कुलेन्द्र शाही, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सवारी साधनको चाप बढ्दै गएको छ । सवारी चाप बढेसँगै वीरेन्द्रनगर बजार क्षेत्रमा सही तरिकाले बाटो काट्न र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक लाइटको आवश्यकता छ । तर, अहिलेसम्म यहाँ कुनै पनि बजार क्षेत्र तथा चोकहरूमा ट्राफिक लाइट राखिएका छैनन् । जसले गर्दा यस क्षेत्रका यात्रु तथा चालकले लाइटको बारेमा व्यवहारिक ज्ञान समेत पाउन सकेका छैनन् ।
ट्राफिक लाइटका रूपमा प्रयोग हुने रातो, हरियो र पहेँलो रङ्ग र यसको अर्थका बारेमा यात्रु र चालकलाई बुझाउन समेत यसको आवश्यकता भए पनि यसको बारेमा सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन । ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने प्रवृत्ति धेरै सवारी चालकमा रहेकाले ट्राफिक व्यवस्थापन गाह्रो हुने गरेको ट्राफिक प्रहरीहरूकै गुनासो छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख वकिल सुनारले ट्राफिक नियम जानकारहरूबाट नै प्रहरीको आँखा छल्दै नियम मिच्ने प्रवृत्ति हटाउन एउटै चोकमा धेरै सङ्ख्यामा ट्राफिक प्रहरी खटाउन बाध्य हुनुपरेको गुनासाे गरे । बजारका मुख्य चोकमै सवारीसाधन व्यवस्थित गर्न नियमित रूपमा दुई/चार जनासम्म ट्राफिक प्रहरी खट्दै आएका छन् । सडकमा ट्राफिक लाइटको व्यवस्था नहुँदा ट्राफिक प्रहरी हातकै इशारामा सवारीसाधन व्यवस्थापन गर्न बाध्य छन् ।
प्रहरी प्रमुख सुनार वीरेन्द्रनगरमा ट्राफिक लाइट अति आवश्यक भएको बताउँछन् । ट्राफिक लाइटले यातायात व्यवस्थामा अझै सहजता ल्याउने र जनमानसमा नियमको पालना गर्ने मानसिकताको विकास गर्न मदत गर्ने भएकाले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन ट्राफिक लाइटको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । उनले यहाँ ट्राफिक लाइटको व्यवस्था गर्न सकेमा धेरैलाई आधारभूत ज्ञान हुने र अन्य ठुला सहरमा जाँदा सहज हुने बताए ।
“म्यानुअलभन्दा ट्राफिक लाइटले काम गर्दा सहज हुन्छ ।’ उनले थपे, ‘यहाँ लाइट भएको भए बजार यति अव्यवस्थित हुने थिएन । साथै दुर्घटना पनि धेरै मात्रामा कमी आउने थियो ।’ उनकाअनुसार सुर्खेतमा ४० हजार बढी सवारी साधन दर्ता छन् । त्यसमध्ये ९० प्रतिशत वीरेन्द्रनगरकै सडकमा गुड्छन् । तर ती सबै सवारी साधन प्रहरीको हातको इसारा र सिठीमा भर पर्नुपर्ने बाध्यता छ ।
जडान गर्ने तयारीमा नगरपालिका
वीरेन्द्रनगरमा ट्राफिक लाइट लगाउने तयारीमा रहेको नगरपालिकाको दाबी छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटले नगरपालिकाले वीरेन्द्रचोकमा तत्कालै ट्राफिक लाइट जडान गर्ने पक्रियामा रहेको बताए । उनले केही दिन अघि मात्रै वीरेन्द्र चोकमा ट्राफिक लाइट जडान गर्ने कार्यपालिका बैठकमा निर्णय भएको जानकारी दिए ।
‘हामीले यसै वर्ष वीरेन्द्रनगरमा लाइट राख्ने निर्णय गरेका छौँ, त्यसको लागि एकहप्ता भित्रमा टेण्डर खुलाउँछौँ । अरू सबै प्रक्रिया पुरा भइसकेको छ ।’ उनले सिद्धदर्शन दैनिकसँग भने ।’ अधिकृत बास्कोटाले वीरेन्द्र चोकमा लाइट जडानको लागि २५ लाख रकम समेत विनियोजन गरिसकेको जानकारी दिए ।
पाँच ठाउँमा अर्को वर्ष
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बास्कोटाले यस वर्ष वीरेन्द्र चोकमा लाइट राख्ने र अर्को वर्ष यहाँका विभिन्न पाँच ठाउँमा लाइट राख्ने जानकारी दिए । उनले अर्को वर्ष पिपिरा चोक, एयरपोर्ट, बसपार्क, मंगलगढी र यरीचोक चोकमा लाइट राख्ने तयारी गरेको जानकारी दिए ।
‘केही दिन अगाडि मात्रै कार्यपालिकाको बैठक बसेर वीरेन्द्र चोकमा यसै वर्ष र अरू पाँच ठाउँमा अर्को वर्ष लाइट राख्ने भनेर निर्णय भएको छ ।’ उनले भने, ‘ट्राफिक लाइट सञ्चालन गर्न आवश्यक सहयोग गर्ने भन्ने हिसाबले यातायात व्यवस्था विभागबाट पनि पत्र आइसकेको छ । सम्भवतः अब एकहप्ता जस्तो टाइममा हामी पक्रिया सुरु गर्छौ ।’ याे समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।