीका कारण सामाजिक मर्यादा र अनुशासन हराउँदै गएको छ । यसकारण पनि परिवारभित्रैका अर्थात नजिकका व्यक्ति मार्ने क्रम बढेको छ ।

किन बढ्दैछन् हत्याका घटना ?
प्रहरीले दिएको जानकारी अनुसार अधिकांश घटना आर्थिक, पारिवारिक समस्या र अवैध यौन सम्बन्धका कारण हुने गरेको छ । सामान्य वादविवादमा उत्पन्न आवेगले पनि पछिल्लो समय हत्याको घटना बढ्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ । डिप्रेसन र मादक पदार्थ सेवनका कारण पनि हत्याका घटना भएको देखिएको छ ।

समूहले गरेको हत्या घटनामा अर्कोमाथि हाबी हुने प्रवृत्ति र तत्कालको आवेग रहेको पाइएको प्रहरीले जनाएको छ । हत्या हिंसा जस्ता जघन्य अपराधले नागरिकमा त्रास फैलिएको छ । हत्याका घटना बढ्नुमा आपसी कलह, सम्पत्तिको लोभ लगायत मुख्य कारण देखिएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नारायण डाँगीका अनुसार सामान्य विवादलाई पनि ठूलो ‘इस्यु’ बनाएर व्यक्ति हत्यासम्म पुग्ने गरेको देखिन्छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २०८१ मंसिर २२ गते शनिबार