
कुलेन्द्र शाही, सुर्खेत । रुकुम पश्चिमको अधिकांश गाउँहरूमा सडकसँगै सञ्चार सुविधाको पहुँच पुगिसक्दा यहाँको एक बस्तीमा अझै पनि सडक सञ्जालको सुविधा पुग्न सकेको छैन । जिल्लाको सानीभेरी गाउँपालिका–१० अर्मामा सडकको पहुँच पुग्न नसकेको हो । गाउँपालिका अन्य ठाउँमा सडक विस्तार भएपनि अर्माको खड्का गाउँ, लाहुरे गाउँ र सार्की गाउँमा भने अहिलेसम्म पनि सडक विस्तार भएको छैन ।
सङ्घीयता आएको ९ वर्ष बितिसक्दा पनि अहिलेसम्म गाउँमा सडक नपुग्नु यहाँको लागि नौलो कुरा होइन । गाउँलेहरू पैदल हिँडेरै दैनिक जीविका चलाउँछन् । सडक समस्याकै कारण स्थानीयको दैनिक कामकाजमा असहज भइरहेको स्थानीयको भनाइ छ । ‘सडक नहुँदा पछाडि प¥यौँ, कामकाज गर्न पनि निकै गाह्रो छ ।’ स्थानीय वीर बहादुर खड्काले भने । गाउँपालिका र वडा कार्यालयसँग एउटै माग छ, गाउँमा सडक चाहियो ।’
आफूहरूले सडक गाउँमा पु¥याइदिन गाउँपालिका र वडालाई बारम्बार खबर गर्दा पनि वडाले कुनै चासो नदिएको उनको गुनासो छ । सडक नहुँदा गाउँमा गर्भवती र सुत्केरी महिलालाई निकै समस्या भएको अर्का स्थानीय खिमराज खड्काले दुखेसो पोखे । ‘गाउँ भन्दा हिँडेर एक घण्टा टाढा जाने हो भने सडक भेटिन्छ’ उनले भने ‘कोही तत्कालै बिरामी भयो भने बोकेर लग्न पर्छ । हामीलाई निकै समस्या छ ।’
खड्काका अनुसार घरसम्म सडक नहुँदा आधि बाटोबाट सामान बोकेरै ल्याउनु परेको छ । ‘सडक घरमै आएको छैन, त्यसैमा गत २०८० कार्तिक १७ गते जाजरकोट केन्द्र बिन्दु बनाएर आएको भूकम्पले घरहरू चिराचिरा पारेको छ अब घर पुनः निर्माण गर्ने भनेको सामान बोकेर घर सम्म ल्याउनुपर्छ ।’ उनले भने, ‘कसरी ल्याउने हो हामी त निकै समस्यामा छौँ । यहाँका स्थानीय मिलेरै श्रमदानमा सडक खन्नुपर्ने बेला आएको छ ।’
गाउँमा सडकको सुविधा नभएपछि गाउँका थुप्रै गर्भवती महिला तथा बुढापाकाहरूले निकै सास्ती खेप्दै आएका छन् । अर्का स्थानीय तुलसीराम सार्कीले स्थानीय सरकारको लापरबाहीले अहिलेसम्म पनि सडक पुग्न नसकेको गुनासो गरे । उनले आफूहरूले विगतदेखि नै बारम्बार स्थानीय सरकारलाई सडकको लागि पहल गर्न आग्रह गर्दा पनि स्थानीय सरकारले कुनै पहल नगरेको उनको भनाइ छ । त्यति मात्रै होइन राजनीतिक प्रतिसोधका कारण पनि गाउँमा सडक देख्न नपाएको आरोप लगाए ।
बत्तीको समस्या उस्तै
उक्त गाउँमा सडक मात्रै होइन विद्युत्को पनि समस्या नै छ । अन्य गाउँमा विद्युत् पुगेर बत्ती बलिसक्दा पनि त्यहाँ सडककै कारण विद्युत्का पोल समेत पुग्न सकेका छैनन् । गाउँमा अहिले पनि अधिकांश घरमा सोलारकै उज्यालोमा बस्नु परेको स्थानीयको भनाइ छ । स्थानीय खिमराजले अधिकांश घरमा सोलार भएको बताउँदै ती सोलार पनि पुरानो हुँदा कहिलेकाहीँ अन्धकारमा बस्नु परेको दुखेसो सुनाए ।
‘विद्युत् पुगेको छैन सोलार त छन्, तर सोलार पुरानो भए कहिले बल्छन् कहिले बल्दैनन् अँध्यारोमा बस्नु परेको छ ।’ खड्काले सिद्धदर्शनसँग प्रश्न गर्दै भने, ‘सडक पुगेको छैन विद्युत्को त झनै के पुग्ला खै ?’ अर्का सार्कीले पनि गाउँमा विद्युत् नहुँदा सडक नहुँदा यहाँका स्थानीयलाई निकै समस्या भएको बताए । कतिपयले वैकल्पिक ऊर्जाको रूपमा सोलार जोडेको भए पनि अझै स्थानीयहरू अझै टुकी बालेर अँध्यारो हटाउनुपर्ने बाध्यतामा रहेका उनको भनाइ छ ।
श्रमदानमा सडक निर्माण गर्दै स्थानीय
गाउँमा सडक नपुगेको भन्दै अर्माका स्थानीय युवाहरू श्रमदानमार्फत सडक निर्माणमा जुटेका छन् । सरस्वती माविदेखि सार्की टोल सम्मको डेढ किलोमिटर सडक युवाहरूले निर्माण गर्न थालेका हुन् । युवाहरूले सडकको ट्याक खोल्ने र बाँकी सडक स्तरउन्नतीको काम वडा सरकारले गर्ने बताइएको छ । स्थानीय खिमराजले गाउँका युवाहरू मिलेर सडक निर्माणमा जुटेको बताए । स्थानीय युवा तुलसीराम सार्कीको नेतृत्वमा सडक निर्माणको काम भइरहेको छ ।

‘बजेट अभावको बहाना’
यता गाउँपालिकाका अध्यक्ष विर्ख बहादुर विष्टले गाउँपालिकामा बजेट अभावको कारण उक्त गाउँमा सडक पुग्न नसकेको बताए । उनले उक्त गाउँमा सडक सञ्जाल जोड्नका लागि प्रदेश सरकारलाई बारम्बार ताकेता गर्दा पनि बजेट विनियोजन नगरेको हुँदा सडक पुग्न नसकेको बताए । ‘हामीले धेरै पटक प्रदेश सरकारलाई बजेट छुट्टाइदिन आग्रह ग¥यौँ तर प्रदेश सरकारले बजेट छुट्टाएन’ अध्यक्ष विष्टले भने, ‘अबको चालु आर्थिक वर्षको अन्तिमसम्म यहाँ सडक पुग्छ।’ उनले सडकभन्दा पनि विद्युत् पहिलो प्राथमिकतामा परेको प्रतिबद्धता जनाए । उनले अबको केही समयमै विद्युत् पु¥याउने आश्वासन दिए । समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।