
कुलेन्द्र शाही, सुर्खेत । जाजरकोट भूकम्प गएको एक वर्ष पूरा भइसकेको छ । गत वर्षको कार्तिक १७ गते राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ५४ जनाको मृत्यु भएको थियो । जसमा जाजरकोटका एक सय एक र रुकुम पश्चिममा ५३ जना रहेका छन् ।
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम सहित सल्यान लगायतका जिल्लामा पनि भौतिक क्षति भएको थियो । जाजरकोट र रुकुम पश्चिममा मात्र ६० हजार बढी घर बस्नै नमिल्ने गरी भत्किएको विवरण छ । तर भूकम्प गएको एक वर्षसम्म पनि भूकम्प प्रभावितहरू अस्थायी टहरामै छन् । केही लाभग्राहीले त अस्थायी आवासका लागि पहिलो किस्ता नै पाउन सकेका छैनन् ।
तर अधिकांशले भने दोस्रो किस्ताको रकम नपाएको गुनासो गरेका छन् । भूकम्प पीडितले अस्थायी आवासकै लागि एक वर्षसम्म अनुदान रकम नपाउँदा पुनः निर्माण झनै अन्योलमा परेको छ । अस्थायी आवास निर्माण गरिसक्दा पनि आफूले दोस्रो किस्ताको रकम नपाएको कुशे गाउँपालिकाका वीरबहादुर बिक गुनासो गर्छन् ।
‘पहिले अस्थायी आवास बनाऊँ पैसा दिन्छु भने अहिले आवास बनाइसक्दा पनि पैसा दिएको छैनन् ।’ उनी भन्छन् ‘कि दिन्न भन्नुपर्ने हामी आफै व्यवस्थापन गर्ने थियौँ ।’ उनी मात्रै होइन उनी जस्ता हजारौँले आवास निर्माण गरिसकेपछि पनि दोस्रो किस्ताको रकम पाउन सकेका छैनन् ।
दोस्रो किस्तामै ३१ करोड खर्च, पीडितको अवस्था उस्तै
जिल्ला प्रशासन कार्यालय जाजरकोटले दोस्रो किस्ताको रकम भन्दै विभिन्न पालिकालाई रकम दिइसकेको जनाएको छ । तर जाजरकोटका सबै पालिकाकाले प्राप्त रकम नपाएको दाबी गरिरहेका छन् । प्रशासनले दिएको जानकारी अनुसार दोस्रो किस्ताको रकम भन्दै करिब ३१ करोड ७० लाख ५० हजार रकम पालिकाको खातामा गइसकेको छ । प्रशासनका सूचना अधिकारी समीर गौतमले कुशेबाहेक अरू सबै पालिकाको खातामा रकम गइसकेको जानकारी दिए ।
‘हामीले सात पालिका मध्ये कुशे बाहेक अन्य सबै पालिकामा ५/६ करोड रकम दिइसकेका छौँ ।’ उनले भने, ‘कुशेमा मात्रै माग गर्नुभएको छैन, लाभग्राहीको इन्ट्री गर्दै हुनुहुन्छ होला माग हुन बित्तिकै हामी उपलब्ध गराउँछौँ ।’ उनले शुक्रवार मात्रै छेडागाड बारेकोट र जुनीचाँदेमा ५/५ करोड रकम दिएको जानकारी दिए ।
‘हामीले छेडागाड, बारेकोट र जुनीचाँदे यी तीन पालिकामा कुनैलाइृ ५ र कुनैलाई ६ करोड रकम दिइसकेका छौँ ।’ उनले भने, ‘अन्य पालिकाको लागि केन्द्रमा माग गरेका छौँ ।’ सूचना अधिकारी गौतमले जाजरकोटमा दोस्रो किस्ता रकम पाउने लाभग्राहीको सङ्ख्या यकिन नहुँदा पनि रकम वितरणमा समस्या भएको बताए ।
३२ हजार बढीको इन्ट्री
दोस्रो किस्ताको लागि जिल्ला विपद् व्यवस्थापन कार्यालयमा ३२ हजारको इन्ट्री भएको तथ्याङ्क जिल्ला प्रशासनमा छ । आइतबार बेलुकासम्म करिब ३२ हजार बढीले दोस्रो किस्ताको रकमको माग गर्दै विपद् व्यवस्थापनमा इन्ट्री गरेका हुन् । ‘अहिलेसम्म ३२ हजारले दोस्रो किस्ताको रकम पाउँ भनेर विपद् व्यवस्थापनमा इन्ट्री गरेका छन् । कुशे गाउँपालिकाबाट अहिलेसम्म कमै मात्रामा इन्ट्री भएको छ ।’ उनले भने, ‘३२ हजारमा त्यो संख्या बढ्न सक्छ । ४० हजार ८६ जनाले पहिलो किस्ता बापत रकम पाएका थिए ।’
उनका अनुसार पहिलो किस्ता बापत सरकारको एक अर्ब २१ लाख ५० हजार रुपैंया खर्च भएको थियो । पहिलो किस्ता पाएका कतिपयले अस्थायी आवास निर्माण नगरेको हुँदा पनि दोस्रो किस्ताको रकम पाउनमा कम हुनसक्ने आकलन प्रशासनको छ । सरकारले प्रशासनमार्फत दशैभन्दा अगाडी शिवालय गाउँपालिकालाई ५ करोड, बारेकोट गाउँपालिका र नलगाड नगरपालिकालाई ६/६ करोड रकम दिएको थियो । उक्त रकम शिवालयका १६ सय ४५ जनाले पाइसकेका छन् । बारेकोट र नलगाडमा अहिले पनि दोस्रो किस्ताको रकम वितरण गर्ने कार्य चलिरहेको छ ।
कुशेमा दोस्रो किस्ताको रकमै छैन
जिल्ला प्रशासनका अनुसार कुशे गाउँपालिकामा लाभग्राहीले पहिलो किस्ताको रकम पाएपनि दोस्रो किस्ताको रकम भने हालसम्म पनि पाउन सकेका छैनन् । गाउँपालिकाले रकम माग नगरेको हुँदा प्रशासनले कुशे गाउँपालिकालाई दोस्रो किस्ताको रकम नदिएको बताएको छ । यता, गाउँपालिकाले भने बारम्बार रकमको माग गर्दा पनि प्रशासनले दोस्रो किस्ताको रकम नदिएको आरोप लगाएको छ ।
गाउँपालिका उपाध्यक्ष देविका सिंह ठकुरीले आफूहरूले दसैँ अगाडि नै दोस्रो किस्ताको रकम माग गर्दा पनि प्रशासन तथा विपद् व्यवस्थापनले रकम नपठाएको दाबी गरिन् । उनले ५ हजार २ सय ६६ जनाले पहिलो किस्ता बापत रकम पाएको बताउँदै दोस्रो किस्ता रकम पाउनेमा पनि उही सङ्ख्या रहँदा पनि दोस्रो किस्ताको रकममा ढिलाइ भएको बताइन् ।
शिवालयमा १२ सय बढीले पाएनन् दोस्रो किस्ता
शिवालय गाउँपालिकामा विपद् व्यवस्थापनले दसैँ अगाडि नै ५ करोड रकम दिएको प्रशासनको दाबी छ । तर गाउँपालिकाले भने ४ करोड रकम मात्रै पाएको बताएको छ । पालिकाका लेखापाल वीस बहादुर बुढाले १६ सय ४५ जनालाई दोस्रो किस्ताको रकम दिएको र बाँकी १२ सय ७० जनालाई दिन बाँकी रहेको बताए ।
‘हामीलाई ४ करोड रकम आएको थियो, त्यो रकम हामीले केहीलाई दियौ, अझै धेरै बाँकी छन् ।’ उनले भने, ‘हामीले प्रशासनलाई पत्र पठाएका छौँ रकम पठायो भने हामी नपाएका लाभग्राहीहरूलाई छिट्टै रकम वितरण गर्छौ ।’ उनले शिवालय गाउँपालिकामा अहिले पनि दोस्रो किस्ता पाउने लाभग्राहीको संख्या इन्ट्री गर्ने काम चलिरहेको छ । दोस्रो किस्ताको रकम नपाएका लाभग्राहीका लागि बाँकी रकम माग गर्ने उनले बताए । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।