
सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले कर्णालीको असन्तुलित विकासले आन्तरिक तथा बाह्य बसाइसराइ नरोकिने बताएका छन्। मङ्गलवार मध्यपश्चिम विश्वविद्यालयको आयोजनामा भएको बसाइसराइ र विकास विषयक छलफलमा मन्त्री शाहले कर्णालीको असमान विकासले बसाइसराइ नरोकिने बताएका हुन्।
सङ्घीयता कर्णालीका लागि अवसर भएको बताउँदै उनले यसको मर्म अनुसार कर्णालीमा सन्तुलित विकास भए यहाँको अवस्था सुध्रने दाबी गरे। कर्णालीको आन्तरिक तथा बाह्य बसाइसराइको समस्या समाधान गर्न सङ्घीय सरकारले कर्णालीका दुई ठुला परियोजना भेरी र कर्णाली कोरिडोर अगाडि बढाइ दिए मात्रै सम्भव भएको उनले दाबी गरे।
मन्त्री शाहले भने, ‘जबसम्म सङ्घले कर्णालीलाई हेर्ने नजर परिवर्तन गर्दैन, यहाँका दुई ठुला परियोजना भेरी र कर्णाली कोरिडोरलाई दुई लेनको बनाइँदैन तबसम्म हामीले बसाइसराइको समस्या हल गर्न सक्दैनौ।’ उनले थपे, ‘हाम्रो देशका विकसित सहरमा पाउने सुविधाहरू कर्णालीमा पनि विकास गर्न सक्ने कि नसक्नेरु यस कुराको उपाय हामीले खोज्न सकेको अवस्थामा यहाँ इनमाइग्रेसन हुन्छ। त्यो सम्भव छ। हामी गर्न सक्छौँ। त्यसका लागि शिक्षामा सुधार हुन जरुरी छ।’
दक्षिण भारतदेखि उत्तरी चीन जोड्ने मार्गमा सहज यातायात सञ्चालन हुने मार्ग तयार भएको खण्डमा कर्णाली समृद्धिको बाटोमा लाग्ने मन्त्री शाहको भनाई थियो। मध्यपश्चिम विश्वविद्यालयलाई इंकित गर्दै मन्त्री शाहले दक्ष मानव संसाधन उत्पादन गर्न योजना बनाउनुपर्ने आवश्यकता औलाए।
साथै मन्त्री शाहले कर्णालीलाई पूर्वाधार विकासमा सुर्धान सकेको खण्डमा धेरै अवसरहरू आगमनै प्राप्त गर्न सकिने बताए। कर्णाली कृषि क्षेत्रमा अथाह सम्भावना बोकेको क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री शाहले यसलाई विकासका हरेक क्षेत्रमा जोड्न जरुरी रहेको बताए।