२०८३ वैशाख ८ , मंगलबार

वीरेन्द्रनगरका १३ स्थानमा राखियो गति सीमित बोर्ड



सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले रत्न राजमार्ग र कर्णाली राजमार्गमा सवारी दुर्घटना न्यूनीकरणका लागि दुर्घटनाको बढी जोखिम रहेका सडक छेउछाउमा चेतनामूलक (गति सीमित) होर्डिङ बोर्ड राखिएको छ । तीव्र गतिका कारण हुने सवारी दुर्घटनाहरूलाई न्यूनीकरण गर्ने उद्देश्यले राजमार्गका १३ ठाउँमा चेतनामूलक बोर्ड राखिएको हो ।

बुधवार वीरेन्द्रनगर नगरपालिका अन्तर्गत सुब्बाकुनादेखि बाङ्गेसिमलसम्मको सडकमा १३ वटा गति सीमित सूचना बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए । उनकाअनुसार बुधवार राखिएका बोर्डहरूमा अधिकतम गति ३० किलोमिटर प्रति घण्टा लेखिएको छ ।

बोर्डहरू सुब्बाकुना, धुलियाबिट, पिपिरा, एयरपोर्ट, खजुरा, दैलेख रोड, बसपार्क, मंगलगढि, चाईना पुल, एरिचोक, मुलपानी, रेडियो नेपाल र टेम्पु पार्क चोकमा राखिएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा सुर्खेत जिल्लाको सवारी दुर्घटना विश्लेषण गर्दा ५७ प्रतिशत सवारी साधन तीव्र गतिको कारणले दुर्घटना भएको पाइएको छ ।

उक्त दुर्घटना न्यूनीकरण गर्नका लागि ३० किलोमिटर प्रति घण्टाको गतिमा सवारी चलाउने गरी चेतनामूलक बोर्डहरू राखिएको उनको भनाइ छ । निर्धारित गतिभन्दा बढी गतिमा सवारी चलाउने सवारी चालकलाई कारबाहीको दायरामा ल्याउने उनको प्रतिबद्धता छ ।

प्रकाशित मिति : २०८१ पुस ११ गते बिहीबार