२०८३ वैशाख ८ , मंगलबार

कोरियाको सपना गाउँमै पुरा गर्ने हेडसरको ‘कृषि क्रान्ति’



कुलेन्द्र शाही, सुर्खेत । गरे के हुँदैन । इच्छा शक्ति र जाँगर भए सबै सम्भव छ । यही भनाइलाई चरितार्थ गरेका छन् । शिवालय गाउँपालिका–५ काउँलाका पूर्ण केसीले । ३२ वर्षको अधबैँसे उमेरका केसी निकै व्यस्त देखिन्छन् । हेर्दामा अधबैँसे केसीलाई कामको चाप झनै बढ्दो छ । बिहान–बेलुका व्यावसायिक कृषि र दिउँसो शिक्षण पेसा गर्ने उनी फुर्सदले एकछिन पनि बस्न चाहँदैनन् । बाँझो बनेको जमिनमा उनले कृषि क्रान्ति गरेका छन् ।

साथै शिवालय गाउँपालिका–५ काउँला स्थित हिमालय आधारभूत विद्यालयका प्रधानाध्यापक रहेका उनी अहिले ‘कृषि क्रान्ति शिक्षक’ भनेर समेत चिनिन्छन् । यी दुई पेसाले उनलाई दोहोरो परिचय दिलाएका छन् । प्रअ मान्छे नै कृषि पेसामा अग्रसर भएको देखेर गाउँले समेत दङ्ग छन् । विगत १३ वर्षदेखि अध्यापन गराउँदै आएका उनले २०७६ सालदेखि कृषि पनि गर्ने निचोड निकाले ।

त्यसपछि उनले कृषि पेसामा विभिन्न आम्दानीमूलक बिरुवाहरू रापे । त्यसयता उनी कृषिलाई सम्मानित पेसा बनाउन लागिपरेका छन् । उनले आफ्नो बारीमा चिया २ हजार, ओखर ३ सय, स्याउ ५०, सुन्तला ५० र कागती ५० बिरुवा लगाएका छन् । त्यस्तै १० रोपनीमा जग्गामा आलु खेती र तोरी खेती पनि गरेका छन् ।

‘मेरा कतिपय निकट साथीहरू नै पढाउँदै कृषि पनि गर्न सकिन्छ र ? भनेर प्रश्न गर्ने गर्थे,’ उनी भन्छन्, ‘अहिले मैले गरेको कृषि पेसा देखेर उनीहरू आफै चकित परेको छन् ।’ उनी बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालय जान्छन् । बचेको समयमा स्याउ, सुन्तला, तोरी खेतीको रेखदेख गर्न जुट्छन् । उनी स्कुलबाट आएपछि हतार–हतार खेतबारीमा पुगिहाल्छन् । त्यति मात्रै होइन आफू व्यस्त भएको दिनमा उनले ज्याला दिएर समेत कामदार राख्ने गरेका छन् ।

‘त्यसपछि आफ्नै गाउँलाई कोरिया सोचे’
केही दशकयता पहाडबाट सहरी क्षेत्र तथा तराईमा बसाइँ सर्नेको लहर छ । गाउँमा भएका युवाहरू लाहुरे पुलिस कोरिया, जापान जाने सपना देख्छन् । त्यति मात्रै होइन गाउँका अधिकांश मानिस वैदेशिक रोजगारका लागि विभिन्न देश जानेको लर्को लागेको छ । गाउँमा युवाहरू मात्रै होइन महिलाहरू समेत वैदेशिक रोजगारमा जाने गरेका छन् । तर उनले भने शिक्षण पेसासँगै कृषि पेसालाई समेतसँगै अगाडि बढाएका छन् ।

उनी अहिले कृषि पेसामा गाउँमै राम्रो भविष्य देखिरहेका छन् । ‘बाहिरी मुलुकको मजदुरीले सधैँलाई पुग्दैन, उमेर छउन्जेललाई मात्रै हो, बुढेसकालसम्मका लागि भने होइन, त्यहाँको कमाइले केही समयका लागि त पुग्ला तर त्यसले भविष्य बन्दैन,’ केसी भन्छन् । आफ्नै गाउँमा केही न केही पेसा सुरु गर्नुपर्छ भन्ने सोचले शिक्षण पेसासँगै कृषि पेसा रोजेको उनी बताउँछन् ।

उनले आफ्नै गाउँलाई कोरिया सम्झेर शिक्षणसँगै कृषि पेसामा लागेको बताए । ‘म जे काम गर्छु नेपालमै गर्छु, गाउँको माटोलाई खेलाएर सुन फलाउँछु सोचे ।,’ प्रअ केसीले भने । ‘अमेरिका, कोरियाको सपना गाउँमै बसेर पूरा गर्छु भनेर लागे । अहिले राम्रै भएको छ ।’ उनले थपे, ‘गाउँका सबै यहाँ बसेर केही हुँदैन बाहिर जानुपर्छ भन्छन् । तर होइन रहेछ गाउँमै बसेर पनि राम्रै आम्दानी गर्न सकिने रहेछ ।,’

१५ लाख रुपैयाँ कमाउने लक्ष्य…
भनिन्छ सुरुमै हुने बिरुवाको चिल्लो पात । यो उखानले केसीलाई मेल खाएको छ । जब उनले व्यावसायिक उत्पादन लागे त्यसपछि सुरु भयो आम्दानी । उनले २०७६ सालदेखि कृषि पेसामा लागेका थिए । कृषि पेसामा लागेको पहिलो वर्ष उनलाई सोचभन्दा राम्रो सफलता मिल्यो । उनले अहिले वार्षिक २ लाख भन्दा बढी कमाउने गरेका छन् । गाउँकै कृषि पेसा र आम्दानीले सन्तुष्टि दिएको उनी बताउँछन् । उनको पाँच वर्षपछिको लक्ष्य १५ लाख बढी आम्दानी गर्ने लक्ष्य छ ।

बजार र मूल्य पाउनुपर्ने माग
उनले एउटा मात्रै खेती होइन विभिन्न आम्दानीमूलक बिरुवाहरू रोपेका छन् । ‘एउटा मात्रै भएको भए केही घाटा हुन्थ्यो होला यहाँ त विभिन्न बिरुवाहरू रोपेको छु ।’ उनले भने । गत वर्ष जति कमाए पनि यस वर्ष त नयाँ बिरुवाहरू रोपेको छु, रोपेको बिरुवाहरू फलेपछि त झनै फाइदा हुन्छ ।’ केसीले उत्पादन गरेको तरकारी, फलफूल अधिकांश जसो सुर्खेत वीरेन्द्रनगरमा पुग्ने गर्छ ।

तर पनि स्थानीय बजारमा भारतीय व्यापारीको रजाइँका कारण उनी खुसी छैनन् । नेपाली उत्पादनले ठाउँ नै नपाउँदा आफू जस्ता किसान मर्कामा पर्ने गरेको उनको गुनासो छ । ‘सरकारले पनि हामीहरूलाई हेरोस् । हाम्रो उत्पादनको सुरक्षा हुनुप¥यो । बजार र मूल्य पाउनुप¥यो ।,’ उनले भने । ‘सरकारले यति कुरामा मात्र सहयोग गरिदिए हामी जस्ता युवा विदेश जाने नै थिएनन् नि ।,’

प्रकाशित मिति : २०८१ पुस ११ गते बिहीबार