
हुम्ला । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीलाई नेपाली कांग्रेस हुम्लाले सिमकोट विमानस्थलमा स्वागत गरेको छ। जिल्लामा एक वर्षपछि त्यो पनि वाइडबडी जहाजको खरिद प्रकरणमा अख्तियारले लगाएको आरोपमा विशेष अदालतले सफाइ दिएपछि जिल्लामा उनको स्वागत गरिएको हो।
एक वर्षपछि कर्णाली प्रदेश सभाको (ख) नम्बर क्षेत्रका सांसद समेत रहेका शाही जिल्लामा सिमकोट विमानस्थलमा झर्ने बित्तिकै विमानस्थलबाटै स्वागत गरिएको कांग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंहले बताए। उनलाई पार्टी र जिल्लावासीको तर्फबाट स्वागत गर्न विमानस्थलमा डेढ घण्टा लागेका थियो। सिमकोट विमानस्थलमा कांग्रेस सभापति सिंह, पूर्वसभापति जयपति रोकाया, उपसभापति कैलाश भण्डारी र वसन्त रोकाया, कोषाध्यक्ष बबिता शाही, सचिव कृष्णबहादुर बोहरालगायतले स्वागत गरेका थिए।
स्वागतका लागि दुई हजारभन्दा बढी मानिसको सहभागिता थियो। पूर्वमुख्यमन्त्रीको टोलीमा नेपाली कांग्रेस कर्णाली प्रदेशमा सभापति ललितजंग शाही, जलस्रोत तथा ऊर्जामन्त्री बिजय बुढा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, नेपाली कांग्रेस कर्णालीका प्रवक्ता दमन शाही, पूर्वमुख्यमन्त्री शाहीका स्वकीय सचिव राजबहादुर शाही, खार्पुनाथ गाउँपालिका– ५ का वडाध्यक्ष भरतजंग शाही लगायत सहभागी थिए।