सुर्खेत । विपद् व्यवस्थापन र उत्थानशील समुदायका लागि जाजरकोटको शिवालय गाउँपालिकामा भूकम्प र आगलागीसम्बन्धीको कृत्रिम घटना अभ्यास गरिएको छ । सहास नेपाल पाइला परियोजना र शिवालय गाउँपालिकाको संयुक्त आयोजनामा तथा कर्णाली प्रदेश रेडक्रस सोसाइटीको सहजीकरणमा शिवालय गाउँपालिका–६ स्थित टुनिबगरमा कृत्रिम घटना अभ्यास गरिएको सहास नेपाल शिवालयका प्रमुख हरि प्रसाद अधिकारीले जानकारी दिए ।
उनकाअनुसार भौगोलिक हिसाबले बिकट र विपद् जोखिममा रहेका शिवालय गाउँपालिकाको–६ टुनिबगरमा भूकम्प र आगलागीको परिप्रेक्ष्यमा कृत्रिम घटना अभ्यास गरेको हो । कार्यक्रममा सिमा इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मी, प्रहरी चौकी थालारैकरका सुरक्षाकर्मीहरू, स्थानीय खोज तथा उद्धारकर्मीहरू र स्वास्थ्यकर्मीहरूको सक्रियता रहेको थियो । शिवालय गाउँपालिका वडा नं ३, ४, ५, ६ र ७ का १५० जना स्थानीयहरूले यस अभ्यास कार्यक्रमको अवलोकन गरेको उनले बताए ।
यस अभ्यासमा विपद् परिप्रेक्ष्यमा भूकम्प र आगलागीबाट उद्धार प्रक्रिया कसरी गर्ने, कसरी सुरक्षित हुने, सरोकारवाला निकायलाई कसरी खबर गर्ने भन्ने विषयमा नमुना प्रदर्शन गरिएको हो । साथै यस कार्यक्रममा राज्यका निकायहरू कसरी परिचालन गरिन्छ र सञ्चारको महत्त्व कस्तो हुने भन्ने बारेमा पनि प्रशिक्षण दिइएको प्रमुख अधिकारीले बताए ।
गाउँपालिकाका अध्यक्ष शेर बहादुर शाही र उपाध्यक्ष गिता शाहीले आगामी दिनहरूमा प्रत्येक वडामा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सहास नेपाल पाइला परियोजना शिवालयमा विगत ३ वर्षदेखि विपद् व्यवस्थापनका लागि सहजीकरण गर्दै आएको छ । यस संस्थाले स्थानीय समुदायको प्रतिकार्य क्षमता र सङ्कट व्यवस्थापन कौशललाई मजबुत बनाएको छ ।
